शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धवलागिरिमा कुखुरा आयातमा रोक

शुक्रबार, ०८ चैत २०७५, १३ : ०५
शुक्रबार, ०८ चैत २०७५

पर्वत– कास्कीलगायतका छिमेकी जिल्लामा बर्डफ्लू देखिएपछि धवलागिरिमा कुखुरा आयातमा रोक लगाइएको छ । केही दिनयता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वतसहित साविक धवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत कुखुरा आयतमा रोक लगाइएको हो । 

पोखरा–बागलुङ सडकको धवलागिरि प्रवेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र पक्षीजन्य वस्तु आयातमा रोक लगाइएको कुश्मा नगरपालिकाका पशु चिकित्सक राम्जीप्रसाद पौडेलले जानकारी दिए । कास्की, चितवन, मकवानपुरलगायतका जिल्लामा कुखुरामा बर्डफ्लू भेटिएपछि यस क्षेत्रमा रोग फैलन नदिन आयातमा रोक लगाइएको पशु चिकित्सक पौडेलको भनाइ छ । 

डिमुवाबाट बुधबार मात्रै चितवन र पोखराबाट कुखुरा बोकेर आएका दुई गाडी सम्बन्धित क्षेत्रमा फिर्ता पठाइएको छ । कुश्मा र म्याग्दी तथा जोमसोमतर्फ बिक्रीका लागि लगिँदै गरेका कुखुरा नियन्त्रणमा लिएर फिर्ता पठाइएको हो । 
कास्कीमा बर्डफ्लू देखिएपछि पर्वतसहितका छिमेकी जिल्ला पनि उच्च जोखिममा रहेका छन् । छिमेकी जिल्लाबाट पक्षीजन्य उत्पादन बिक्रीका लागि ल्याउन केही समयका लागि नदिने र यस क्षेत्रमा समेत उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । 

पर्वत प्रशासन कार्यालयको सेवा नयाँ भवनबाट 

लामो समयदेखि पुरानो र जीर्ण भवनमा सञ्चालन हुँदै आएको जिल्ला प्रशासन कार्यालय पर्वतले अत्याधुनिक सेवासुविधासहितको नयाँ भवनबाट आफ्नो सेवा शुरु गरेको छ । झण्डै रु चार करोड लागतमा निर्माण सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयको नयाँ भवनबाट सबै सुविधा दिन थालिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । 

२५ कोठा रहेको उक्त भवन तीन वर्षमा निर्माण सम्पन्न भएको हो । वि.सं २०७३ भदौदेखि निर्माण शुरु भएको भवन साढे दुई वर्षको अवधिमा सकिएको हो । यसअघि विसं २०१८ मा स्थापना भएको पुरानो र कच्ची भवनमा कार्यालय सञ्चालन हुँदै आएको थियो । जीर्ण बनेको भवन वि.सं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले हल्लिएका कारण छाना चुहिने र भित्ता चर्किनेजस्ता समस्या देखिएका थिए । 

यसअघि जिल्ला बन कार्यालय पनि यसै वर्ष नयाँ भवनमा स्थानान्तरण भएको थियो भने जिल्लामा रहेका स्वास्थ्य, कृषि, मालपोत, नापी, शिक्षा, हुलाक, सिँचाइ, पशुसेवा, खानेपानी, भू तथा जलाधार, विद्युत्लगायतका कार्यालय लामो समयदेखि आफ्नै भवनमा सञ्चालनमा रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप