शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मस्तिष्कघात बालिकाको पथरिया निकालेपछि परिवारमा खुसीयाली

सोमबार, ११ चैत २०७५, १८ : ५९
सोमबार, ११ चैत २०७५

विराटनगर । नोबेल शिक्षण अस्पतालमा मस्तिष्क पक्षघात पीडित १० वर्षीया बालिकाको शल्यक्रिया गरी पित्त नली र पित्त थैलीको पथरीया सफलतापूर्वक निकालिएको छ । 

मस्तिष्क पक्षघातका कारण शारीरिक र मानसिक वृद्धिविकास समेत राम्रोसँग नभएकी झापाको गौरीगञ्जकी खुस्बु दासको पेटबाट ल्याप्रोस्कोपिक विधिमार्फत दुई वटा पथरीया निकालिएको हो ।

पूर्वका विभिन्न अस्पतालसहित काठमाडौं पुग्दा पनि खुश्बुको शल्यक्रिया हुँन नसक्दा उनको परिवार अन्यौलमा थिए । 

तर, अन्तिममा नोबेल अस्पतालका जेनेरल तथा ल्याप्रोस्कोपिक सर्जन डा.रुस्लान सुलाइमानकुलोभ नेतृत्वको चिकित्सकहरुको टोलीले ल्याप्रोस्कोपिक विधिमार्फत बालिकाको पित्त नली र पित्त थैलीको पथरीया सफलतापूर्वक निकालेपछि दास परिवारलाई पीडाबाट मुक्ति मिलेको छ । 

‘काठमाडौंसम्म पुर्याउँदा पनि छोरीको अप्रेशन हुन नसक्दा हामी के गर्ने भनेर अन्यौलमा थियौं,’ खुश्बुका बुबा मधुकरले भने, ‘अन्तिममा नोबेलमा आएर छोरी ठिक भइन्, बल्ल ढुक्क भयो ।’

बोल्न र हिँड्नसमेत नसक्ने १० वर्षीया दासको पित्त नली र पित्त थैली दुवैमा पथरीया थियो । पथरीया निकाल्न बालिकालाई पूर्वका विभिन्न अस्पतालसहित राजधानीको धुलिखेल अस्पताल पनि पुर्याइयो । 

बालिकालाई मस्तिष्क पक्षघात भएकाले अप्रेशनका क्रममा बेहोस बनाएपछि होसमा आउन गाह्रो पर्ने भन्दै धेरै अस्पतालले उनको अप्रेशन गर्न मानेनन् । 

इआरसीपी विधिबाट पित्त नलीको ढुंगा निकाल्न पनि नली साँगुरो र ढुंगा ठूलो भएका कारण नमिलेपछि उनलाई अन्तिममा नोबेल अस्पताल ल्याइएको थियो । 

नोबेलमा ल्याप्रोस्कोपिक विधिबाट पेटमा एउटा सानो प्वाल पारेर ढुंगा निकालिएको हो । अत्याधुनिक उपकरणको सहायतामा पेटमा प्वाल पारेर पित्त थैलीको माध्यमबाट पित्त नली सफा गरी ढुंगासहित पित्त थैली पनि निकालिएको डा.रुस्लानको भनाई छ । 

अप्रेशनपछि बालिकाको स्वास्थ्यमा सुधार आएको छ । निको भएपछि उनलाई अस्पतालबाट घर लगिएको छ । छोरी निको भएपछि उनको परिवार हर्षित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप