शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सीके राउतको ‘फ्ल्यासब्याक’

शुक्रबार, ०८ चैत २०७५, ०८ : ४५
शुक्रबार, ०८ चैत २०७५

काठमाडौँ । ‘जब जब किसि राज्यमें न्याय अन्धा होता है तो इस तरहका फैसला आता है ! सभी मधेसियोंको सम्झना चाहिए स्वराज निर्विकल्प है ! जितनी देर होगा उतना ज्यादा क्षति है ! जय स्वराज ।’
आफ्नो फेसबुकमा फागुन २२ गते यो स्टाट्स लेखेका सीके राउत २४ गते सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारको राजनीतिमा आएका छन् । एकदिनमै राउतको विचारमा यति परिवर्तन आउनुमा उनको ‘फ्ल्यासब्याक’का लागि धेरै टाढा जानुपर्दैन । 

यसैगरी सम्झौता भएको ११ दिनमै उनले ‘जनमत पार्टी’ नै स्थापना गर्न भ्याए । १५ दिनअघिसम्म स्वतन्त्र मधेसका लागि सङ्घर्ष गरिरहेका सीके राउतका स्वतन्त्र मधेस गठबन्धन यति छिट्टै समाप्त हुन्छ भन्ने कुरा सीके राउतबाहेक अरू कसैलाई थाह नहुनसक्छ । 

फागुन २ गते उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘नेपालको अदालत फिरौत माग्ने आतङ्कारी बन्दै ।’ माघ ५ गते राजविराजमा गठबन्धले आयोजना गरेको कार्यक्रमबाट समातिएका कार्यकर्ता रिहाका लागि प्रतिव्यक्ति ५० हजार धरौटी मागेपछि गठबन्धनले त्यसलाई फिरौतीको संज्ञा दिँदै धरौटी नबुझाउने बरु जेल जाने भन्दै गठबन्धनका कार्यकर्ता जेल फर्केका थिए ।’

सरकारले दमनको रणनीति लिए पनि मधेसलाई नेपाली फिरङ्गी (प्रहरी, सेनालाई फिरङ्गी भन्दै आएको थियो) बाट मुक्त गराएरै छाड्ने भन्दै जेल फर्केका थिए । यता सीके राउत पनि जेलमै थिए ।
माघ २२ गते एक विज्ञप्ति जारी गरी राममोहन यादवलाई राज्यले हत्या गरेको कारण देखाउँदै गठबन्धन अन्तर्राष्ट्रिय अदालतमा जाने भनिएको थियो । राममनोहरको परिवारले पाँच महिनापछि माघ २० गते अस्पतालबाट शव बुझेको थियो । 

सीके राउतका कार्यकर्ताले माघको पहिलो हप्ता राजधानीको गल्लीहरूमा पोस्टर टाँसेका थिए तर ती पोस्टरमा स्वतन्त्र मधेसको कुरा कही उल्लेख गरिएको थिएनन् । पोस्टरमा ‘२००७ सालदेखि करायो लोकतन्त्र कता हरायो’ भन्ने लेखिएको थियो । 

काठमाडौँको गल्लीमा आफ्नो पोस्टर लेख्न लगाएका सीके राउतले आफ्नो आत्मकथामा काठमाडौँको बारेमा यस्तो लेखेका छन्– 
‘काठमाडौँ ओर्लेपछि त्यहाँ एक रात मात्र बसेर म मधेसतिरै लागेँ । त्यसै पनि काठमाडौँ बिरलै बस्न लायक थियो । काठमाडौँ कुनै जमानामा मन्दिरहरूको सहर थियो होला तर त्यो केवल वेश्याहरूको सहर बनिसकेको थियो । हुन पनि किन नहोस्, जब नेपाल टुरिज्म बोर्डले नै ट्रेकदेखि सेक्सका लागि विदेशीहरूलाई विज्ञापनद्वारा खुल्ला आमन्त्रण दिन्छ भने ।’
काठमाडौँमा पोस्टर टाँसेको एक महिना नबित्दै सङ्घीय सरकारसँग काठमाडौँमै ११ बुँदे सम्झौता गर्न उन बाध्य भए । 

सीके राउतको विगत हेर्दा उनले स्वतन्त्र मधेसका लागि आआफ्ना गतिविधिलाई तीव्र पारेको देखिन्छ । उनले दिनदिनै प्रशिक्षण दिनेदेखि सेनासमेत खडा गरेका थिए । उनले मधेस देश चलाउनका लागि आवश्यक कर्मचारीका लागि विज्ञाप समेत गरिसकेका थिए । 

उनले लेखेका आफ्नो पुस्तक मधेस स्वराज पुस्तकमा आफ्नै सेनाको बारेमा यस्तो वर्णन गरेका छन्–
‘कोई दुसरा समाधान मधेस में रहे नेपाली और पहाडी सेनाको पूर्ण रूप से हटाकर उसकी जगह मधेसी सेनाको नहीँ रख सकता, और जब तक मधेस की भूमि पर नेपाली, पहाड़ी सेना रहेगी, मधेसियों की गुलामी का अन्त नहीं हो सकता । नियम, कानुन, व्यवस्था, संविधान आदि बनते रहते हैं, उनकी कोई अहमियत नहीं जब तक अपनी सेना न हो । साम्राज्य की सेना लगाकर कभी भी नियम, कानुन, संविधान और व्यवस्था को निलम्बन किया जा सकता है । इसलिए जब तक मधेस में मधेसी मातहत की मधेसी सेना नहीं, तब तक नियम, कानुन, व्यवस्था, संविधान आदि कुछ भी अपना नहीँ ।’
उनले देशको झण्डा, लोगो र राष्ट्रियगान समेत सार्वजनिक गरिसकेका थिए । त्यति मात्र होइन, उनले मधेस अलग देश हो भन्दै त्यसको मान्यता दिनका लागि संयुक्त राष्ट्र सङ्घमा पत्र पनि पठाइसकेका थिए । 
उनले मधेस अलग देश हो भनेर पटक पटक अभ्यास पनि गराएका थिए । मधेस देशका लागि उनले नमुना जनमत सङ्ग्रह गराएका थिए । जनमत सङ्ग्रहको नजित पनि सार्वजनिक पनि गरेको थिए ।

स्वतन्त्र मधेसको बारेमा आफ्नो आत्मकथामा यस्तो लेखेका छन्–
‘स्वतन्त्रता कहिले पनि ढिलो हुँदैन र गएको दशकमा मात्र, दुई दर्जन देशहरू स्वतन्त्र भए । यस दशकमा पनि पूर्वी टिमोर, मोन्टेनेग्रो, सर्बिया र कोसोभो जस्ता देशहरूले स्वतन्त्रता प्राप्त गरे । र मधेसीहरूलाई पनि आफ्नो दासताबाट मुक्त हुन कसैले रोक्न सक्दैन, न त मधेसलाई स्वतन्त्र हुनबाट कसैले रोक्न सक्छ । त्यसैगरी केहीले स्वतन्त्र मधेस निकै सानो देश हुने भनेर गलत हल्ला फैलाउने गर्छन् । क्षेत्रफलका आधारमा कुरा गर्ने हो भने स्वतन्त्र मधेस विश्वका सयभन्दा बढी देशहरूभन्दा ठूलो हुनेछ, इजराइल, फिजी, कुवेत, कतार, लेबनान, साइप्रस, सिङ्गापुर र माल्दिभ्स् जस्ता चर्चित देशहरूभन्दा ठूलो । माल्दिभ्स् त सप्तरीको एक चौथाइभन्दा पनि सानो छ । जनसङ्ख्याको आधारमा कुरा गर्ने हो भने स्वतन्त्र मधेस विश्वका करिब एक सय पचास देशहरूभन्दा ठूलो हुनेछन् ग्रिस, पोर्चुगल, बेल्जियम, चेक रिपब्लिक, हंगेरी, बेलारूस, हाइटी, अस्ट्रिया, स्विजरल्यान्ड, डेनमार्क, भुटान र नर्वे जस्ता नाम चलेका देशहरूभन्दा ठूलो । सबै दृष्टिले, मधेस विशाल छ, मधेस महान् छ ।’ 

बैरागीदेखि वैज्ञानिकसम्म
पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही काम गरेका राउत आफूलाई सोध्दै नसोधी सहायक विभागीय प्रमुख बनाएपछि राजीनामा दिएर जपान हिँडेका थिए । जापान सरकारले दिने गरेको मोनबुसो स्कलरसिपमा उनी अध्ययनका लागि जापान गएका थिए ।

जापानबाट फर्केपछि उनी के गर्ने कहाँ जाने उनीसँग कुनै योजना थिएन । अलमलमा परेर उनी बैरागी (जोगी) बनेर हिँड्न थालेका थिए । उनको आत्मकथाअनुसार भगवान खोज्नका लागि भारतका रामेश्वरम, बैङ्ग्लोर, कलकत्ता, मद्रास, कन्याकुमारीसम्म पुगेका थिए । त्यही क्रममा उनले ब्रह्मज्ञान प्राप्त गरेको आफ्नो आत्मकथामा उल्लेख गरेका छन् । 
त्यो ब्रह्मज्ञानबाट पनि केही प्राप्त हुने नदेखेपछि उनी पुनः जपान फर्के । जपानबाट मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज युनिभर्सिटीमा विद्यावारिधिका लागि आवेदन दिए । त्यसमा छनौट पनि भए । 
उनी २०६४ मा नेपाल फर्किँदा मधेस आन्दोलन सुरु भइसकेके थियो । पहिलो पटक उनले तत्कालीन मधेसी मेर्चाद्वारा टुडिखेलमा आयोजना गरेको जनसभामा आफ्नो मन्तव्य दिएका थिए । त्यो मन्तव्यबाट नै आफ्नो परिचय स्थापित गरेका थिए । 

तर मधेस आन्दोलनबाट केही प्राप्त हुने भन्दै उनी ‘मधेस अधिकार एवं स्वतन्त्रता गठबन्धन’ गठन गरेर मधेसमा गतिविधि सुरु गरेका थिए । त्यतिबेला उनको मूल नारा थियो, ‘नेपाली उपनिवेश र रङ्गभेदको अन्त्य, मधेसीको समोचित अधिकार र मधेसको स्वतन्त्रताको प्राप्ति र गणतान्त्रिक मधेसको स्थापना’ । 

आन्दोलनकै क्रममा उनी २०६५ सालमा अमेरिका सरे इन्टरनेटरआर्पानेट र इमेल सिस्टम विकास गरेको संस्थाको रूपमा प्रख्यात बीबीएनमा वैज्ञानिकका रूपमा कार्य गर्न अमेरिका पुगे । उनी त्यहाँ पुगे पनि मधेसको गतिविधि गर्न छाडेका थिएनन् । त्यहाँ उनले एउटा संस्था गठन गरेर मधेसको बारेमा त्यहीँबाट अवाज उठाउन थाले । 

अमेरिकामा गठन गरेको गैरआवासीय मधेसी सङ्घको ब्यानरमा उनी अमेरिकाबाट नेपाल आएर मेची–महाकाली यात्रा चलाएका थिए । 

उनले सो यात्राको बारेमा आफ्नो आत्मकथामा लेखेका छन्–
‘पहाडीहरू मानवताविरुद्धको अपराधमा, रङ्गभेद र भेदभाव गर्नमा र आफ्नो उपनिवेश लाद्नमा अझ बढी उग्र र सङ्गठित भएको कुरा त्यस यात्राका दौरानमा मैले अनुभव गरेँ ।’
 त्यही यात्राको क्रममा उनले नेपालबाट मधेसलाई अलग बनाउनुपर्छ भनी सोच बनाए । उनी त्यो यात्राबाट देशलाई बुझेको र मधेसलाई चिनेको बताएका थिए । पहाडी शासकबाट मधेसीमाथि भएको विभेद खुलेरै बोल्न थाले । सीके राउत यस्तो उग्र भए कि तुरुन्तै मधेस अलग गरिहाल्ने जस्ता मन्तव्य दिन थाले ।

उनको मन्तव्यले मधेसी युवाहरुको आकर्षण बढ्दै गयो । अमेरिकामा राम्रो तलबमा काम गरिरहेका बैरागी सीके राउतलाई एकाएक मधेसलाई स्वतन्त्र गर्नुपर्छ भनी ध्यान कसरी आयो भने कुराको आशङ्का अझै निवारण भएको छैन । 

उनी नेपालमा स्वतन्त्र मधेस गठबन्धनका लागि काम गर्न थालेपछि युरोपियन युनियन तथा अमेरिका फन्डबाट सञ्चालित विभिन्न सङ्घ संस्थाले उनलाई सहयोग गर्न सुरु गरेका थिए । अमेरिकामा बसेका मधेसीहरूले उनका लागि पैसा पठाउने काम सुरु गरेका थिए । नेपालमा सबभन्दा बढी सहयोग एम्नेस्टी इन्टरनेसलले सहयोग गरेको कुरा विभिन्न तथ्यबाट बाहिर आइसकेको छ ।
उनी आफ्नो आत्मकथामा नेपालको बारेमा राउतले यस्तो लेखेका छन्–

‘यदि मलाई नेपाललाई मानवीकरण गरेर हेर्न नै बाध्य बनाइयो भने, म भन्न चाहन्छु– नेपाल हाम्री आमा होइनन्, नेपाल त हाम्रो रगत चुस्ने बोक्सी हुन्, जसले हाम्रो भूमि, अनाज र अधिकार खोसिरहिन् र बदलामा दासता, अन्याय र गरिबी दिइरहिन् । नेपाल चोखो कुमारी रे ! नेपाल त निर्लज्ज रे । हो जो राति हरेक विदेशीसँग सम्भोग गर्छे तर बिहान आफ्नो कुमारीत्वको अभिमान गर्दै हिँड्छे । इतिहासको कुन कालमा नेपाल स्वतन्त्र र स्वशासित थियो ? नेपालमा त अझै गोर्खालीको शासन छ, नेपाल अझै गोर्खालीको पराधीन छ, त्यहाँ स्वशासन कहाँ छ ? नेपाल हैन, मधेस हाम्री आमा हुन्, जसले हामी जन्मँदा खुट्टा टेक्न भूमि दिन्छिन्, खानलाई जीवनभरि अनाज दिन्छिन् र मरेपछि अस्थि ढाक्न माटो । मधेस हाम्रो मातृभूमि हो, नेपाल होइन ।’

के थियो योजना ?
२०६७ देखि स्वतन्त्र मधेसको गतिविधिलाई तीव्रता दिएका राउतले ८ देखि १२ वर्षमा मधेसलाई स्वतन्त्र बनाउने योजना बनाएका थिए । तर नौ वर्ष नपुग्दै उनी त्यो अभियानलाई छाडेर मूलधारको राजनीतिमा आएका छन् । 

तर उनका कार्यकर्ता तथा नेताहरु भन्छन्, ‘हामी अझै आफ्नै योजना मुताविक छौं । हामीले डाक्टर साहबले बनाउनुभएको योजनाअनुसार नै सबै काम हुन्छ ।’ सीके राउतले तोकेको समयसीमा अझै ३ वर्ष बाँकी छ । 

उनका कार्यकर्ताअनुसार सीके राउत अहिले बचाउको चरणमा छन् । तीन चरणको योजना अनुसार दुई चरण उनीहरुले पार गरिसकेका छन् र बाँकी तेस्रो चरणमा उनीहरु बचाउको चरणमा रहेका छन् । जसरी पनि मधेस गठबन्धन र उसको मिसनलाई बचाउने योजना सीके राउतको थियो र सोही योजना मुताविक उनी अहिले सरकारसँग सम्झौता गरेर मूलधारको राजनीतिमा गएका छन् । त्यसका लागि जनमत पार्टी गठन गरे पनि हालसम्म स्वतन्त्र मधेस गठबन्धन भङ्ग गरेको छैन ।  

जनमत पार्टी निर्माण गरेर जनतामा खुल्ला रूपमा जाने र जनताको मत कलेक्सन गर्ने, सङ्गठन अझै बलियो बनाउँदै जाने । सङ्गठन बलियो भएपछि एकै पटक स्वतन्त्र मधेस घोषणा गर्ने योजना राउतको थियो । 
उनले आफ्नो मधेस स्वराज पुस्तकमा योजना यसरी उल्लेख गरेका छन् ।

पहिलो चरणको तयारीमा प्रचार प्रसार गर्ने, युवा दस्ता बनाउनेदेखि सैन्य र प्रहरी संरचना बनाउनेसम्मका कुरा छन् । दोस्रो चरणमा आन्दोलनको चरणमा नाकाबन्दी, सैनिक र सिपाही विद्रोहसम्मका कुरा गर्ने उल्लेख गरेका छन् । तेस्रो चरणमा बचाउका लागि अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्नेदेखि राष्ट्र सङ्घमा दर्तासम्मका कुरा उल्लेख गरेका छन् । अहिले सीके राउत तेस्रो चरणमा रहेको कतिपयले दाबी गरेका छन् ।  

‘मधेस देशको चलाने के लिए आवश्यक हर कुछ तैयार किया जाएगा, साङ्गठनिक संरचना बनाने से लेकर मानव–जनशक्ति और भौतिक पूर्वाधार तैयार करने तक सभी । इसमें प्रचार–प्रसार करके जागृति फैलाने से लेकर साङ्गठनिक संरचना और फ्रन्ट बनाना, विभिन्न कार्यों के लिए जनशक्ति तैयार करना, आय–स्रोत की व्यवस्था करना, अत्यावश्यक भौतिक संरचना बनाना (जैसे कि तत्काल सञ्चार क्षेत्र में), अपनी प्रशासनिक संरचना बनाना, युवा दस्ता बनाना और बाद में सैन्य और प्रहरी संरचना खड़ी करना, राष्ट्रिय और अन्तर्राष्ट्रिय सम्बन्ध बनाना, विभिन्न अन्तर्राष्ट्रीय सङ्घ–संस्थाओं या नियोगों से समर्थन हासिल करना, विभिन्न देसों के संसद में ककस बनाना, विदेशी कूटनीतिज्ञों का समर्थन हासिल करना, यूएन से सम्बन्ध बनाते हुए उनके कार्यक्रमों में हिस्सा लेना आदि जैसे कार्य आते हैं ।’
सीके राउतले आफ्नो पुस्तकमा भनेका छन्, जब साङ्गठनिक रूपले सक्षम हुन्छौँ अनि असहयोगको आन्दोलन सुरु गर्छौं, अहिंसात्मक विद्रोह र नाकाबन्दीको सहयोगमा मधेसमा नेपाली साम्राज्यको अन्त्य गर्दै स्वराजको स्थापनाका लागि लाग्छौं ।’

सीके राउत पहिलो पटक २०७१ सालमा पक्राउ परेका थिए । उनी पक्राउ परेपछि त्यतिबेला काँग्रेस नेतृत्वको सरकार थियो । तत्कालीन सञ्चारमन्त्री मिनेन्द्र रिजालसँग दुई बुँदे सम्झौता गरी उनी रिहा भएका थिए ।

त्यसपछि उनी पटक पटक पक्राउ पर्दै र रिहा हुने काम भयो । जति पटक उनी पक्राउ पर्थे त्यति नै उनको सङ्गठन बलियो हुँदै गइरहेको थियो । कतिपयले त राष्ट्र विखण्डनमा राउत लागेको सबै प्रमाण हुँदाहुँदै किन छाडेको भनेर आलोचना भएको थियो  । राउतलाई पाल्ने काम राज्यले त गरेको छैन भन्ने आशङ्का पनि गरेको थियो । 

नभन्दै जेलबाट रिहा भएको भोलिपल्टै राज्यसँग ११ बुँदे सम्झौता गरी अहिले मूलधारको राजनीतिमा अवतरण गरिसकेका छन् । तर उनको क्रियाकलापबाट अझै विश्वस्त हुने अवस्था छैन । उनकै कार्यकर्ताहरु भन्छन्, हामी आफ्नो योजना मुताविक नै आगाडि बढेका छौँ ।’
तर गठबन्धनका तत्कालीन सचिव चन्दन सिंह भन्छन्, हामीले सरकारसँग गरेको ११ बुँदे सम्झौता अक्षरशः पालन हुन्छ । जनताको हितमा हामी काम गर्छौं ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप