शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चैत ९ गतेः ५ नम्बर प्रदेश हेडलाइन कहाँ, के भयो ?

शनिबार, ०९ चैत २०७५, १९ : ३८
शनिबार, ०९ चैत २०७५

प्रदेश ५ मा यस्तो छ एसईई परीक्षाको तयारी, कुन जिल्लाबाट कति विद्यार्थी सहभागी ?
यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई भोलि आइतबारबाट देशभर सञ्चालन हुँदैछ । चैत २१ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुँदैछन् । 

तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा छन् । यस वर्षको माध्यमिक शिक्षा परिक्षा एसइई सम्पन्न गर्नका लागि प्रदेश पाँचमा झण्डै तीन करोड बजेटको ब्यवस्था गरिएको छ ।

प्रदेशका सबै १२ वटा जिल्लाका लागि  २ करोड ९५ लाख ६७ हजार ५ सय २५ रुपैयाँ निकासा भएको प्रदेश पाँचको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले जनाएको छ । यो रकम जिल्ला जिल्लामा पठाइएको छ ।

कुन जिल्लाका कति विद्यार्थी ?

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै विद्यार्थी रुपन्देहीबाट १७ हजार २ सय र सबैभन्दा कम पूर्वी रुकुमबाट १ हजार १ सय ७३ जना सहभागि हुँदैछन् । 

प्रदेश पाँचको सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका निर्देशक जीतबहादुर शाहकाअनुसार रुपन्देहीबाट १७ हजार २ सय, दाङबाट ११ हजार २ सय ७६, बाँकेबाट ८ हजार १ सय ७४, बर्दियाबाट ७ हजार ८ सय ५५, कपिलवस्तुबाट ७ हजार १ सय १५ जना रहेका छन् । 

त्यस्तै पश्चिम नवलपरासीबाट ५ हजार ७ सय ७० विद्यार्थी सहभागि हुँदैछन् । त्यस्तै पाल्पाबाट ५ हजार ५०, गुल्मीबाट ४ हजार ९ सय ११, रोल्पाबाट ३ हजार ६ सय ७३, अर्घाखाँचीबाट ३ हजार ५ सय ९४ , प्यूठानबाट २ हजार ८ सय ६६ र पूर्वी रुकुमबाट १ हजार १ सय ७३ जना सहभागि हुँदैछन् ।

यीमध्ये प्राविधिकतर्फका २ हजार ३९ विद्यार्थी रहेका छन् । प्रदेश पाँचमा एसईई परीक्षाका लागि झण्डै १२ हजार जनशक्ति परिचालन गरिनेछ ।

मन्त्रालयका प्रवक्ता मित्रमणी खनालका अनुसार केन्द्राध्यक्ष ३ सय २३, सहायक केन्द्राध्यक्ष ३ सय ९९, निरीक्षक ३ हजार ८ सय २६, सहायक कर्मचारी २ हजार ३ सय ४० जना खटाइने भएको छ । त्यस्तै सुरक्षाकर्मी ४ हजार ८ सय ४५ जना परिचालन गरिने भएको छ  ।

देशमा विध्वंस हुन नदिने हो भने वार्ता गर्नुपर्छ : नेता खाँण
नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले सरकारले पेस गरेको राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धि विधेयकलाई कुनै पनि हालतमा सदनबाट पास हुन नदिने बताएका छन् । 

संविधान विपरित प्रधानमन्त्रीले सेनालाई आफू अनुकुल परिचालन गर्ने गरी विधेयक निर्माण गरेकाले काँग्रेसले त्यसलाई कुनैपनि हालतमा पास हुन नदिने बताएका छन् । 

नेपाली काँग्रेस तिलोत्तमा–८ ले रुपन्देहीको सुर्यपुरामा आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै पूर्वरक्षामन्त्री समेत रहेका नेता खाँणले राष्ट्रिय अखण्डता र स्वाधिनता जोगाउन महत्वपुर्ण योगदान गरेको नेपाली सेनालाई कमजोर पार्न खोजिए सदन र सडकबाट एकैसाथ आन्दोलन गर्ने बताए । 

प्रधानमन्त्रीले भएभरको शक्ति आफूसँग राखेर राष्ट्रियतालाई कमजोर पार्न खोजेको आरोप लगाउँदै उनले भने, ‘सबैलाइ कमजोर पारेर जे मन लाग्यो त्यही गर्न पाइदैँन र त्यसो गर्न पनि दिदैँनौं ।’

सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर देशमा द्धन्द्ध र मुडभेठ निम्त्याएको टिप्पणी गरे । एउटा शक्तिलाई उत्तेजित बनाएर बमबारी गराउन, काटमार र हिंसा मच्चाउनका लागि प्रतिबन्धको नीति लिइएको आरोप नेता खाँणले लगाए । ‘देशमा विध्वंस र हिंसा हुन नदिने हो भने वार्ता र संवाद गर्नुपर्छ, निषेध होइन,’ उनले भने ।

कपिलवस्तु प्रहरीद्वारा पेस्तोलसहित एक युवा पक्राउ
शनिवार कपिलवस्तुको प्रहरीले पेस्तोलसहित एक युवालाई पक्राउ गरेको छ  । पक्राउ पर्नेमा २४ वर्षीय रिजुवान मुसालमान रहेका छन् । 

शिवराज नगरपालिका–४ चेनईका मुसालमानको घर खानतलासी गर्दा एक थान कटुवा पेस्तोल र एक थान म्यागजिन बरामद गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए ।  

घरमा हतियार राखेको बिशेष सुराकीको आधारमा उनको घर खानतलासी गरिएको र उनी कुन समूहमा संलग्न छन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

तीन महिनादेखि वडाध्यक्ष बेपत्ता
अर्घाखाँचीको मालारानी गाउँपालिका – २ का वडाध्यक्ष बेपत्ता भएको तीन महिना बितिसक्दा समेत उनको अवस्था पत्ता लाग्न सकेको छैन ।

पुस २ गते बिहान करिब ७ बजेको समयमा डाँडाकटेरीस्थित घरबाट निस्केका मालारानी–२ का वडाध्यक्ष विनोद भनेर परिचित विष्णुप्रसाद भुसाल हालसम्म बेपत्ता भएका हुन् ।

वडाध्यक्षका दाजु जीवलाल भुसालले अहिलेसम्म भाई भेटिन नसकेको भन्दै राज्यले पनि खोजीमा ध्यान नदिएको आरोप लगाए ।

उनका अनुसार पुस सोही दिन विहान वडाध्यक्ष भुसाल घरबाट आफ्नो लु१ब १७४५ नम्बरको मोटरसाइकल सर्भिसिङ गर्न जान्छु भन्दै हिँडेका थिए । सन्धिखर्कको  गुन्टेखोलामा रहेको यामाहा  स्वरुममा लगेर मोटरसाइकल पनि छाडेका थिए । 

प्रहरीका अनुसार त्यसदिन उनी सन्धिखर्कको बगैंचामा रहेको सिसी क्यामेरामा देखिएका थिए । दोस्रो दिन बिहान बुटवल अस्पताल लाइन फुटपाथमा व्यापार गर्ने उनकै छिमेकी अस्मीता पाण्डेले उनलाई देखेकी थिइन् । 

एसईई परीक्षा दिने तयारीमा रहेका विद्यार्थी चोरीको आरोपमा पक्राउ
एसईई परीक्षाको तयारीमा रहेका एक विद्यार्थी शनिबार चोरीको आरोपमा पक्राउ परेका छन् । एसईसी परीक्षा भोलि आइतबारदेखि सुरु हुँदैछ ।

विभिन्न स्थानमा चोरी गरेको ओरोपमा बाग्लुङ्गको धम्जा प्रहरी चौकीले काठेखोला– ६ सैरेनी निवासी १५ वर्षीय बुद्वि सुनारलाई पक्राउ गरेको हो ।  

प्रहरीले सोही गाउँपालिका ५ देउराली निवासी २७ वर्षीय हर्कबहादुर सुनार (मीठु) लाई पनि पक्राउ गरेको छ ।

बुद्वि बिहुस्थित भीमसेन माविबाट एसईई परीक्षा दिने तयारीमा जुटेका थिए ।  

धम्जा चौकी इन्जार्ज प्रहरी सहाय निरीक्षक गजेन्द्रबहादुर थापाका अनुसार उनीहरुविरुद्ध काठेखोला गाउँपालिका–६ , बिहुहटियाका छविलाल कँडेलको पसल फोडेर ५२ हजार मूल्य बराबरको रिचार्ज कार्ड र ५ हजार नगद चोरी गरेको आरोप लागेको छ ।  

त्यस्तै उनीहरुविरुद्व इनारपानीका खिमानन्द कँडेलको पनि ५१ हजार नगद चोरी गरेको आरोप लागेको छ  । कँडेलको जाहेरीपरे पछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।  

थापाले थप अनुसन्धानका लागि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाग्लुङ्ग पठाइएको जानकारी दिए ।  

दाङमा भएको दुर्घटनामा एकको मृत्यु
शनिवार बिहान दाङ्गको तुल्सीपुर उप–महानगर–२ को नन्दगाउँस्थित जिपको ठक्करबाट एकजना मोटरसाइकल चालकको ज्यान गएको छ ।

तुल्सीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा१च ३४६ नम्वरको पिकपअप जिपले विपरित दिशा तर्फबाट आउँदै गरेको बा९७प ५८६२ नम्वरको मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकल चालक दंगीशरण गाउँपालिका–६ थापागाउँका १८ वर्षीय गोरख चौथरीको ज्यान गएको हो ।

उनको घटना स्थलमै ज्यान गएको र जिप नियन्त्रणमा लिएपनि नाम नखुलेका चालक फरार रहेकोले खोजी कार्य तिब्र पारिएको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए । 

मृतकको शव राप्ती प्रादेशिक अस्पतालमा राखिएको शाहले बताए ।

मेलमिलापबाटै एक सय ७० मुद्दाको निरुपण
बुटवल उपमहानगरपालिकाले अधिकांश विवादहरु मेलमिलापको माध्यमबााटै समाधान गर्दै आएको बताइएको छ ।

वडातहमा पनि मेलमिलापकै माध्यमबाट विवादको निरुपण गरिँदै आएको छ । उपमहानगरको न्यायीयक समितिको कार्यविधि बन्नुअघि दे िनै मेलमिलापका माध्यमबाट विवाद समाधान गर्दै आएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

समितिका सदस्यसचिव अर्यालकाअनुसार हालसम्म एक सय ७० वटा विवादलाई मेलमिलापबाटै समाधान गरिएको छ ।

सम्बन्ध विच्छेद, घरेलु हिंसा, घर बहाल सम्झौता, आफ्नो निजी जग्गामा अरुले संरचना बनाएको तथा सिमाना विवादका मुद्दाहरु न्यायीक समितिमा आएका थिए । 

बुटवलले मुलुकमै पहिलो व्यवस्थित इजलाशसमेत निर्माण गरेर न्याय सम्पादनका कामहरु गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप