शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वरिष्ठ कलाकार मोहन निरौलाको जीवन : त्यो अभिव्यक्तिले म भूमिगत हुन बाध्य भएँ

शनिबार, ०९ चैत २०७५, १० : ३५
शनिबार, ०९ चैत २०७५

नेपाली फिल्म क्षेत्रका वरिष्ठ कलाकार तथा निर्देशक हुन् मोहन निरौला । उनले करिब ४ दशक यो क्षेत्रमा बिताइसकेका छन् । उनी अझै सक्रिय नै छन् । २०३७ सालमा विराटनगरमा प्रदर्शन भएको नाटक ‘दुई लास एक चिहान’बाट अभिनयमा होमिएका उनले २०४० निर्माण भएको फिल्म ‘एमसीसी’बाट फिल्म अभिनय सुरु गरेका थिए । 

‘पुकार’बाट फिल्म निर्देशनमा होमिएका उनी पछिल्लो समय लेखक, निर्देशक र कलाकारको रूपमा समेत चिनिदै आएका छन् । सुरुमा जनकपुर क्याम्पसमा साइन्स पढ्न भर्ना भए पनि त्यो छाडेर  विराटनगरबाट कर्मसमा डिप्लोमा गरेका उनले २५० बढी नाटक अभिनय गरेका छन् । फिल्मको सङ्ख्या भने एक सयभन्दा बढी छ । 

पछिल्लो समयको ‘जन्मभूमिी’ सहित ३ फिल्म निर्देशन गरेका उनी सानो पर्दाका निकै व्यस्त लेखक कलाकार निर्देशक पनि हुन् । पछिल्लो समय पशु कल्याणका लागि ‘एनिमल नेपाल’सँगको सहकार्यमा एक ‘डकुमेन्ट्री’ र ‘नाटक’ तयारी गरिरहेका निरौलासँग रातोपाटीको ‘मेरो जीवन’ स्तम्भका लागि कुवेर गिरीले गरेको कुराकानी :


 
मेरो खाना
खानामा दालभात, तरकारी नै मनपर्छ । गुन्द्रुक पनि मीठो लाग्छ । शरीरमा प्रोब्लम हुने भएकाले जे पायो त्यही खान्न म । मन नपर्ने खानामा मासु पर्छ । मासु म कहिल्यै खान्न । कामको सिलसिलामा बाहिर निस्किँदा होटल, रेस्टुरेन्टमा धेरै खानैपर्ने हुन्छ ।
त्यो बेला म जे पाइन्छ त्यही खान्छु । तर चिल्लो धेरै खान्न । परिवारसँग पहिले रेस्टुरेन्ट जान्थे । अहिले जान्न । पकाउन खासै आउँदैन । मैले पकाउने भनेको कहिलेकाहीँ चिया मात्र हो । नत्र सधैँ पकाएर श्रीमतीले नै खुहाउँछिन् ।

मेरो पोसाक
पोसाकमा शौखिन छैन । पाइन्ट सर्ट, कुर्था सुरुवाल लगाउछु । गर्मीमा इस्टकोट, हाफ ज्याकेट पनि मनपर्छ । प्रायः मानिस सुटमा टाई ढल्काएर राम्रो भएर हिँड्छन् । तर मलाई त्यसरी हिँड्न कहिल्यै मन परेन । टाई मैले विवाहको बेला लगाएको थिए । त्यसपछि एक दुई कार्यक्रम र फिल्म अभिनय सिलसिलामा लगाएँ होला । 
कालो, रातो, पहेँल मेरो मनपर्ने पहिरन कलर । म साधारण मानिस हुँ । त्यसैले सिम्पल पहिरन मन रुचाउँछु । मेरो विचारमा पहिरन लाज ढाक्न लगाउने हो । म फेसनदार पहिले पनि थिइनँ र अहिले पनि छुइनँ ।
मेरो फिटनेस
योगा, ध्यान, जप गर्छु । पहिले ध्यान ७, ८ घण्टासम्म पनि गर्थें । बीचमा पायल्स भन्ने रोगले दुःख दियो । त्यसपछि अहिले एक डेढ घण्टासम्म मात्र गर्छु । योगाको विभिन्न आइटमहरु नियमित गर्छु । 

मेरो अध्ययन
अध्ययन गर्न मनपर्छ । विशेष पुस्तक पाएँ भने पढ्छु । अहिले एक दुईवटा प्रोजेक्ट गरिरहेको छु । त्यसैले कुनै पनि पुस्तक पढ्न भ्याएको छैन । पत्रपत्रिका र समाचार नियमित पढ्छु । म धार्मिक पुस्तक बढी पढ्न रुचाउँछु । धार्मिकमा पनि बढी ज्ञानले भरिएको पुस्तक मन पर्छ । संस्कृत नआउने भएकाले वेद अध्ययन गरेको छैन । नेपाली पाए भने चण्डीहरु खोजी खोजी पढ्छु । 


 
मेरो घुमफिर
पहिले त धेरै घुम्थेँ । अहिले भने कमी आएको छ । विदेश कहिल्यै जान्नँ । देशभित्र भने घुम्छु । स्वदेशका ४४, ४५ जिल्ला पुगिसकेँ । विदेश त जान्न नै भेनेको छु । खप्तड, स्वर्गद्वारी, मानसरोवर पुग्न मन लागेको छ । प्राकृतिक सौन्दर्यले भरिएको, मन्दिर भएका शान्त ठाउँ घुम्न मनपर्छ । 

मेरो फुर्सद
फुर्सद मानिस आफैले निकाल्ने हो, हुने हैन । फुर्सद छु भनेर फिल गरेर काम नगरी बस्यो भने फुर्सदै फुर्सदन हुन्छ । फुर्सद भयो भने साथीभाइ भेटघाट गर्छु,  समाचार हेर्छु । धार्मिक पुस्तक पढ्छु ।

मेरो खेलकुद
खेलकुदमा खासै रुचि छैन । स्कुले जीवनमा अलिअलि फुटबल खेल्थेँ । अहिले कहिलेकाहीँ टिभीमा गेम हेर्ने मात्र हो । टिभीमा पनि फुटबल हेर्छु । क्रिकेट खेल बुझ्दिनँ ।

मेरो मोबाइल
अहिले मसँग एउटा मात्र मोबाइल छ । त्यो पनि लेटेस्ट भर्सनको आइफोन । यो फेसनका लागि भन्दा पनि आवश्यकताका लागि बोकेको हुँ । साथीभाइ र कामका लागि कुराकानी गर्न सजिलो हुन्छ भनेर बोकेको हो । फिल्म हेर्न, फेसबुक चलाउन, समाचार हेर्नका लागि मोबाइल नै सजिलो भएको छ । 

मोबाइल धेरै फेर्दिनँ । सुरुमा नोकिया बोकेको थिएँ । यसअगाडि पनि आइफोन नै बोकेको थिए । त्यो बिग्रिएर अहिलेको बोन्न थालेको हो । काम चलून् जेलसम्म मोबाइल फेर्दिनँ । मैले पहिलेदेखि नै गिफ्टका मोबाइल चलाउँदै आएको छु । गिफ्ट पनि परका व्यक्तिले दिएका होइनन् । परिवारभित्रैकाले दिने गरेका छन् । 

मेरो टिभी
टिभी कहिलेकाहीँ हेर्छु । पहिले धेरै हेर्थें । अहिले कम भएको छ । प्रायः बेलुका हेर्छु । टिभीमा बढी हेर्ने भनेको समाचार हो । त्यसपछि नेपाली सिरियल हेर्छु । त्यो पनि मौका पर्यो भने वा आफैले लेखेको वा खेलेको भयो भने । मेरो घरमा २२ इन्चको नर्मल टिभी छ । 


 
मेरो चलचित्र
प्रायः चलचित्र हेरेको हुन्छु । पहिले हलमै गएर हेर्ने । ०६३, ०६४ पछि नेपालमा आयोजना भएका धेरै फिल्म अवार्डमा म जुरी बसिरहेको छु । त्यसका कारणले सबै फिल्म हेर्न थालेँ । गतवर्षको अवार्डमा जुरी बस्दा जुन फिल्म हेरेको थिएँ त्यसपछि अहिले हेरेको छैन । फेरि अवार्डहरु आयोजना हुन थालेका छन् । अब त सबै हेर्छु । 
म आफै पनि कलाकार, लेखक र निर्देशक भएकाले कलाक्षेत्रका धेरैसँग चिनजान छ । चलचित्रको आरोहअबरोहसँग पनि पूरै परिचित छु । 

मेरो रोग
अहिलेसम्म ठूलो रोग त्यस्तो केही छैन । ग्यास्टिकले कहिलेकाही सताउँछ । केही अगाडि पायल्सको समस्या थियो । उपचारपछि त्यो ठीक भयो । उमेर ६० नागेका कारणले होला अलि अलि प्रेसर छ । नजिकको भतिजो डाक्टर छ । उसले प्रेसरको औषधि खान सुझाएकाले नियमित खाँदै छु । पहिले समय समयमा होलबडी चेकअप गर्थें । अहिले धेरै भयो, गरेको छैन । 

मेरो भाषाशैली
आफूभन्दा सानो होस् वा ठूलो, सबैसँग बोल्दा शिष्टताको भाषा नै प्रयोग गरेको मनपर्छ । त्यसपछि प्रष्ट बोलेको मनपर्छ । म पनि भरसक शिष्ट हुन खोज्छु । मैले चाकडी कहिल्यै गरिनँ र गर्दैगर्दिनँ पनि । चाकडी नगरी म अहिलेको अवस्थामा छु । चाकडी अरुले गरेको पनि मन पर्दैन । 

मेरो प्रेम 
प्रेम मानिसको जीवनको लगाम हो । मेरो त विवाह अगाडि र विवाह पछाडि दुवै अवस्थामा प्रेम भएको थियो । त्यो प्रेम मैले सत्संगको रूपमा लिएँ । 
कहिलेकाहीँ घरमा श्रीमतीसँग पनि सेयर गर्न नसकिने कुरा हुन्छ । त्यो अवस्थामा प्रेमिका नै काम लाग्छ । त्यस्तो कुरा उनीसँग नै सेयर गर्न मिल्छ । प्रेमिकालाई घरमै भित्र्याउनु नै पर्छ भन्ने होइन । असल मित्रका रूपमा लिन सकिन्छ । 
विवाहपछि पनि मेरो बाहिर प्रेम बस्यो । घरै भाँडिने किसिमको प्रेम भने कहिल्यै बसेन । प्रेम गर्नेले मसँग पनि ज्ञान पाउँछ । मैले पनि उनीसँग ज्ञान लिन्छु । कार्यगत एकता पनि हुन्छ । 
   
मेरो मापसे 
मापसे कहिल्यै गर्दिनँ । माछामासु र मापसे कहिल्यै खान्न । पहिले पनि खाँदिनँ । धूमपानमा भने लत छ । 

मेरो सङ्गीत
गीत–सङ्गीत त जीवनको अभिन्न पाटो हो । ट्रयाडिसनल टाइप सङ्गीत मनपर्छ । धेरै सुन्ने गरेकी छु । गाउन भने जान्दिनँ । मेरो विचारमा गीतसङ्गीत मन नपराउने प्राणी सायदै होलान् । मानिसदेखि जनावर र पन्छीसम्मले यो मन पराउँछन् ।
गीत सङ्गीतमा एउटा त्यस्तो प्रवाह हुन्छ जसले प्राणीलाई तरङ्गित गराउँछ । नारायण गोपाल, प्रेमध्वाज प्रधान, तारादेवीलगायतका गीत सङ्गीत म धेरै सुन्छु । 

मेरो खुसी 
खुसी मानिसको अनुभूति हो । खुसी र दुःख मानिस आफैले तयार गर्ने हो । आफू खुसी छु भन्ने ठान्ने हो भने जुनै बेला पनि खुसी हुन सकिन्छ ।
पीडा हुँदा पनि खुसी रहन सकिन्छ । अहिलेसम्म जीवनमा धेरै खुसी हुने अवसर पाएको छैन । म जहिले पनि खुसी छु । पीडा बोकेर कहिल्यै हिँड्दिनँ । ध्यान, जप, तप गर्दा एक पटक मसँग इनर्जी क्रिएट भएको थियो । त्यो समय अलिकति खुसी हो कि जस्तो भएको थिएँ । 
    
मेरो भूल
मानिस भएपछि भूल त हुन्छ नै । जस्तोसुकै ज्ञानी मानिसले पनि भूल गरेको हुन्छ । म त सामान्य मानिस हुँ । भूल त भएका होलान् । भूल नगरी सिकिन्न पनि । रमेश बुढाथोकी, कृष्ण मल्ल लगायतका केही मित्रलाई मैले विश्वास गरेँ ।

तर उनीहरुले मलाई घात गरे । ‘देशमा भएका नेताले भ्रष्टाचार बढाए  उनीहरुलाई गोली ठोक्नु पर्छ’ भन्ने अभिव्यक्ति २०५७ सालमा मैले दिएको थिएँ । त्यतिबेलाको देशको अवस्थालाई लिएर मैले दिएको अभिव्यक्तिका कारण म केही समय भूमिगतसमेत भएँ ।

सरकारले मानसिक टर्चर पनि दियो । त्यो बेला मेरो कुराले सडकदेखि सदनसम्म महत्त्व पायटो । सो समय मैले बोलेको कुरामा सबैले मनन गरेको भए अहिले देशको अवस्था यस्तो हुँदैन थियो । 

मेरो घर
अहिले बस्दै आएको सुनाकोठीको घर आफैले बनाएको हुँ । २०७२ मा बनाएको । अढाइ तले त्यो घर अहिलेको चलेको डिजाइनमा छ । यो बनाउँदा वास्तुशास्त्र खासै हेराएको छैन । आफ्नै हिसाबले बनाएको हो । यो घर निर्माणमा सवा करोड खर्च भएको छ । 

मेरो राशि
मेरो राशि धनु हो । ग्रह दशामा विश्वास लाग्छ । पहिले जोगी, महात्माहरुसँग धेरै सङ्गत हुन्थ्यो । अहिले छैन । अहिले म दशाको पिरेडमा छु । अझै ५, ७ वर्ष यो चल्छ, थाहा छ ।

मेरो सपना
आफ्नो जीवनमा वा समाजमा भोलि हुने कुरो कहिलेकाहीँ म अघिल्लो दिन सपनामा देख्छु । तर कसैलाई बताउँदिनँ । म महत्त्वकाङ्क्षा नभएको मानिस हँु । 
मेरो त्यस्तो सपना केही छैन । कलाकारिता क्षेत्रमा म ०३६ सालदेखि काम गरिरहेको छु । तर अहिलेसम्म पनि म पुख्र्यौली सम्पत्तिले चलेको छु । कलाकारितामा मेरो आम्दानी नभएको होइन छ, तर त्यो साथीभाइ र आफूलाई खर्च गर्दैमा सकिन्छ । 

मेरो मृत्यु
जन्मेपछि मर्नुपर्छ । प्रकृतिको नियम पनि हो यो । मानिस म मर्छु भनेर डराउँछ । तर त्यसमा डर केको ? मृत्यु हुने दिन कहिले आउँछ थाहा हुँदैन । मृत्य आएको कहिल्यै आभास नहोस् । मृत्युपछि पनि धेरैको साथ मिलोस् । यही छ चाहना ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप