बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मलेसिया रोजगारी : स्वास्थ्य परीक्षणको मापदण्ड नेपाल आइपुग्यो, अब तत्कालै आवेदन मागेर सूचीकृत गरिने

श्रममन्त्री गोकर्ण विष्ट भन्छन्, ‘ब्रेक थ्रु भयो’
आइतबार, १० चैत २०७५, ११ : २६
आइतबार, १० चैत २०७५

क्वालालम्पुर–वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारका लागि स्वास्थ्य परीक्षणको नयाँ मापदण्ड नेपाल पुगेको छ । 

मलेसियाको स्वास्थ्य मन्त्रालयले त्यहाँको गृह र परराष्ट्र मन्त्रालयमार्फत् स्वास्थ्य परीक्षणको मापदण्ड नेपाल पठाएको हो ।

मलेसियास्थित मानव संशाधन मन्त्रालय श्रोतका अनुसार करिब १५ दिन पहिले मलेसियाको स्वास्थ्य मन्त्रालयले नेपालबाट कामदार ल्याउन आवश्यक स्वास्थ्य परीक्षणको मापदण्ड उपलब्ध गराएको थियो । सो मापदण्डलाई मानव संशाधन मन्त्रालयले गृह मन्त्रालय हुँदै यहाँको परराष्ट्र मन्त्रालय र नेपालस्थित मलेसियन राजदूतावासमार्फत् नेपाललाई उपलब्ध गराएको हो ।  

नेपालस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीका अनुसार शुक्रबार अबेला मात्रै स्वास्थ्य परीक्षणको मापदण्डबारे औपचारिक पत्र आएको छ । 

उक्त मापदण्डलाई आइतबार मन्त्रालयमा खोलेर छलफल सुरु गरिने छ । मन्त्रालयले आजै दिउँसो नेपालमा रहेका केही चिकित्सक तथा नीति निर्मातालाई राखेर छलफल गर्दैछ । 

नेपाल र मलेसिया सरकारबीच कात्तिक १२ गते भएको एमओयुमा मलेसिया सरकारले स्वास्थ्य परीक्षणको मापदण्ड पठाउने र सोही आधारमा नेपाल सरकारले सरकार अस्पतालसहित निजी स्वास्थ्य संस्थाहरुलाई मापदण्ड अनुसार दर्ता हुन आव्हान गर्दै दर्ता गर्ने कुरा उल्लेख छ । 

अब सिण्डिकेट तोडिने
नेपाल सरकारले एफडब्लुसिएमएस सिस्टममार्फत् नेपालका ३७ वटा स्वास्थ्य परीक्षण गराउने संस्थालाई मात्रै समेटेर मलेसिया रोजगारीको स्वास्थ्य परीक्षणमा सिण्डिकेट कायम गरिएको थियो । यही विषयलाई लिएर २०७५ साल जेठ २ गते श्रममन्त्री गोकर्ण विष्टले सिण्डकेट अन्त्य र यी संस्थाहरुले मात्रै स्वास्थ्य परीक्षण गराउन पाउने सिण्डिकेटको खारेज गरेको एकतर्फी निर्णय गरेका थिए । त्यसपछि हालसम्म मलेसियाको रोजगारी बन्द रहेको छ । 

तर मलेसियाको प्रशासनिक केन्द्र पुत्राजयाले स्वास्थ्य परीक्षणको नयाँ मापदण्ड पठाएलगत्तै मलेसिया रोजगारीमा नयाँ तरङ्ग आएको छ । 

काठमाडौंमा रहेका श्रममन्त्री गोकर्ण विष्टले स्वास्थ्य परीक्षणको नयाँ मापदण्ड प्राप्त भएको बताए । उनले भने ‘मलेसियाबाट स्वास्थ्य परीक्षणको मापदण्ड प्राप्त भएको छ । हामी यसबारेका विज्ञ र मन्त्रालयको टोलीले आजै थप छलफल गर्नेछ । त्यसपछि सरकारी अस्पतालसमेत सहभागी हुन सक्ने गरी हामी यसमा दर्ता हुन औपचारिक आव्हान गर्नेछौँ । अब बुझ्नुस् कि ब्रेक थ्रु भयो ।’

काम सुरु हुन कम्तीमा डेढ महिना लाग्ने
मलेसियाबाट स्वास्थ्य परीक्षणको मापदण्ड प्राप्त भएकाले अब आजै (चैत १०) मन्त्रालयमा विज्ञसहित छलफल हुने छ । त्यस छलफलपछि सम्भवतः भोलिको दैनिक पत्रिकामा सूचना प्रकाशन गरेर स्वास्थ्य परीक्षण गराउन इच्छुक संस्थाहरुलाई सहभागी हुन औपचारिक आह्वान गरिने छ । 

नेपालको नीतिले यस्तो कामका लागि कम्तीमा ३० दिनको समय उपलब्ध गराउनुपर्ने उल्लेख छ । त्यसकारण दर्ताका लागि कम्तीमा ३० दिनको समय दिनैपर्ने भएको कारणले तत्कालै काम सुरु भइहाल्ने भने होइन । 

एक महिनाको समय दिनैपर्ने भएपनि श्रम मन्त्रालयले भने आवेदन आएका संस्थाहरुको अनुगमन भने तत्कालै सुरु गर्ने तयारी गरेको छ । 

मन्त्रालयले प्राप्त आवेदनबाट योग्यता पुगेका संस्थाहरुलाई सर्ट लिष्टिङ गरी मलेसियामा पठाउने छ । त्यसपछि नेपालको मन्त्रालय तथा विज्ञ समूह तथा मलेसियाको मन्त्रालय र विज्ञ समूहले स्वास्थ्य संस्थामै गएर अनुगमन गरी स्वीकृती दिने तयारी गरिएको छ । त्यसकारण यो प्रक्रिया औपचारिक रुपमा सुरु हुन भने अझै कम्तीमा ४५ दिनु कुर्नुपर्ने हुन्छ ।

तर कात्तिक १२ गते नेपाल र मलेसियाबीच कामदारको आपूर्तिसम्बन्धि एमओयुको कार्यान्वयन भने यससँगै सुरु भएको छ ।

मे १ बाट मलेसिया रोजगारी खुल्ने संकेत
यसैबीच मलेसिया रोजगारीको ‘डेडलक’ मे १ बाट खुल्ने संकेत आएको छ । पुत्राजयास्थित मानव संशाधन मन्त्रालय श्रोतका अनुसार कामदारको आयात कसरी गर्ने भन्ने सम्बन्धमा अध्ययन गर्न गठित समितिले मन्त्रालयलाई प्रतिवेदन दिइसकेको छ । समितिले के कसरी कामदार ल्याउने भन्ने सम्बन्धमा सुझाव दिएको भएपनि प्रक्रियाबारे भने उनीहरुले केही बताउन चाहेनन् । यद्यपि अब एकीकृतरुपमा तथ्यांक रहने गरी कामदारको डाटाबेस तयार गर्ने र सहजीकरण गर्ने तयारी भने भएको मन्त्रालय श्रोतले बताएको छ । 

समितिले दिएको प्रतिवेदनबारे अब मानव संशाधन मन्त्रालय र गृह मन्त्रालयले थप अध्ययन गर्नेछ । त्यसपछि थपघट गर्नुपर्ने कुनै बुँदा वा विषय भएमा यी मन्त्रालयले हेरेर थपघट गर्नेछन् । र, उनीहरुले यो विषयलाई सांसदमार्फत् टुङ्ग्याउने छन् । मार्च २८ बाट यसबारेमा मन्त्रालयहरुले काम सुरु गर्ने तयारी भएको बताइएको छ । 

अबको करिब १ महिनाभित्र सुझवसहितको विषयलाई सम्बोधन गर्ने गरी नयाँ नीतिलाई संसद्मा लगिने छ । संसदले हुवहु वा संशोधनसहित पास गरेपछि यो औपचारिक रुपमा कानुन बनेर कार्यान्वयनमा जाने छ । 
पुत्राजयास्थित मानव संशाधन मन्त्रालयले कामदारको आयातसम्बन्धि नयाँ नीति अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे १ पारेर घोषणा गर्ने र त्यसै दिनदेखि लागू गर्ने तयारीसमेत गरेको स्रोतले बताएको छ । 
यसरी हेर्दा नेपालको मलेसिया रोजगारीको ढोका मे १ बाट खुल्ने प्रचुर सम्भावना रहेको छ । 

कलिङ भिसाको प्रक्रिया टुङ्गयाउनने तयारी
यसैबीच कलिङ भिसा प्राप्त गरेका करिब ६ हजार नेपाली कामदारलाई मलेसिया ल्याउन तयारी तीव्र पारिएको छ । क्वालालुम्पुरस्थित नेपाली राजदूत उदयराज पाण्डेका अनुसार कलिङ भिसा प्राप्त गरेका करिब ६ हजार नेपाली कामदारलाई मलेसिया ल्याउन पहल सुरु गरिएको छ । 

नेपालस्थित दूतावासबाटै बाँकी प्रक्रिया पूरा गर्ने गरी ती कामदारलाई अन्तिम श्रम स्वीकृति दिने तयारी भएको राजदूत पाण्डेले रातोपाटीलाई बताएका छन् । 

यसअघि नेपालस्थित मलेसियन दूतावासले कर्मचारीको अभाव देखाउँदै आफूले भिसा प्रदानको सबै काम आफै गर्न नसक्ने बताएको थियो । तर पुत्राजयास्थित मानव संशाधन र परराष्ट्र मन्त्रालयले तत्कालका लागि त्यो काम दूतावासबाटै गराउने गरी तयारी गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप