मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियाली कम्पनीको लापरवाहीले ३२ नेपाली कामदार समस्यामा, यस्तो छ ‘अवैध’ कथा

सोमबार, ११ चैत २०७५, ११ : ३३
सोमबार, ११ चैत २०७५

क्वालालुम्पुर–मलेसियास्थित एक सेक्युरिटी कम्पनीको लापरवाहीका कारण ३२ जना नेपाली कामदार समस्यामा परेका छन् । 

क्वालालुम्पुरस्थित सेक्युरिटी गार्ड सप्लाई गर्ने कम्पनी महमुद सेक्युरिटीको लापरवाहीको कारण यहाँ कार्यरत ३२ जना नेपाली कामदार अवैध बनेका छन् । 

यस्तो छ ‘अवैध’ कथा
२०१७ को अप्रिल २९ मा सामाखुसीस्थित बीएस ओभरसिज प्रालिमार्फत् कम्तीमा ५५ हजार तिरेर नेपाली कामदार सेक्युरिटी गार्डका रुपमा मलेसिया छिरेका थिए । 

उनीहरुलाई नेपालको बीएस ओभरसिजले मासिक १ हजार ८ सय तलब र होस्टेल सुविधासहितको व्यवस्था हुने भन्दै मलेसियामा पठाएको थियो । 

यद्यपि उनीहरुको एग्रिमेण्टमा भने मासिक २ हजार १ सय रुपैयाँ तलब, सातामा एक दिन छुट्टी, र वर्षभरीमा ८ दिन छुट्टी दिने उल्लेख गरिएको थियो ।

त्यसैगरी उनीहरुसँग गरिएको एग्रिमेण्टमा बेसिक तलब १ हजार ५० मलेसियन रिङ्गेट, नर्मल दिनको दैनिक ४ घण्टाको ओभरटाइम गर्दा डेढ गुणा, आइतबारको ड्युटीमा तलबमा दुई गुणा र सार्वजनिक विदा वा चाडवाडको क्रममा ड्युटी गरेमा ३ गुणा बढी ओभरटाइमको सुविधा दिने उल्लेख थियो ।

यही आशमा मलेसिया आइपुगेका उनीहरु गएको मे १ तारिखदेखि अवैध कामदार बनेका छन् । 

भिसाको रिन्यु गरिदिनुपर्ने कम्पनी महमुद सेक्युरिटीजले भिसा रिन्यू नगरिदिएपछि उनीहरु अवैध कामदार मात्रै बनेनन्, तरकारी किन्न र बजार जानसमेत पाएका छैनन् । लुकिछिपी हिँड्नुपरेको पीडित रोशन बजगाईँले रातोपाटीलाई बताए । 

जब दोहोरो एग्रिमेण्ट गराइयो
नेपालमा एउटा एग्रिमेण्ट गरेर आएको भएपनि मलेसिया आइपुगेपछि भने उनीहरुलाई अर्कै एग्रिमेण्टमा हस्ताक्षर गर्न लगाइएको छ ।

 सेक्युरिटी कम्पनीमा कार्यरत रोशन बजगाईँका अनुसार उनीहरुलाई मलेसिया आइपुगेपछि भने दैनिक १२ घण्टा ड्युटी गर्ने र मासिक ३० दिन नै काम गर्नेगरी १ हजार ८ सय तलबमै एग्रिमेण्ट गराइएको छ । 

ओभरटाइम सुविधामा पनि जुन दिन ड्युटी गरेपनि थप सुविधा केही नपाउने उल्लेख गरिएको छ । कम्पनीले मलेसिया आएलगत्तै अर्को एग्रिमेण्ट बनाएर हस्ताक्षर गराएपनि उक्त एग्रिमेण्ट आफूहरुलाई नदिइएको बजगाईँले बताएका छन् ।

पासपोर्ट हरायो भन्दै भिसा रिन्यु गरिदिएनन् : पीडित
मलेसियाको कानुन र एग्रिमेन्टअनुसार कामदारको भिसा रिन्युको सबै काम रोजगारदाता कम्पनीले नै गर्नुपर्ने हुन्छ । मुहम्मद सेक्युरिटीमा रहेका ३२ जना नेपाली कामदारको भिसा रिन्यु गर्ने र त्यसको रकम तिर्ने काम पनि रोजगारदाता कम्पनीको नै हो । 

तर क्वालालुम्पुरस्थित रोजगारदाता कम्पनीले समयमै भिसा रिन्यु नगर्दा आफूहरु समस्या परेको पीडितहरुले रातोपाटीलाई बताएका छन् । 

सुरुमा मे १ तारिख अगाडि नै उनीहरुले दोस्रो वर्षको लागि भिसा मिलाइसक्नुपर्ने थियो । तर कम्पनीले लापरवाही गरेर समयमै भिसा रिन्यू गरिदिएन । त्यसपछि जरिवाना तिर्नुपर्ने भएपछि कम्पनीले विभिन्न बाहाना बनाएर ९ महिना झुलाएको र ९ महिना पछि मात्रै ३२ जनाको पासपोर्ट हराएको भन्दै जानकारी दिएको पीडितमध्येका एक बजगाईँले बताए । 


त्यसपछि मात्रै आफूहरु थप समस्यामा परेको उनीहरुले बताए । 

भिसा नहुँदा मलेसियन प्रहरीले पटकपटक घुस खायो

आफूहरुसँग भिसा नभएकाले मलेसियनज प्रहरीले पटकपटक आफूहरुसँग घुस खाएको पीडितमध्येका एकजनाले नाम नबताउने शर्तमा रातोपाटीलाई बताए । उनले भने ‘हामीसँग काम गर्नका लागि आधिकारिक भिसा वा पेपर छैन । त्यो नभएपछि प्रहरी चेकिङमा पर्दा हामीले प्रत्येकपटक घुस दिनुपरेको छ । एकपटक र क्वालालुम्पुर हेर्ने कमाण्डर घनश्यामकै अगाडि घुस लिए । हामी यसरी प्रहरीलाई घुस दिएर बस्न बाध्य छौँ, कम्पनीले केही गरेन ।’

भिसा नहुँदा प्रत्येक पटक आफूहरुले मलेसियन प्रहरीलाई घुस दिनुपरेको पीडितहरुको बयान छ । भिसा नभएकाले तरकारी र सामान्य किन्न पनि बाहिर जान नसकेको पीडितहरुले बताएका छन् । अति भएपछि क्वालालुम्पुरस्थित नेपाली दूतावासमा उनीहरुले उजुरीसमेत दिएका छन् । 

कम्पनी भन्छ– हाम्रो कमजोरी भएकै हो समस्यामा पर्न दिन्नौं

यता क्वालालुम्पुरस्थित कामदारको सप्लाई गर्ने कम्पनी मुहम्मद सेक्युरिटीले भने सामान्य कमजोरी भएको र समयमै समाधान गर्न नसक्दा केही अप्ठेरो परेको स्वीकार गरेको छ । मुहम्मद सेक्युरिटीकी म्यानेजर फाजलिना जुलकिफ्लीका अनुसार समयमै भिसा रिन्यु गर्नका लागि एजेण्टलाई पठाएपनि एजेण्ट पैसा र नेपालीको पासपोर्ट नै लिएर भाग्यो । त्यसपछि आउँछु आउँछु भन्दै एजेण्टले भुलाएकाले यो समस्या आएको हो । अन्तिमसम्म पनि एजेण्ट सम्पर्कमा नआएपछि हामीले नयाँ पासपोर्ट बनाएर उनीहरुलाई वैधानिक बनाउने प्रयत्न गरिरहेका छौँ । 

अहिले सेक्युरिटी कम्पनीले ३२ जना कामदारकै नागरिकता नेपालबाट मगाएर नयाँ पासपोर्ट बनाउनका लागि निवेदन दिइसकिएको छ । त्यसका लागि आवश्यक पैसा पनि कम्पनीले नै तिरिदिएको छ । ३२ जनामध्ये ७ जनाको पासपोर्टसमेत आइसकेको र अन्यको पनि आउने क्रममा रहेको कम्पनीले जनाएको छ । 
उनीहरुको पासपोर्ट आएपछि जति खर्च लागेपनि कम्पनीले नै बेहोर्ने र भिसा दिलाउने काम गर्ने फाजलिना बताउँछिन् । 

कम्पनीलाई प्रक्रिया पूरा गर्न निर्देशन दिएका छौँ : नेपाली दूतावास
यता आफ्ना नागरिकहरु समस्यामा परेको जानकारी आएलगत्तै क्वालालुम्पुस्थित नेपाली दूतावासले कम्पनीलाई बोलाएर तत्काल समस्या समाधान गर्न निर्देशन दिएको छ ।

क्वालालुम्पुरस्थित नेपाली दूतावासकी श्रम सहचारी सनमाया रम्तेलका अनुसार समस्यामा परेका ३२ जनामध्ये ११ जनाले निवेदन नै दिएर समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । त्यही निवेदनका आधारमा श्रम सहचारी रम्तेलले सेक्युरिटी कम्पनीको प्रतिनिधिलाई दूतावासमै बोलाएर बयानसमेत लिएकी थिइन् । 

त्यसपछि मात्रै सेक्युरिटी कम्पनीले नेपाली कामदारको नयाँ पासपोर्ट बनाउन पहल सुरु गरेको थियो । 

श्रम सहचारी रम्तेलका अनुसार अहिले सेक्युरिटी कम्पनीले नै पैसा तिरेर ३२ जना कामदारको नयाँ पासपोर्ट बनाउने प्रक्रिया सुरु भएको छ । जसमध्ये ७ जनाको पासपोर्ट क्वालालुम्पुर आइसकेको छ भने अन्यको प्रक्रियामै रहेको छ । पासपोर्ट प्राप्त भएपछि जरिवाना तिर्नुपर्ने भएमा कामदारको आपूर्ति गर्ने कम्पनीले नै जरिवाना तिर्ने गरी भिसासहितको पासपोर्ट उपलब्ध गराइने छ । 

नेपाली दूतावासले उनीहरुलाई मे २९ भित्र सबै प्रक्रिया सक्न र कामदारको हातमा पासपोर्ट उपलब्ध गराउन निर्देशन दिएको छ । दिइएको समयभित्र कामदारको भिसाको प्रक्रिया नसकिएमा सेक्युरिटी कम्पनीमाथि एक्सन लिने श्रम सहचारी रम्तेलले रातोपाटीलाई बताइन् ।

अव्यवस्थित होस्टल
महमुद सेक्युरिटीमा कार्यरत एक नेपाली सेक्युरिटी गार्डका अनुसार महमुद सेक्युरिटीको होस्टल एकदमै अव्यवस्थित र दर्दनाक रहेको छ । अहिले महमुद सेक्युरिटीले १० जना बस्न मिल्ने होस्टलमा २६ जनासम्म कोचेर राखेको छ । ती कामदारले भने ‘हामी बस्ने होस्टलको क्षमता १० जना मात्रै हो । तर कम्पनीले अहिले २६ जनालाई त्यस होस्टलमा राखेको छ ।’

क्षमताभन्दा बढी कामदार राखिएको मात्रै होइन, होस्टलमा सुत्नका लागि वेड र वेडसिटसमेत नदिइएको ती कामदारले बताएका छन् । उनले भने ‘हामी सबैजना भुइँमै सुत्न बाध्य छौँ । हामीलाई सुत्नका लागि वेड र वेडसिटसमेत दिइएको छैन ।’


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप