शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्षमतावान् खेलाडीको जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री राउत

सोमबार, ११ चैत २०७५, २० : १६
सोमबार, ११ चैत २०७५

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेलमै आफ्नो जीवन समर्पण गर्ने क्षमतावान् खेलाडीको स्थायी जीविकोपार्जनको व्यवस्था गर्ने नीति प्रदेश सरकारले लिएको बताएका छन् । 

जनकपुरधाममा आजदेखि शुरु भएको तेस्रो शहीद कप क्रिकेट प्रतियोगिताको उद्घाटनमा मुख्यमन्त्री राउतले विश्वमै मुलुक र प्रदेशलाई चिनाउने खेलाडीको मनोबल उच्च राख्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । 

विश्वको अन्य मुलुकमा खेलाडीलाई विभिन्न निकायमा जागिर दिने गरिए जस्तै प्रदेश नं २ को सरकारले समेत प्रादेशिक संरचनाभित्र क्षमतावान् खेलाडीलाई विशेष स्थान दिने बताए । 

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश नं खेलाडीको उर्बर भूमि रहेको उल्लेख गर्दै खेलाडीलाई उजागर गर्न प्रदेश सरकार हर संभव प्रयास गर्ने बताए । 

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले खेलकूद असल र अनुशासित नागरिक निर्माण गर्ने मूल स्रोत रहेकाले क्षमतावान् खेलाडी पहिचान गर्न वडास्तरबाटै प्रतियोगिता गराउने क्यालेण्डर निर्माण गरेर प्रदेश सरकार अघि बढ्ने उल्लेख गरे । 

प्रतियोगिताको उद्घाटन सत्रमा शहीद सञ्जय चौधरी, नितु यादव, दिलीप यादव, रोहन चौधरीसहितको परिवारलाई मुख्यमन्त्री राउतले दोसल्ला ओढाई सम्मान गरेका थिए । 

यही चैत १९ गतेसम्म चल्ने प्रतियोगितामा नेपालबाट आयोजक जनकपुर, कलैया, विराटनगर, भैरहवा र काठमाडौं तथा भारतबाट पटना, दरभङ्गा र कानपुर गरी जम्मा आठ टोली सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप