बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चैत ८ गतेः ५ नम्बर प्रदेश हेडलाइन, कहाँ के भयो ?

शुक्रबार, ०८ चैत २०७५, २० : ३६
शुक्रबार, ०८ चैत २०७५

प्रधानमन्त्री ओली भन्छन्न्, ‘८० देखि ८५ साल ‘सुरुङ मार्गको युग’
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८० देखि ८५ सालको समय सुरुङ मार्गको युग हुने बताएका छन् ।

शुक्रबार बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ७५ देखि ८० सालसम्म सडक युग र ८० देखि ८५ सम्म सुरुङ मार्गको युग हुने बताएका हुन् । 

उनले देशमा विकासको युग सुरु भएकाले विपक्षीहरुले विरोध गर्दैमा नरोकिने दावी पनि गरे । उनले प्रतिपक्ष दल नेपाली काँग्रेसलाई विकासको काम धमाधम भइरहका बेला कसैले घर बसेर गफ गरेर केही नहुने बताए । 

उनले भने, ‘हामी काम गरिरहेका छौं, अरुले घर बसेर गफ गरेका छन् । काम गरेपछि विकास हुन्छ, त्यो कसैले रोकेर रोकिदैँन् ।’

प्रधानमन्त्रीले शिलान्यास गरेको बुटवल–नारायणगढ १ सय १४ किलोमिटर सडकको स्तरोन्नती आगामी साढे तीन वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ । 

बुटवलबाट नारायणगढसम्मको दूरी पार गर्न अहिले करिब तीन घण्टा लाग्छ । उक्त सडककोस्तरोन्नति गरेर चार लेन बनेपछि १ घण्टा ३० देखि एक घण्टा ५० मिनेटभित्रै छिचोल्न सकिनेछ ।

गुल्मीमा आगलागीबाट एक घर जलेर नष्ट
गुल्मी जिल्लाको रेसुंगा नगरपालिका–५ गोगनेमा आगलागी हँदा १ घर जलेर नष्ट भएको छ । गोगनमा रहेको गोपाल खनालको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र बहादुर खड्काका अनुसार आज दिँउसो करिब ३ बजेतिर आगलागी भई गोपाल खनालको घर जलेर पूर्ण रूपमा नष्ट भएको बताए । 

उनले जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली, रेसुंगा नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको बताए । 

खड्काका अनुसार आगलागी के कति कारणले भएको भन्ने बारेमा अनुसन्धान भइरहेको  र क्षतिको विवरण पनि आउन बाँकी रहेको छ ।

ब्राउन सुगरसहित दुईजना युवा पक्राउ
पाल्पाको तानसेनमा ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन् । तानसेन नगरपालिका – ४ हुलाकचोक मुख्य बजारमा ब्राउन सुगरसहित दुई युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रुपन्देही तानसेन नगरपालिका –४  मा डेरा गरी बस्ने २० वर्षीय सहाबुद्दिन नाँउले र तानसेन नगरपालिका – ५ बस्ने  २४ वर्षीय  मोहमद मिँयासँग लागू औषध ब्राउन सुगर खरिद गरी बोकी हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

तानसेनमा यसअघि पनि युवाहरु पक्राउ पर्दै आएका छन् । नजिकको सोनौली भारतबाट लागुऔषध ल्याउने र जिल्लाका विभिन्न स्थानमा बिक्री तथा सेवन गर्ने गरेको प्रहरीले सुराकी पाएपछि उनीहरु सुराकीको आधारमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलीले निज सहाबुद्दिन नाउँको शरीर खानतलासी गर्दा लागुऔषध ब्राउन सुगर जस्तो चिज वस्तु २६ मिलिग्राम, नेपाली नगद एक हजार पाँच सय बरामद गरेको छ । 

यसैगरी सोही दिन मोहमद मियाँलाई समेत पक्राउ गरिएको प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिए ।

खोलाको पानीको मूल्य घट्यो, प्रतिलिटर एक रुपैयाँ मात्रै !
पिउने पानीको अभावमा खोलाको पानी प्रतिलिटर तीनदेखि चार रुपैयाँ सम्ममा किन्न बाध्य गुल्मीको मुसिकोट नगरपालिका ३ र ४  साबिक बडागाउँका जनतालाई अहिले नगरपालिकाले व्यवस्थापन गरि प्रतिलिटर एक रुपैयाँमा पानी उपलब्ध गराउन थालेको छ ।

वडा नम्वर ३ का वडाध्यक्ष कर्णध्वज जिसी खानेपानीको समस्या भोग्दै आएका जनतालाई थोरै भएपनि राहत दिने उद्देश्यले नगरपालिकाले नै ट्याक्टरको भाडा तिरीदिने र अन्य आवश्यक खर्च पनि उपलब्ध गराएर हाल प्रतिलिटर एक रुपैयाँ पानी उपलब्ध गराउँदै आएको बताए । 

‘ठुलाचौर, गोहडा,  मैदान , ठुलापोखरालगायतका गाउँवासी जनप्रतिनिधि नहुनु अघिसम्म तल खोलाको पानी ट्याङकीमा भरेर ट्याक्टरमा ओसार्दै किनबेच गर्न बाध्य थिए ।  त्यही खोलाको पानी प्रतिलिटर चार रुपैयाँ सम्म किनेर खान बाध्य थिए,’ उनले भने । 

उनले थपे, ‘जनतालाई थोरै भए पनि राहत पुराउने उद्देश्यका साथ अहिले नगरपालिकाले नै ट्याक्टरको  भाडा तिरी दिने र अन्य आवश्यक खर्च पनि उपलब्ध गराउन थालेको छ । अहिले प्रतिलिटर एक रुपैयाँ मात्रैमा उपलब्ध गराउन पाएकोमा सन्तोष लागेको छ ।’

रुपन्देही सुपर लिग उपाधिका लागि खुकुरी र शिवशक्ति भिड्ने
शिवशक्ति क्रिकेट क्लब भैरहवा र साविक विजेता लुम्बिनी खुकुरी क्लब बेलहिया सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

शुक्रबार सम्पन्न सेमिफाइनलमा शिवशक्तिले देवदह क्रिकेट युनिट देवदहलाई ५ विकेटले पराजित गर्दै फाइनल पुगेपछि उसले उपाधिका लागि खुकुरीसँग प्रतिस्पर्धा गर्ने भएको हो । उपाधिका लागि शनिबार प्रतिस्पर्धा हुनेछ ।

शुक्रबार भएको सेमिफाइनलमा जितका लागि देवदहबाट पाएको १ सय ८६ रनको लक्ष्य शिवशक्तिले निर्धारित ५० ओभरको खेलमा ३६.३ ओभरमा ५ विकेट क्षतिमा १ सय ८८ रन बनाउँदै पुरा गर्यो । 

उसका लागि कृष्ण कार्की र मनोज सुनारले नटआउट क्रमशः ६० र ४५ रनको योगदान गरे । यस्तै, सिद्धान्तराज शाहीले २४ रन बनाए । बलिङमा देवदहका प्रेम श्रेष्ठले २ तथा सुरज खड्काले १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको देवदहले ७ विकेट क्षतिमा १ सय ८५ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप