शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गौरीटार रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाइन्छ : मुख्यमन्त्री पौडेल

बिहीबार, ०७ चैत २०७५, २० : ४१
बिहीबार, ०७ चैत २०७५

हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडामा रहेको गौरीटार रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने बताएका छन् । 

आजबाट हेटौँडामा शुरु भएको दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति मकवानपुर गोल्डकपमा मुख्यमन्त्री पौडेलले हेटौँडाकै हुप्र चौरलाई पनि प्याराफिटसहितको फुटबल मैदानका रुपमा विकास गरिने बताए । प्रदेशको फुटबलको स्तर वृद्धि गर्न सरकार लागिपर्ने उनको धारणा थियो । 

मुख्यमन्त्रीले विगतमा मकवानपुर फुटबलले राष्ट्रिय प्रतियोगिताहरुमा राम्रो प्रस्तुति देखाउने गरेकामा अचेल त्यस्तो नदेखिएको बताउँदै मकवावपुर फुटबलले आफ्नो पुरानो साख फर्काउन लाग्नुपर्ने धारणा राखे। 

प्रदेश ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बाँनियाले मकवानपुर गोल्डकपले नेपाली फुटबलको विकासमा योगदान दिने बताए । 

आजबाट हेटौँडामा शुरु भएको गोल्डकपमा विभिन्न राष्ट्रियस्तरका १० टोलीको सहभागिता रहनेछ । जसअन्तर्गत आज भएको उद्घाटन खेलमा मच्छिन्द्र क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै मकवानपुर ११ ले भूगर्भ सिमेन्ट दोस्रो शहीद स्मृति मकवानपुर गोल्डकपमा विजयी शुरुआत गरेको छ । 

काठमाडौँको मच्छिन्द्र क्लबले शुरुआती अग्रता हासिल गरेको थियो । मच्छिन्द्रका तर्फबाट खेलको १६औँ मिनेटमा डम्बिया महोम्बदले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । 

पहिलो हाफको ३० औँ मिनेटसम्म अग्रता हासिल गरेको मच्छिन्द्रले मकवानपुरका काजिमको गोलसँगै अग्रता छोड्नु परेको थियो । काजिमले मकवानपुरलाई भने १–१ को बराबरीमा ल्याए । 

पहिलो हाफ १–१ बराबरीमा रोकिएको मकवानपुरले दोस्रो हाफमा फेरि अग्रता लियो । खेलको ६३औँ मिनेटमा पुनः मकवानपुरकै काजिमले दोस्रो गोल गरेपछि समग्रमा मकवानपुर २–१ गोलअन्तरले विजयी भएको हो । खेलको ‘म्यान अफ दी म्याच’ पनि दुई गोल गरेर खेल कौशल देखाएका काजिम घोषित भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप