शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्षयरोग निर्मूल पार्न सरकार गम्भीर नभएको आरोप

सोमबार, ११ चैत २०७५, १२ : १४
सोमबार, ११ चैत २०७५

जनकपुर– क्षयरोग निर्मुलका लागि प्रदेश २ सरकार गम्भीर नभएको गुनासो गरिएको छ।   प्रदेश नम्बर २ को विपक्षी दल काँग्रेसका संसदीय दलका नेता रामसारेज यादवले सरकारका मन्त्रीले नियमविपरित क्षयरोग नियन्त्रणका लागि छुट्याएको रकम अन्य क्षेत्रमा खर्च गरेको आरोप लगाएका हुन् ।

धुलो र धुवा, अशिक्षा, पोषणयुक्त खानाको अभाव र जनचेतनाको कमीका कारण प्रदेश दुईमा क्षयरोगका बिरामीहरु रहेका छन् । क्षयरोग नियन्त्रणका लागि थप बजेटको व्यबस्था गर्नुको साटो प्रदेश सरकारले छुट्याएको बजेट समेत सामाजिक विकास समाजिक विकास मन्त्री नवलकिशोर साहले आफ्नो निर्वाचन क्षेत्रका विद्यालय भवन निर्माणमा खर्चिएका यादवले बताए । 

यसअघि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा ५ वर्ष भित्रमा क्षयरोग निर्मुल गर्ने घोषणा गरेका थिए । त्यसअनुसार क्षयरोगीहरुको संख्यामा कमी ल्याउन चालु आर्थिक वर्षमा २ करोड ८० लाख रकम छुट्याइएको थियो । जसमध्ये २ करोड रुपैयाँ मन्त्री साहले कटौती गरेको प्रतिपक्षको आरोप छ । 

विगतमा प्रदेश नम्बर २ मा मात्रै १५ बर्ष उमेर मुनिका २ सय ६५ जना क्षयरोगबाट संक्रमित बालबालिकाहरु फेला परेकामा २ सय ५५ जनाले ज्यान गुमाएका थिए । 

प्रदेश नम्बर २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा. प्रमोद यादवले प्रदेश नम्बर २ मा क्षयरोग विरामीको संख्या उच्च रहेको बताए । 

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा बर्षेनी ४५ हजार भन्दा बढि नँया क्षयरोगका विरामी हुने गर्दछन् । जस मध्ये प्रदेश नम्बर २ मा ९ हजार बिरामी रहेको अनुमान छ । ६ हजार ५ सय ८६ जना बिरामीहरु उपचार गराईरहेका छन् भने ३० प्रतिशत भन्दा बढी विरामी अहिले पनि सरकारको पहुँच भन्दा बाहिर छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप