शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली भन्छन्ः ‘८० देखि ८५ साल ‘सुरुङ मार्गको युग’

शुक्रबार, ०८ चैत २०७५, १६ : ५६
शुक्रबार, ०८ चैत २०७५

बुटवल– प्रधानमन्त्री केपी शर्मा ओलीले २०८० देखि ८५ सालको समय सुरुङ मार्गको युग हुने बताएका छन् ।  शुक्रबार बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ७५ देखि ८० सालसम्म सडक युग र ८० देखि ८५ सम्म सुरुङ मार्गको युग हुने बताएका हुन् । उनले देशमा विकासको युग सुरु भएकाले विपक्षीहरुले विरोध गर्दैमा नरोकिने दावी गरे ।

उनले प्रतिपक्ष काँग्रेसलाई विकासको काम धमाधम भइरहका बेला कसैले घर बसेर गफ गरेर केही नहुने बताए । उनले भने, ‘हामी काम गरिरहेका छौ, अरुले घर बसेर गफ गरेका छन् । काम गरेपछि विकास हुन्छ, त्यो कसैले रोकेर रोकिदैन् ।’

प्रधानमन्त्रीले शिलान्यास गरेको बुटवल–नारायणगढ १ सय १४ किलोमिटर सडकको स्तरोन्नती आगामी साढे तीन वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ । बुटवलबाट नारायणगढसम्मको दूरी पार गर्न अहिले करिब तीन घण्टा लाग्छ । उक्त सडकको स्तरोन्नति गरेर चार लेन बनेपछि १ घण्टा ३० देखि एक घण्टा ५० मिनेटभित्रै छिचोल्न सकिनेछ ।

कार्यक्रममा नेकपा महासचिव बिष्णु पौडेलले समयमै काम सम्पन्न गर्न सवैको सहयोग आवश्यक रहेको बताए । उनले निमार्ण कम्पनीलाई तोकिएकै समयमा काम सक्नेगरी काम गर्न आग्रह समेत गरे ।   राजमार्गको १ हजार २७ किलोमिटर सडक खण्डमध्ये बुटवल–नारायणगढ १ सय १४ किलोमिटर सडक बस्तीमा ६ लेन र जंगलमा ४ लेनमा विस्तार गर्न थालिएको हो । सडक खण्ड राजमार्गको मध्य भागमा पर्छ । १ सय १४ किलोमिटरमध्ये २८ किलोमिटरमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेनसहितको हुनेछ । सडक एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बन्न लागेको हो । सडक विभाग आयोजना निर्देशनालय उपआयोजना निर्देशक सागर पौडेलले चाइना स्टेट कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको जानकारी दिए ।

बुटवलको नारायण सडकखण्डको इतिहास 
पूर्व पश्चिम महेन्द्र राजमार्गमा पर्ने नारायाणगढ बुटवल सडकखण्ड बेलायत सरकारको सहयोगमा निमार्ण भएको हो । २०१८ सालमा राजाले महेन्द्र पूर्व–पश्चिम महेन्द्र राजमार्ग बनाउँदा भारत, रुस र बेलायतको सहयोग लिएका थिए ।

इन्जिनियर जयलाल मरासेनीका अनुसार राजा महेन्द्रका पालामा निमार्ण भएको नारायणगढ बुटवल सडक खण्ड बेलायत सरकारले निर्माण गरेको लामो समयसम्म पनि मर्मत उसैले गरेको थियो । त्यसवेला सडकका डिभाइडर पनि बेलायती मोडलकै थिए । हाल यस सडकलाई जंगल क्षेत्रममा ६ लेन र बस्तीमा ४ लेन बनाउन लागिएको छ । दुवै प्याकेजको ठेक्का चाइना स्टेट कन्ट्रक्सनले पाएको छ । पहिलो खण्ड नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दोस्रो दाउन्ने बुटवल ४९ किलोमिटरमा सडकको स्तरोन्नति गरिने छ ।  

नेपालका पूर्वराजा महेन्द्र वीरविक्रम शाहले २०१८ सालमा नवलपरासीको गैंडाकोटमा यो राजमार्गको शिलान्यास गरेपछि ‘महेन्द्र राजमार्ग’ नामाकारण गरिएको थियो ।  देशमा गणतन्त्र आएपछि राजमार्गको ‘महेद्र’ नाम हटाएर ‘पूर्व–पश्चिम’ राजमार्ग कायम गरिएको छ । अहिले सडक आयोजनाको कूल लागत १५ अर्ब रूपैयाँ रहेको छ । जसमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ । बाँकी थप रकम नेपाल सरकारकै हुनेछ । 

सम्झौता अनुसार यो सडकको स्तरोन्नती २०८० साउन २२ गतेसम्म सकिसक्नुपर्ने छ । आयोजनाको ठेक्का गएको पुस ४ गते भएपनि विस्तारको औपचारिक काम चैत ८ बाट गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप