शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएल अघि हजले गरे सन्दीपको तारिफ

आइतबार, १० चैत २०७५, ०७ : ०९
आइतबार, १० चैत २०७५

एजेन्सी – पूर्व अष्ट्रेलियन क्रिकेटर एवं चर्चित क्रिकेट विश्लेषक ब्राड हजले नेपालका लेग स्पिनर सन्दीप लामिछानेको मुक्तकण्ठले तारिफ गरेका छन् । बहुचर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सबाट खेल्न लागेका सन्दीपलाई हजले बहुप्रतिभावान खेलाडी भनेका छन् । सन्दीपको टोली दिल्लीले (आज) आइतबार मुम्बई इन्डियन्ससँग पहिलो खेल खेल्दैछ ।

क्रिकेट खेलको प्रख्यात वेभ साइट, इएसपिएन क्रिकिन्फोसँग कुराकानी गदै विश्लेषक हजले यसपटक दिल्लीका लागि सन्दीपले राम्रो नतिजा निकाल्न महत्वपूर्ण योगदान दिन सक्ने बताए ।

‘सन्दीप दिल्लीका एक्स–फ्याक्टर खेलाडी हुन् । उनीसँग अहिले धेरै खेलको अनुभव छ । आवश्यक परेको बेला विकेट लिने सन्दीपको क्षमता वेजोडको छ । एक स्पिनरका रुपमा सन्दीपको टर्न र बाउन्स गर्ने क्षमता उत्कृष्ट छ । उनको गुग्ली सटिक छ । अष्ट्रेलियाको बिग बासमा पनि सन्दीपको बलिङ उच्च कोटीको थियो,’ हजले भनेका छन् ।

हजले सन्दीप आइतबार दिल्लीको पहिलो ११ मा पर्ने दावी पनि गरेका छन् । हजले जस्तै भारतका पूर्व क्रिकेटर अजित अग्रखरले पनि सन्दीपको उत्कृष्ट खेलाडी भएकोले उनी पहिलो रोजाईमा पर्ने बताएका छन् । अघिल्लो सिजनमा पनि दिल्लीका लागि अन्तिम तीन खेल खेलेर पाँच विकेट लिँदै सनसनी मच्चाएका सन्दीपले एकबर्षको दौरानमा विश्वका सबै लिग खेलिसकेका छन् । सन्दीपको ६.८० को उत्कृष्ट इकोनोमी सहित ४५ विकेट लिई सकेका छन् ।

यही पृष्ठभूमि र अनुभवको आधारमा यस सिजन दिल्लीले सन्दीपलाई मौका दिने धेरैको अनुमान छ । तर, दिल्ली क्यापिटल्समा अहिले अमित मिश्रा, राहुल तेवाटिया र अक्षर पटेल जस्ता अनुभवी स्पिनर पनि छन् । त्यसैले आइतबार सन्दीपले मौका पाउने वा नपाउने विषयलाई निकै चासोका रुपमा हेरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप