शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री साहले शिक्षकमाथि दुर्व्यवहार गरेपछि मागियो राजीनामा

आइतबार, १० चैत २०७५, १८ : ३७
आइतबार, १० चैत २०७५

जनकपुर– प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले एसईई परीक्षा केन्द्रको निरीक्षण गर्ने क्रममा केन्द्राध्यक्ष सत्यनारायण मण्डललाई दुव्र्यवहार गरेका छन् ।

आइतबार धनुषा जिल्लाको सरस्वती नमुना उच्च माध्यामिक विद्यालयमा निरीक्षणको क्रममा मन्त्री साहले केन्द्राध्यक्ष मण्डलसहित परीक्षा हलमा गार्ड बसेका विद्यालयका शिक्षकहरूलाई तथानाम हप्काएका थिए ।
केन्द्राध्यक्ष मण्डलले भने– ‘मलाई तथानाम गाली गरे, तपाईको जागिर खाइदिन्छु भन्दै उनले भने–तपाईलाई हटाइदिन्छु । बेबकुफ भनेर हप्काए ।’ मण्डलले मन्त्रीले आफूलाई केन्द्राध्यक्षबाट हटाइदिने धम्की दिँदै यस्तालाई कसले र किन केन्द्राध्यक्ष बनाएको भनेर हप्काउदै गालीगलौज गरेको आरोप लगाए । 

त्यस्तै विद्यालयका शिक्षक बेचन रामले मलाई हिन्दी भाषामा गाली गलौज गर्दै तिमीहरुमा संस्कार नै नभएको भन्दै परिचयपत्रमा फोटो किन टाँसेको भनेर तथानाम गालीगलौज गरेको बताए । मन्त्री साहको भनाई उद्धृत गर्दै उनले भने– ‘तुम्मे संस्कार नही हैं । फोटो क्यूं नै रखा ।’ शिक्षक रामले आफूलाई चमार र दलित भनेर मन्त्रीले गाली गर्दै अपमानित गरेको गुनासो पोखे ।

आक्रोशित केन्द्राध्यक्ष मण्डलले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने भन्दै मन्त्रीको दुव्र्यवहार सहेर भएपनि परीक्षा सञ्चालन गरे । परीक्षा केन्द्रमा ४ जनाको परिचयपत्रमा फोटो थिएन । फोटो नहुनेमा शंकर दास, सीमाकुमारी कर्ण, विनिता यादव र बेचन राम हुन् ।

मन्त्री साहको दुव्र्यवहारपछि नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघ धनुषाले पत्रकार सम्मेलन गर्दै मन्त्री साहको राजीनामा माग गरेका छन् । संघका अध्यक्ष राम सिनेही यादवले मन्त्रीको मानसिक सन्तुलन गुमेको आरोप लगाए । तर यता मन्त्री साहले भने यो कुराको खण्डन गरेका छन् । मन्त्री साहले केन्द्राध्यक्ष मण्डलको शैली र प्रस्तुति नै अपरिपक्व रहेको टिप्पणी गर्दै प्रश्न गरे– क्षमता नै नभएको व्यक्तिलाई किन र कसले केन्द्राध्यक्ष बनाइदिएको हो ? मन्त्री साहले भने– परीक्षा केन्द्रको आफ्नो मर्यादा हुन्छ, शिक्षकहरुको पनि त्यहाँ आफ्नो कर्तव्य हुन्छ, तर त्यहाँ त एकातर्फ परीक्षा भइरहेको छ भने अर्कोतर्फ शिक्षक र केन्द्राध्यक्षहरु आफ्नै तालमा छन् ।’

उनले शिक्षक बेचन रामलाई चमार भनेर हेपेको  प्रश्नको जवाफ दिदैँ भने– मलाई कसैको जातको बारेमा थाहा पनि छैन, को ब्राह्मण थियो, र को चमार थियो, मैले त जे देखे शिक्षक र केन्द्राध्यक्षको रवैया, त्यसमाथि मैले रिसाएर यसो नगर्न निर्देशन मात्रै दिएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप