बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जाजरकोटमा कोदोको उत्पादन घट्यो

शुक्रबार, ०८ चैत २०७५, १६ : १०
शुक्रबार, ०८ चैत २०७५

–हेमन्त केसी 

जाजरकोट– आयातित खाद्यान्नमा परपर्दै जान थालेपछि जिल्लामा कोदो खेती लोप हुने स्थितिमा पुगेको छ ।  प्रशस्त मात्रामा कोदो फल्ने जमीन अहिले वनमाराले ढाकिएका छन् । कृषि योग्य जमीनमा कोदोको उत्पादन राम्रो भए पनि कृषकले हिजो आज खेती गर्न छाडेकाले जिल्लामा कोदो उत्पादन कम हुँदै गएको हो ।कोदो फल्ने ठाउँ बाँझो हुँदा अहिले बीउसम्म पाउन मुस्किल हुन थालेको छ । घरायसी प्रायोजनका लागि मात्र केहीले फाटफुट कोदो खेती गरेको पाइन्छ । 

कृषकले पहिलेजस्तो बिक्रीका लागि कोदो खेती गर्न छाड्दै गएका छन् । एक दशक पहिले जुनिचाँदे गाउँपालिका–५ लुहादहका कृषक भगवान् खड्काले आफ्ना सबै बारीमा कोदो लगाउने गर्थे । कोदोको उत्पादन पनि राम्रै हुन्थ्यो तर हिजो आज उनले यसको उत्पादन घटाउँदै लगेका छन् । ‘कोदो खेतीमै निर्भर भएर प्राय सबै कृषकले खेती गर्न छाडिसकेका छन्, हिजोआज बरु बाख्रापालन र तरकारीलगायत नगदेबाली र फलफूल खेतीतर्फ कृषक आकर्षित हुन थालेका छन्’, उनले भने । 

लुहादहलगायत गाउँका धेरै कृषकले पाखो बारीमा कोदो लगाएर राम्रै कमाइ गर्थे तर अहिले भने धेरैले कोदो लगाउन छाडिसकेका छन् । परम्परागत रूपमा गरिँदै आएको कोदो खेती जिल्लाका साविक दुई दर्जनभन्दा बढी गाउँका कृषकको मुख्य खाद्यान्न बाली थियो । 

औषधिका रूपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ । पहिला वर्षे खेतीका रूपमा लगाइने कोदो अहिले देख्नै मुस्किल पर्न थालेको छ । कृषकले विस्तारै कोदो खेती गर्न छाड्दै गएपछि जिल्लामा कोदो अभाव हुँदै गएको हो । कोदो अन्य बालीभन्दा स्वस्थकर भए पनि यसको आकर्षण भने घट्दै गएको छ । बढ्दो शहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमीन बाँझै छन् । 

थोरै लगानीमा उत्पादन बढी हुने भए पनि कोदोलाई पछिल्लो समयमा खाद्यान्नको रूपमा कम प्रयोग हुन लागेकाले पनि कोदो खेती लोप हुने अवस्थामा पुगेको नलगाड नगरपालिकाका किसान हरिबहादुर खत्रीले बताए । 

आफूले पहिले दश मुरीसम्म कोदो उत्पादन गरेकामा अहिले लगाउनै छाडेको जानकारी दिँदै उनले भने, ‘धेरै दुःख गर्न नपर्ने कोदो पाकेपछि घरमै खरीद गर्न व्यापारी आउँथे, दुई चार पैसा पनि हुन्थ्यो अहिले त कोदो लगाउने जमीन वनमाराले भरिन थालेको छ।’ 

परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा छ्यासम्यास बालीका रूपमा लगाइने कोदो प्रायजसो जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो तर हिजोआज खाद्यान्नको रूपमा भन्दा पनि मदिरा बनाउनका लागि मात्र कोदो प्रयोग गरिएका कारण बीउ नै हराउने अवस्थामा पुगेको सम्बद्ध कृषकहरूले बताए । 

गाउँघरमा हेपिएको खाद्यान्नको रूपमा लिइने कोदो अहिले शहर बजारतिर भने खोजीखोजी खान थालिएको छ । सडक सञ्जाल विस्तारसँगै तराईबाट पहाडमा चामल, गहुँलगायत अन्न भित्रिन थालेपछि कोदो, फापर, जौजस्ता पोषिलो स्थानीय अन्नप्रति आकर्षण घट्दै गएको हो । 

कोदोलाई किसानले महत्व नदिएका कारण यो लोप हुँदै गएको जिल्ला कृषि ज्ञान केन्द्रका जाजरकोटका प्रमुख चित्रबहादुर रोकायले बताए । जिल्लाको बारेकोट गाउँपालिका र जुनिचाँदे गाउँपालिकालाई कोदोको पकेट क्षेत्रका रुपमा लिइएपनि अहिले त्यहाँ उत्पादन कम हुने गरेको छ । 

जिल्लामा ३५ हजार ३२६ हेक्टर क्षेत्रफल कृषि योग्य क्षेत्रफल रहेकामा दुई हजार ५२५ हेक्टर जमीनमा कोदो खेती गरिने र त्यसबाट चार हजार ५२२ मेट्रिक टन कोदो उत्पादन हुने गर्दछ । उक्त केन्द्रकाअनुसार जिल्लामा उत्पादित खाद्यान्न मागभन्दा चार हजार १५३ मेट्रिक टनले कमी हुँदै आएको छ । 

खलो प्रथाले परिवार पाल्नै मुश्किल 

चार दशकदेखि फलामलाई आवश्यक तापक्रम दिएर निश्चित आकार दिई विभिन्न सामग्री बनाउँदै आउनुभएका नलगाड नगरपालिका–१० का ६१ वर्षीय खड्गबहादुर विश्वकर्मालाई यो पेशाबाट परिवार पाल्न नसक्दा समस्यामा परेका छन् । 

आफूले १५ वर्षको उमेरदेखि नै आरन चलाउन थालेको उनले बताए । फलामका भाडा बनाएबापत विश्वकर्मालाई स्थानीय बासिन्दाले प्रतिघर वर्षेनी चार पाथी अन्न दिँदै आए पनि यसबाट परिवार पाल्न मुस्किल हुने गरेको विश्वकर्माको भनाइ थियो । 

त्यस्तै नलगाड नगरपालिका–१३ बायकाँडाका ५५ वर्षीय प्रतिलाल विक पनि परम्परागत आरन व्यवसायबाटै भएको आम्दानीले सात जना परिवारको गुजारा चलाउँदै आएका छन् । कुशे गाउँपालिका–९, थानवडाका प्रदीप सुनारको पनि जीवन गुजाराको एउटै बाटो आरन मात्र छ । जिल्लामा आरन सञ्चालन गरेर जीवन गुजारा गर्ने परिवारको सङ्ख्या करीब १५० को हाराहारीमा छ । आरन व्यवसायमा दलित समुदायको बाहुल्यता छ । उनीहरू जग्गा जमीन तथा घरबासको अभावमा आरन व्यवसाय गर्न बाध्य भएका हुन्  । 

गाउँगाउँमा सञ्चालन भएका आरनको प्रवद्र्धन हुन सकेको छैन । परम्परगतरूपमा सञ्चालनमा आएका आरनमा फलामका भाँडावर्तन बनाइदिएबापत खलो उठाएर गुजारा चलाउँदै आएकोे नलगाड नगरपालिका– ८ का रङ्गे कामीले बताए । उनले फलामका भाँडावर्तन बनाइदिएबापत वर्षमा पाँच पाथी अन्न मात्र खलो पाउने गरेको बताए  । विष्टको घरबाट उठाएको खलोबाटै छाक टार्न मुस्किल भएको गुनासो गर्दै उनले भने, ‘घरबास छैन, खेती गर्ने जमीन एक टुक्रा पनि छैन ।’ 

यहाँका गाउँपिच्छे आरन छन् तर उक्त आरनलाइनै पेशाका रूपमा अँगाल्दै आएका व्यक्तिको जीवनस्तर माथि उठेको पाइँदैन । दैनिक गुजारा चलाउन मात्र आरन सञ्चालन गर्दै आएको तर यसलाई आर्थिक वृद्धिको स्रोत बनाउन नसक्दा दलित युवाको यसप्रति आकर्षण बढ्न सकेको छैन । आरनमा काम गर्नेको जीवन गुणस्तरीय हुन नसकेको स्थानीयवासी हरिबहादुर खत्रीले बताए  । स्थानीय सरकारले आरन व्यवसाय व्यवस्थित गर्न विशेष योजना बनाउनुपर्ने फलामका काम गर्दै आएकाहरुले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप