शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जानु थियो जर्मनी, विमान झुक्किएर पुग्यो स्कटल्याण्ड

मङ्गलबार, १२ चैत २०७५, ०९ : ५२
मङ्गलबार, १२ चैत २०७५

लण्डन सिटी एयरपोर्टबाट जर्मनीको डुसेलडर्भका लागि उडेको ब्रिटिश एयरवेज फ्लाइटका यात्रीहरु सोमबार बिहान स्कटल्याण्डको राजधानी एडिनबर्ग पुग्दा चकित भए ।

‘फ्लाइट प्लान’मा भएको गडबडीका कारण पाइलट र चालक दलका सदस्यले इडिनबर्गका लागि नै उडान भर्नुपर्ने सोचेपछि यस्तो गल्ती हुन पुगेको बताइएको छ ।

इडिनबर्गमा अवतरण गरेपछि उक्त विमान पुनः डुसेलडर्फका लागि उडेको थियो ।

पियोटर पोमिन्सकी, इम्पेरियल कलेज लण्डनका विद्यार्थीले सिएनएनसँगको कुराकानीमा आफ्नी प्रेमिका उक्त विमानको भएको बताए । ‘मैले फ्लाइटरडारमा हेर्दा उक्त विमान दक्षिणतिर उड्नुको साटो उत्तरतिर उडिरहेको देखेँ । केही प्राविधिक गडबडीका कारण यस्तो भएको हुनसक्ने अनुमान गरेँ । पछि उनले मलाई विमान इडिनबर्ग पुगेको बताइन् ।’

विमानभित्रकी यात्री जाबोले सिएनएनसँगको कुराकानीमा विमानबाहिर पहाड देख्दा केही त गडबड छ भनेर सोचेको बताइन् ।

‘जब हामी उड्न थाल्यौं तब मैले अग्ला पहाड देख्न थालेँ । मैले सोचेँ यो पूर्वी नेदरल्याण्ड, पश्चिमी जर्मनी हुनै सक्दैन । त्यसपछि मसँगै बसेका साथीले गुगल म्याप हेर्न सुझाए, हेर्दा त हामी कार्लिस्ले वरिपरि भएको थाहा पायौं ।’

‘उक्त जानकारी सबैतिर फैलियो । सबैले एक–अर्कालाई कता जान लागेको भनेर सोधे, सबैले उत्तर दिए डुसेलडर्भ ।’

‘जब हामी अवतरण गर्यौं तब विमान परिचारिकाले डुसेलडर्भ जानेहरुलाई हात उठाउन आग्रह गरिन् । विमान भित्रका सबैले हात उठाए,’ उनले भनिन् ।

विमानका क्याप्टेनले यात्रीसँग माफी माग्दै  विमान जर्मनी उड्ने जानकारी दिए ।

‘हामीमध्ये धेरै यो स्थितीमा हाँस्यौं,’ जाबोले भनिन् । ‘सबैजना फोनमा थिए, आफूहरु गलत शहरमा पुगेको सम्झाउदै थिए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप