शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘तमोर–मेवा जलविद्युत् आयोजना निर्माण असफल बनाउने चलखेल’

शनिबार, ०९ चैत २०७५, २० : ३२
शनिबार, ०९ चैत २०७५

ताप्लेजुङ । निर्माणको अन्तिम तयारीमा रहेको तमोर–मेवा जलविद्युत् आयोजनालाई असफल बनाउन विभिन्न चलखेल भएको स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले जनाएको छ । 

कम्पनीको नाममा कायम भएको सर्वेक्षण क्षेत्र काटेर सरकारले बेइमान गर्न खोजेको सो कम्पनीको आरोप छ । 

शक्ति र पैसाको भरमा विद्युत् नियमावलीविपरीत सर्वेक्षण भएको क्षेत्र काटेर युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालिलाई दिएको स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले बताए । 

विसं २०६२ देखि आफ्नो कम्पनीले पाएको क्षेत्रलाई सूचना र सहमतिबिना नै विसं २०७४ असार ९ गते श्रीगङ्गादेखि तुप्रुकसम्मको दुई किलोमिटर साविक सर्वेक्षण क्षेत्र काटेर युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालिलाई दिएको एक प्रेश विज्ञप्तिमार्फत जनाइएको छ । 

विद्युत् नियमावली २०५० मा दोहोरो पर्ने गरी सर्वेक्षण अनुमितिपत्र नदिइने उल्लेख छ । न्यायिक क्षेत्रलेसमेत नियोजित व्यवहार देखाएको अध्यक्ष लिम्बूले दाबी गरे । 

‘विद्युत् नियमावली २०५० को नियम ११ र विद्युत् निर्देशिका विसं २०७३ विपरीत सर्वेक्षण क्षेत्र काटिएपछि न्यायका लागि उच्च अदालतमा रिट दर्ता ग¥र्यौं, तर २० महीनापछि रिट खारेजको पैसला भयो, सबै पक्ष हाम्रो आयोजनामाथि नियोजित ढङ्गले खनिए, अब उच्च अदालतमा रिट हाल्छौँ’ लिम्बूले भने । 

लिम्बूका अनुसार श्रीगङ्गादेखि गुहेलीसम्मको क्षेत्र निर्धारण गरी तमोर–मेवा जलविद्युत् आयोजना निर्माण गर्न सरकारले विसं २०६२ मा विद्युत् उत्पादन सर्वेक्षण अनुमितपत्र जारी गरेको थियो । 

सोहीअनुरुप काम हुँदाहुँदै विभिन्न अवरोध गर्ने कार्य भएको उनको आरोप छ । तमोर मेवा जलविद्युत् आयोजनाअन्तर्गत मेवा जलविद्युत् आयोजना (३० मेगावाट) र तमोर आयोजना (१२८ मेगावाट) पर्छन् । 

विद्युत् विकास विभागले भने उक्त आयोजनालाई कुनै असर नपर्ने गरी स्रोतको अधिकतम उपयोगिताका आधारमा केही भाग काटिएको जनाएको छ । 

‘स्रोतको अधिकतम उपयोगिताका आधारमा आयोजनालाई असर नपर्ने गरी केही भाग काटिएको हुन सक्छ, तर आयोजनालाई असर हुने गरी सरकारले त्यस्तो कार्य गर्दैन’, विद्युत् विकास विभागका सूचना अधिकारी निषा रिजालले भने ।  दुवै आयोजनालाई अनुकूल हुनेगरी मात्रै केही क्षेत्र काटिएको हुनसक्ने उनको भनाइ छ । 

काटिएको क्षेत्र फिर्ताका लागि प्रयाससँगै १२८ मेगावाट क्षमताको आयोजना निर्माणका लागि भने अन्तिम तयारी जुटेको लिम्बूले बताएका छन् । 

तुप्रुकदेखि गुहेलीसम्मको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनामा कुनै रोकावट नभएकाले उक्त आयोजना निर्माणको चरणमा पुगेको लिम्बूको भनाइ छ । 

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन ऊर्जा मन्त्रालयद्वारा स्वीकृत भई अन्तिम स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा सिफारिश भएको र उक्त मन्त्रालयलेसमेत गत फागुन २० गते ३० दिने सार्वजनिक सूचना प्रकाशन गरेको बताइएको छ । 

यस्तै गत साउन ३१ गते विद्युत् बिक्रीका लागि प्राधिकरणसँग सम्झौतासमेत भएको छ । उत्पादित विद्युत् हाङ्पाङ सबस्टेशन हुँदै कोशी करिडोर प्रशारण लाइनमा जोडिनेछ । 

आयोजना निर्माणका लागि लाग्ने कूल रु २६ अर्ब १२ करोड लागतमध्ये कुमारी बैंक लिमिटेडले ७५ प्रतिशत ऋण उपलब्ध गराउने र बाँकी समुदायको लगानी हुने अध्यक्ष लिम्बूको भनाइ छ । 

वित्तीय व्यवस्थापनका लागि आवश्यक काम भइसकेको र विद्युत् उत्पादन अनुमतिपत्रका लागिसमेत विद्युत् विकास विभागमार्फत ऊर्जा मन्त्रालयमा दर्खास्त दिइसकेकाले उक्त अनुमतिपत्र प्राप्त हुनासाथै काम शुरु हुने बताइएको छ । 

विसं २०७६ देखि काम शुरु गरी विसं २०८१/०८२ मा सम्पन्न गर्ने स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको लक्ष्य छ । 

ताप्लेजुङ सदरमुकाम फुङलिङ, आठराइ त्रिवेणी गाउँपालिकाको चाँगे, हाङ्पाङ, फूलबारी, मिक्वा खोला गाउँपालिकाको लिवाङ, खोक्लिङ र मेरिङदेनको लिङ्तेप, खाम्लुङ, सान्थाक्रा आयोजनाको प्रभावित क्षेत्र हुन् । 

फुङलिङ भने मूल्य प्रभावित क्षेत्रमा पर्छ । मेवा खोला र तमोर नदीको पानीलाई एकीकृत गरी झण्डै नौ किलोमिटर दूरीको सुरुङमार्फत् विद्युत्गृहसम्म पु¥याउने योजना रहेको छ । फुङलिङ नगरपालिका– ३ मा पर्ने आगामी दिनमा विद्युत्गृह रहनेछ । 

आयोजना सञ्चालनका लागि पहिलोपटक विसं २०६४ मा सम्भाव्यता अध्ययन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप