शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पप्पु कन्सट्रक्सनले निर्माण गरेको पुल अझैं आएन प्रयोगमा

शनिबार, ०९ चैत २०७५, २१ : २१
शनिबार, ०९ चैत २०७५

वीरगञ्ज । पप्पु कन्स्ट्रक्सले वीरगञ्जको भेडाहा नदीमा बनाएको पुल अझैं प्रयोगमा आएको छैन । सडक विभागले बाटोको लागि जग्गाको विवाद मिलाउन सकेको छैन भने उता पुल पनि हस्तान्तरण भएको छैन । त्यही भएर अहिलेसम्म पुल प्रयोगमा आएको छैन । 

वीरगञ्ज महानगरपालिका वडा नं. ३१ स्थित भेडाहा खोलामा ७० मीटर लामो पुल निर्माण सकिएको एक वर्ष बितिसकेको छ । पुलको दुवैतर्फ सम्पर्क सडकका लागि जग्गा उपलब्ध नहुँदा सडक निर्माण अघि बढ्न सकेको छैन । 

स्थानीय जग्गाधनीले मुआब्जा माग गर्दै अदालतमा मुद्दा हालेका छन् । पुल निर्माण भइसकेपछि पर्सा जिल्ला अदालतमा परेका दुईवटा बेग्लाबेग्लै मुद्दामा निर्माण यथास्थितिमा राख्न अदालतले अन्तरिम आदेश दिएको छ । 

काम अघि बढाउन नपाएपछि ठेकेदारले डिभिजन सडक कार्यालय हेटौंडालाई पुल हस्तान्तरणका लागि पत्र लेखेको छ । तर, सडक कार्यालयले अझैसम्म निर्णय दिन सकेको छैन । 

डिभिजन सडक कार्यालयका प्रमुख सुमन योगेशले अदालतको अन्तरिम आदेश आएकाले काम अघि बढाउन नमिलेको बताए । 

पप्पु कन्सट्रक्सनसँग साझेदारीमा पुल निर्माणमा सहभागी समा कन्स्ट्रक्सनका सञ्चालक जहुर आलमले विवाद गर्ने स्थानीयलाई सुरुमै ६ लाख रुपैयाँ दिएर काम अघि बढाएको बताए । अहिले आएर सडक निर्माण गर्न लाग्दा स्थानीयले बखेडा झिकेको उनले दावी गरे । 

पुल निर्माणको ठेक्का २०७१ असारमा पप्पु÷समा जेभीले लिएका थिए । पुल निर्माण कार्य सम्पन्न भएपनि दुवैतर्फ पुललाई जोड्ने ८ सय मिटर बाटो बनाउन बाँकी रहेको आलमले बताए । 

सडकले मुआब्जा नमिलाउँदा बाटो निर्माण अवरुद्ध भएको आलमको भनाइ छ । ‘पटकपटक पत्राचार गरिसक्यौं । सडकले न काम गर्ने ठाउँ दिन्छ, न पुल जिम्मा लिन्छ,’ उनले भने । विभागकै कमजारीले ढिलाई भइरहेको यो पुललाई सडकले उल्टै रुग्ण योजनामा राखेको आरोप निर्माण व्यवसायीको छ । 

डिभिजन प्रमुख योगेशले यो ठेक्कामा ठेकेदारको कमजोरी नदेखिएकाले रुग्ण ठेक्कामा राख्न नमिल्ने बताए । विभागसँग मुआब्जा दिने बजेट नभएकाले स्थानीय तहलाई समन्वय गर्न पत्र लेखिएको पनि उनले बताए । 

प्रमुख योगेशले भने, ‘महानगरले मिलाउन नसके पुल यथास्थितिमै महानगरलाई हस्तान्तरण गर्छौंं ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप