मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मुसहर समुदायको उत्थानमा समर्पित यी युवा, जसले मासिक २ लाख आउने जागिर नै छाडिदिए

सोमबार, ११ चैत २०७५, ०८ : ३६
सोमबार, ११ चैत २०७५

समाजको कुनै समस्या बारेमा जान्नु छ भने मुसहर वस्तीमा गए हुन्छ । त्यहाँ रोग, भोक, अशिक्षा, गरिबी, बेरोजगारी, भूमिहीन आदि सबै एक ठाउँमा पाउन सकिन्छ ।

यही कुरालाई गम्भीरतापूर्वक बोध गरेका राजकुमार महतो करिब ११ वर्षदेखि ती सबै हटाउनका लागि परेका छन् । अहिले सिगैं मुसहर समुदायको अभिभावक रुपमा खडा भएका छन् उनी । त्यसैले अहिले सयौंका अनुहारमा मुस्कान ल्याइदिएका छन् ।

महतोले ‘शक्तिहीनको सशक्तीकरण, मुसहर समुदायको समग्र उत्थान’ अभियान चलाएर मुसहर समुदायको उत्थानमा लागेका छन् । 

सर्लाहीकाे बबरगन्जका ४३ वर्षीय महतोले मुसहरको अनुहारमा मुस्कान ल्याउन आफ्ना हुँदाछँदाको जागिर छाडेर त्यस अभियानमा लागेका छन् । सेभ द चिल्ड्रेनमा महिनाको लाखौ रुपैयाँ तलबमा काम गर्ने राजकुमारले मुसहरको उत्थानका लागि जागिर पनि छाडेका छन् । 

‘मुसहर समुदायका बालबालिका पढेर आफ्नो खुट्टामा उभिन सक्ने भएका छन्, त्यो भन्दा अरु खुशी मेरो लागि केही हुन सक्दैन’, महतोले रातोपाटीसँग कुरा गर्दै भने, ‘समाजमा सबभन्दा बढी पिछडिएका समुदायका बारेमा कोही सोचिदिने भएन, त्यसैले कोही न कोही त अगाडि बढ्नुपर्छ भनेर म आफ्ना सबै स्वार्थ त्यागेर यसमा लागेको छु ।’ त्यसो त पहिला जागिरसँगै उनी अभियान पनि चलाउँथे । तर पछि उनले अभियानका लागि समय दिन नसकेपछि जागिर नै छाडे । 

अहिले उनले आफ्नो रोजीरोटीका लागि एउटा कन्सल्टेन्सी चलाइरहेका छन् । त्यसबाहेकका सबै समय मुसहर समुदायको उत्थानमा लगाएका छन् उनी । 

उनले मुसहरको उत्थानका लागि शिक्षा, नागरिकता र जमिनको विषयमा एकैपटक अभियान चलाए । 

उनका अभियानका कारण सयौं मुसहर बालबालिकाको अनुहारमा मुस्कान देखिएको छ । अहिले उनको अभियानबाट देशभरि मुसहर समुदायका २०० बालबालिकाले अध्ययन गर्ने मौका पाएका छन् । खुसीको कुरा त के छ भने उनकै अभियानका कारण सात जनाले त जागिर समेत पाइसकेका छन् । 

सन् २०१० मा महतोले भोर नामक संस्थामार्फत् अभियान चलाउँदा देशभरिमा मुसहरका समुदायबाट तीनजनाले मात्र एसएलसी पास गरेको फेला पारेका थिए । 

उनी भन्छन्, ‘सन् २०१० मा मैले देशैभरिबाट मुसहर समुदायबाट एसएलसी पास गरेका विद्यार्थीको भेला बोलाउँदा तीनजना मात्र फेला परेका थिए । अभियानमा तीब्रता दिएपछि अर्को वर्ष पाँचजना फेला परे भने पुनः अर्को वर्ष सातजना भए । यस्तै गरी सन् २०१७ सम्ममा १९१ जना विद्यार्थीले एसएलसी पास गरे र त्यो हाम्रो अभियानकै कारणले हो ।’

उनको अभियान कुनै परियोजनाबाट सञ्चालित होइन, न कि कुनै डोनरबाट सञ्चालित हो, यो विल्कुल समाजको चन्दा सहयोगबाट चलेको हो ।  सन् २०१० मा दिनाभद्री छात्रवृत्ति कोष स्थापना गरी त्यसमा सर्वसाधारणले जम्मा गर्ने गरेको रकमबाट उनले मुसहर समुदायका बालबच्चामा शिक्षाको उज्यालो फैलाइरहेका छन् ।

उनी भन्छन्, ‘विद्यार्थी भर्ना गर्दा विद्यालयसँग पनि कुरा गर्छु,कुनै कुनै विद्यालयले छुट दिन्छन्, वा कुनै विद्यालयले एक दुईजनालाई निःशुल्क पढाइ दिन्छन् ।’

‘कति हुन्छ त खर्च ?’ भन्ने रातोपाटीको जिज्ञासामा महतो भन्छन्, ‘कक्षा १ देखि १० सम्म एउटा बच्चालाई पढाउँदा वार्षिक १० हजार रुपियाँ खर्च हुने गरेको छ । त्यसमा स्कूल ड्रेस, झोला, जुत्ता, मोजा, किताब, कापी र ट्युशन फी पनि हुन्छ ।’ उनी थप्दै भन्छन्, ‘प्लस टुदेखि मास्टर्ससम्म पढाउँदा एउटा विद्यार्थीका लागि एकवर्षमा ३५ हजार खर्च हुने गरेको छ ।’

तर ‘स्कूले बच्चालाई विद्यालयमा टिकाउन गाह्रो भएको’ उनी सुनाउँछन् । उनी भन्छन्, ‘एकसय विद्यार्थीमध्ये १० कक्षासम्म पुग्दा २–३ जना विद्यार्थी मात्र बाँकी रहन्छन् । विद्यालयमा विद्यार्थी टिकाउन निकै मुस्किल हुने गरेको छ ।’

त्यसरी बीचैमा पढाइ छाड्ने चारवटा कारण रहेको उनी बताउँछन् ।

पहिलो कारण, अभिभावकले नै विद्यार्थीमाथि ध्यान दिँदैनन् मुसहरका बच्चाहरु पनि पढ्नछन् र ? भन्ने बुझाइ छ उनीहरुको । दोस्रो कारण, घरको आर्थिक अवस्थाका कारण बालबच्चाहरु कमाउनतिर लाग्छन् । तेस्रो कारण, स्कुलमा मुसहर समुदायका बालबालिकामाथि विभेद र चौथो कारण, घरको वतावरण राम्रो नभएको कारण पनि अधिकांश मुसहर विद्यार्थीहरु बीचैबाट पढाइ छाडेर भाग्छन् ।
यसरी मुसहर समुदायका बच्चाहरु बीचैमा पढाइ छाड्न थालेपछि अभियन्ता राजकुमार महतोले अर्को उपाय निकाले । 

उनले भने, पढेपछि के फाइदा हुन्छ भनी देखाउनका लागि स्कूले बच्चाको साथै मुसहर समुदायका बालबालिकालाई प्लस टु, ब्याचलर र मास्टर्ससम्म पढाउन थाले । उनीहरुलाई पढाउने मात्र होइन, जागिरको व्यवस्था पनि गर्न थालेपछि पढाइप्रति आकर्षण बढ्न थालेको छ ।’ 

एसएलसी पास गरेकालाई प्लस टु पढ्नका लागि सहयोग गरे, प्लस टु पास गरेकालाई ब्याचलर पढ्नका लागि सहयोग गरे, ब्याचलर पास गरेकालाई मास्टर्स पढ्नका लागि सहयोग गरे । अभियानको सहयोगबाट अहिले प्लस टु मा २५० जना अध्ययन गरिरहेका छन् भने ब्याचलरमा ११ जना र मास्टर्समा ३ जना अध्ययन गरिरहेका छन् । यसपटकको एसईईमा अभियानको सहयोगबाट पढिरहेका २४ जना विद्यार्थी सहभागी भएका छन् ।  

ककसले पाए जागिर ?
अभियानबाट पढेर प्लस टु पास गरी वसन्त सदाले सिरहामा नेविल बैंकमा काम गर्न थालेका छन् भने प्लस टु पास गरेर सुनिल माझी, जितेन्द्र माझी (रौतहट), धर्मेन्द्र माझी (सप्तरी) प्रहरीमा जागिर खाइरहेका छन् । 

त्यसैगरी, प्लस टु पास गरेर अजय सदा (धनुषा) ले आसमा नेपाल र प्लस टु पास गरेर ममता माझीले पनि एउटा गैर सरकारी संस्थामा काम गरिरहेकी महतोले जानकारी गराए । प्लस टु पास गरेर रामगेन सदा (सिरहा) एउटा युवा क्लबको अध्यक्ष भएका छन् ।

यसरी उनीहरु दुःख सुख गरी पढेर जागिर गरेपछि मुसहर समुदायमा शिक्षाप्रति चासो बढ्न थालेको महतोको दावी छ । फलानोको छोरा पढेर प्रहरी भएका छन्, फलानोको छोरा पढेर मास्टर भएका छन् भनेर आआफ्नो छोरालाई स्कूल पठाउन थालेका छन्, जसले गर्दा पहिलाको तुलनामा अहिले स्कूलमा मुसहर बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । एसएलसी पास गरेर थप अध्ययन गर्न आर्थिक हैसियतले नभ्याउने भएपछि वसन्त सदा कमाउनका लागि पञ्जाब जाने तयारीमा थिए । त्यो कुरा थाह पाएर राजकुमार महतोले वसन्तलाई सम्पर्क गरी प्लस टु पढ्न लागि प्रेरित र सहयोग गरे । उनलाई आर्थिक सहयोग दिएर प्लस टु मात्र पढ्न लगाएनन्, बैंकमा जागिर पनि लगाइदिए । अहिले उनका घरपरिवार पनि सुखी छन् र वसन्त पनि रमाइरहेका छन् । 

कसरी बन्यो यो सोच ?
जनस्वास्थ्यमा बीपीएच र एमपीएच अध्ययन गरेका राजकुमार महतोले शुरुमा कैलालीको टिकापुरमा अहेबलाई पढाउने काम गरे । पढाउनमा उनलाई त्यति मन लागेन, अनि विकासमुलक तथा चेताना मुलक काम गर्न उनी त्यो जागिर छाडेर जनकपुरमा आसमा नेपाल नामक एक गैरसरकारी संस्थामा दुई वर्षसम्म काम गरे ।

आसमा नेपालभन्दा राम्रो काम र सेवा सुविधा पाएपछि उनले केयर केयर नेपालमा जागिर खान थाले । केयर नेपालमा सात वर्षसम्म जागिर खाएका उनी सन् २०१२ मा सेभ द चिल्ड्रेनमा जोडिन पुगे । अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनले राष्ट्रिय स्तरमा फैलिएर काम गरिरहेको कारण आफू त्यसमा जोडिन पुगेको महतो बताउँछन् । 

विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमा काम गर्दैजाँदा उनले मुसहर समुदायको बारेमा नजिकबाट बुझ्ने मौका पाए । ‘मुसहर वा अन्य समुदायका लागि गैरसरकारी संस्थाहरुले गर्ने गरेको तथा गर्दै आइरहेको कामहरु प्रभावकारी हुने नगरेको’ महताको बुझाइ छ । 

उनले मुसहर समुदायका लागि फरक ढंगबाट काम गर्नका लागि एक वर्षअघि सेभ द चिल्ड्रेनको जागिर छाडे । त्यसो त उनी मुसहरको उत्थान र विकासका लागि सन् २००८ देखि नै लागेका थिए ।

परिवारको सोच
महतो एसएलसी आफ्नो गाउँको स्कूलबाट पास गरेपछि उनका बुवाले छोराले जागिर गरोस् भन्ने चाहेका थिए तर उनी पढ्नका लागि भारतका सितामढी गए । त्यहाँ उनका मामाका छोरा प्रोफेसर थिए । त्यहाँ रहेर आइएससीसम्म  अध्ययन गरेपछि काठमाडौ आएर महतोले थप जनस्वास्थ्य सम्बन्धी अध्ययन गरे ।

अहिले जागिर छाडेर महतो मुसहरको अभियानमा लाग्दा उनको बुवा रामनारायण महतोलाई मन परेको छैन । महिनाको दुई लाख रुपियाँभन्दा बढी तलब आउने जागिर छाडेर यस्तो अभियानमा लागेको कुरा उनको बुवालाई मन परेको छैन । बुवाले पटक पटक उनलाई जागिरमा फर्किन भनिरहेका छन् तर महतोले बुवालाई भन्ने गरेका छन्, ‘मैले जागिर छाडेपनि आफ्नो गुजाराका लागि अभाव छैन, जुन दिन अभाव हुन्छ त्यो दिन म पुनः जागिरमा फर्किन्छु अहिले मुसहर समुदायका लागि केही गर्न दिनुस् ।’

महतो घरका एक्लो छोरा हुन् । त्यही भएर आमा–बुवाले छोराबाट आश गर्नु स्वभाविक हो । एउटा बहिनी छ, उनको पनि बिहे भइसकेको छ ।

महतोको दुईटा छोरी र एउटा छोरा रहेका छन् । जेठो छोरा प्लस टु पढिरहेका छन् भने एउटा छोरी एसईई दिइरहेकी छिन् । अर्की छोरी चार कक्षामा पढिरहेकी छिन् । 

मुसहरको अवस्था
विश्वको तथ्यांकमा पनि सबभन्दा गरिब मुसहर समुदाय रहेका छन् । एक त मुसहरको बारेमा त्यति अध्ययन पनि भएको छैन । त्रिभुवन विश्वविद्यालयमा एक दुईटा थेसिस लेखिएका छन् । त्यसबाहेक अरु गहिरो अध्ययन भएको छैन । 

महतो भन्छन्, ‘जनगणनामा पनि मुसहरमाथि विभेद भएको छ । जनगणना २०६८ का अनुसार देशभर मुसहरको जनसङ्ख्या दुईलाख ८३ हजार मात्र देखाएको छ, जब निजी क्षेत्रबाट भएका विभिन्न अध्ययनअनुसार देशभर १२ लाख भन्दा बढी मुसहर रहेका छन् ।’

९३ प्रतिशत मुसहरहरु अशिक्षित रहेका छन् भने ८० प्रतिशत मुसहरसँग नागरिकता नरहेको महतोको दावी छ । त्यति मात्र होइन, ९५ प्रतिशत मुसहरसँग आफ्नो जग्गा पनि छैन । उनीहरुले ऐलानी जग्गामा घर बनाएका छन् या कुनै साहु महाजनको जग्गामा घर बनाएर बसेका छन् ।

‘मुसहरसँग भएको जग्गामा पनि भूमाफियाको आँखा गडेको’ महतो बताउँछन् । उनले आफ्ना गाउँको एउटा अनुभव सुनाउँदै भने, ‘मैले आफ्नो आँखाले देखेको मुसहरवस्ती त्यहाँबाट हटेर गाउँको भन्दा टाढा गएर बसेको छ । गाउँबाट ठूलाबडाहरु विभिन्न लोभ देखाएर भगाएका छन् । आज उनीहरु जग्गाविहीन भएका छन् ।’

मुसहरको समस्या जातीय नभएर वर्गीय समस्या भएको बताउँदै महतो भन्छन् ‘अहिले मुसहरको मुद्दा राष्ट्रिय मुद्दा बनेको छ । राष्ट्रिय योजना आयोगले पनि प्राथमिकतामा राखेर कार्यक्रमहरु बनाउन थालेको छ भने प्रदेश सरकारले पनि विभिन्न कार्यक्रममा मुसहरलाई प्राथमिकतामा राखेको देखिन्छ ।’

उनको दावी छ, ‘यी सब अभियानकै कारणले भएको हो । महोत्तरीमा धुर्मुस–सुन्तली फाण्डेशनले मुसहरको लागि घर बनायो त्यो पनि आफूहरुको अभियानका कारणले ।’

उनी भन्छन्, ‘शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा सुधारको अवस्था देखिए पनि राजनीतिक अवस्थामा कुनै सुधार आएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप