शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चोभारमा स्तरीय सुख्खा बन्दरगाह बन्नेमा शंका !

बिहीबार, ०७ चैत २०७५, १७ : ००
बिहीबार, ०७ चैत २०७५

काठमाडौं । निर्माण सामग्रीको विषयलाई लिएर स्थानीय अगुवाले प्रश्न उठाएपछि काठमाडौंको कीर्तिपुर नगरपालिका–६ स्थित चोभार निर्माणधीन  सुख्खा बन्दरगाह स्तरीय बन्नेमा आशंका गर्न थालिएको छ । 

विश्व बैंकको एक अर्ब ५७ करोड लगानीमा बन्न लागेको सुख्खा बन्दरगाहमा कमसल निर्माण सामग्रीको प्रयोग भएको स्थानीयको भनाई छ । स्थानीयको विरोधका कारण सुरुदेखि नै विवादमुक्त हुन नसकेको सुख्खा बन्दरगाह निर्माणका क्रममा हाल आएर कमसल निर्माण सामग्रीनै प्रयोग भएको पाइएपछि यसको भविष्य के हुने भन्नेमा शंका उत्पन्न हुन थालेको हो । 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको यस आयोजनामा निर्माण सामग्रीको गुणस्तर मापदण्ड भन्दा न्यून भएको र सोको अनुगमन पनि फितलो भएको बताइएको छ । 

अनुगम तथा गुणस्तरको मापदण्ड कस्तो हुनुपर्ने हो र त्यसको लेखाजोखा कुन इकाइले गर्नुपर्ने हो भन्नेमा कुनै पनि किसिमको जानकारी नभएकाले स्थानीयमा शंका उत्पन्न भएको हो । 

स्थानीयको भनाइअनुसार राष्ट्रिय गौरवको यो आयोजना बनाउन समग्र गुणस्तरको जानकारी हुनुपर्ने भएपनि सबैको मिलेमतोमा गुणस्तरहीन सामग्री प्रयोग गरेर रकम सक्नमात्रै सक्ने उद्देश्यले झारा टार्नेगरी काम भइरहेको जस्तो देखिन्छ । 

यस किसिमको आयोजना १८ महिनामा पूरा  गर्नुपर्ने सम्झौता रहेको भएपनि हाल निर्माण भइरहेको साइटमा मात्र २ वटा डोजर, एउटा स्काभेटर , एउटा लोभर र ४ वटा भाडाको टिपर प्रयोग गरी सुस्त गतिमा काम भइरहेको बताइएको छ । 

राष्ट्रिय गौरवको आयोजना, त्यसमाथि पनि विश्व बैंकको लगानीमा निर्माण हुन लागेको आयोजना मुख्य ठेकेदार कम्पनी आफैंले नगरी अन्य सहायक कम्पनीलाई दिएकाको मापदण्ड बमोजिम बन्दरगाह निर्माण सम्पन्न हुने आशंकालाई थप बल पुगेको हो ।  

यस आयोजनाका साइड खरिद इकाइ प्रमुख इन्जीनियर कुतानन्त झाको समेत अनुचित लाभ लिने मनसायका कारण आयोजना नै धरायसी हुने त होइन भन्नेमा समेत प्रभावित क्षेत्रमा चर्चा परिचर्चा हुन थालेको छ । 

सरकारले २०७६ माघभित्र सुख्खा बन्दरगाह निर्माण सम्पन्न गर्नेगरी पहिलो चरणको कामका लागि सान्छी–आशिष जेभी भरतपुर १० लाई ठेक्का दिएको थियो । 

रु १ अर्ब २८ करोड १० लाख ५० हजार ६ सय २४९ मा सरकार र   सान्छी–आशिष जेभीबीच गत साउन १७ गते ठेक्का सम्झौता भएको थियो । 

यस्तै  दोश्रो कामको ठेक्का लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी नयाँ बानेश्वर काठमाडौँले पाएको छ । 

२० करोड १४ लाख ८७ हजार ३८ रुपैयाँ बराबरको ठेक्का सम्झौता ११ जुलाई २०१८ मा भएको र ठेक्का सम्पन्न हुने मिति ३१ जनवरी २०२० रहेको छ । 

चोभार संरक्षण समितिका संयोजक पञ्चलाल महर्जनले स्थानीयको समस्या समाधान नगरी सरकारले निर्माण प्रक्रिया अघि बढाएको सरकारले निर्माण प्रक्रियाको समेत उचित अनुगमन नगर्दा ठेकेदारले कमसल सामग्री प्रयोग गरेर झारा टार्ने काम गरिरहेको दाबी गर्दै आएका छन् । 

तर, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टर मोडल यातायात विकास समितिले भने स्थानीयको गुनासो समेतलाई सम्बोधन गर्दै तोकिएको समयभित्र निर्माण प्रक्रिया सम्पन्न गर्नेगरी तीब्र रुपमा काम अघि बढाइएको दावी गरेको छ । 

बाहिरी मुलुकबाट काठमाडौं भित्रने र यहाँबाट निर्यात हुने मालसामानलाई एकीकृत सेवा दिनेगरी सरकारले चोभारमा सुख्खा बन्दरगाह बनाउन लागेको हो ।

कमिसनको चक्करमा पेटी ठेक्का
राष्ट्रिय गौरवको आयोजनाको रुपमा सरकारी सूचीमा रहेको यो आयोजनाको मुख्य ठेकेदार कम्पनीले आफैं काम नगरी सहायक ठेकेदार कम्पनीलाई गराउन लागेको स्थानीय आशाराम शर्माले जानकारी दिए ।

उनका अनुसार मुख्य ठेकेदार कम्पनीले अर्को सहायक कम्पनीलाई ठेक्कका दिएकोमा उसले फेरि अर्को सानो ठेकेदार सुक लामालाई जिम्मा लगाएर बन्दरगाहको भविष्य नै अन्योलमा पारेको छ।  

यसो त आयोजनाका साइड खरिद इकाइ प्रमुख इन्जीनियर कुतानन्द झाले हाल कमसल निर्माण सामग्री आपूर्तिकर्ता मछ्छे नारायण जे एण्ड टी सम्लायर्सका गणेश श्रेष्ठको घरमा मासिक ५५ सय भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएका छन् । 

सरकारी स्रोतको दुरुपयोग गरी व्यक्तिगत लाभको लागि उनले काम गरिरहेको स्थानीयको आरोप छ । स्थानीयका अनुसार अहिले झाले श्रेष्ठको घरमा लिएको भाडादर निकै कम हो । 

स्थानीयले निर्माण प्रक्रियाबारे प्रश्न उठाइरहेको बेला ठेकेदार शेरबहादुर केसी तथा साइड मेनेजर यज्ञराज कार्कीले चेकपोस्ट नै खडा गरेर १५ जना सशस्त्र प्रहरीको सहयोगमा निर्माण कार्य अघि बढाइरहेको अर्का स्थानीय अवयव महर्जनले बताए । कालिन्चोक गणका उनीहरुलाई दैनिक अतिक्ति ५० रुपैयाँ भत्ताको समेत व्यवस्था मिलाइएको छ । तर निर्माण कम्पनीका तर्फबाट भने सीमित सुरक्षा गार्ड तथा कर्मचारी नियुक्त गरिएको उनको भनाई छ । 

यज्ञराज कार्की भन्छन्– गुणस्तरीय काम भइरहेको छ

यता साइड मेनेजर यज्ञराज कार्कीले स्थानीय एक् समूहले राष्ट्रिय गौरवको आयोजनालाई अगाडि बढ्न नदिनको लागि विभिन्न चलखेल गरी सरकारी स्वामित्वमा रहेको जग्गालाई आफ्नो स्वार्थअनुरुप प्रयोग गर्ने मनसाय बनाएको र वास्तविकतालाई केलाउन छोडेर उनीहरुकै भनाइलाई आधार बनाएर समाचार प्रकाशित गरेको दाबी गरेका छन् । 

रातोपाटीमा समाचार प्रकाशित भएपछि कार्कीले इमेलमार्फत पठाएको खण्डनमा प्रकाशित समाचारमा कुनै सत्यता नभएको दाबीसहित हाल सुख्खा बन्दरगाहमा  १२० मिटर ढुङ्गाको वाल लगाउने कार्य भन्दा अन्य कार्य भएको नभएको उल्लेख गरिएको छ । 

 यति काम गर्दा पनि प्रयोगशालामा परीक्षण गरी उपयुक्त देखिएको ढुङ्गा, बालुवा र सिमेण्टमात्र प्रयोग गरिएको भन्दै कार्कीले सामाग्रीको गुणस्तरीयतालाई कायम राख्न साइटमै प्रयोगशालाको ब्यवस्था गरिएको उल्लेख गरेका छन् । 

‘हरेक पटक सामाग्री आउँदा ती सामाग्रीहरुको परीक्षण गरी कन्सल्ट्याण्टमा सोको रिपोर्ट बुझाएर, पूर्व स्वीकृति प्राप्त गरेपछि मात्र निर्माण कम्पनीले सामाग्री प्रयोग गर्ने प्रकृया अनुरुपनै काम भईरहेको छ’, उनले भनेका छन्, ‘निर्माणस्थलमा अनुगमन गरेको खण्डमा  यसको यथेस्ट प्रमाणहरु प्राप्त गर्न सकिने छ ।’

उनले अगाडि भनेका छन्, ‘कसैलाई सामाग्रीप्रति कुनै शंका भएमा आफ्नै आँखा अगाडि ल्याब टेस्ट गराएर सोको पुष्टि गर्न सकिने व्यवस्था समेत गरिएको छ । बनिसकेको संरचनामा पनि कुनै किसिमको शंका भएमा वा कमसल बनेको भेटिएमा तुरुन्तै भत्काउनमा हामी रत्तिभर पनि हिच्किचाउने छैनौ ।’

उनले हचुवाको भरमासमाचार प्रकाशित गरी निर्माण कम्पनीको इज्जत र प्रतिष्ठा माथिनै औंला उठाउने कार्य गरेको समेत खण्डनमार्फत दाबी गरेका छन् । 

उनले व्यक्तिगत स्वार्थपूर्तिका लागि सुख्खा बन्दरगाहको विरोध गरिरहेकाहरुले आफ्नो निर्माण कार्यलाई रोक्न नसकेपछि सामाग्रीको गुणस्तरीयतालाई आधार बनाएर निर्माण कार्यलाई शिथिल बनाउने नीति लिएको पनि दाबी गरेका छन् । 

कार्कीले निर्माण कार्यको गुस्तस्तरप्रति थप आस्वस्त पार्ने प्रयास गर्दै अगाडि भनेका छन्, ‘अहिले सुख्खा बन्दरगाह निर्माणको कार्य सुस्त गतीमा चलेको छ । यसो हुनुमा हामी आफै, कामको गुणस्तरीयता प्रति गृहकार्य गरिरहनुनै हो । बन्दरगाहको डिजाइन गर्ने पूर्व कन्सल्ट्याण्टको डिजाइनमा केही गल्ती भेटिनु, त्यसमा प्रयोग गर्न सुझाइएका  सामाग्रीहरु प्रतिनै हालको कन्सल्ट्याण्ट र निर्माण कम्पनीले शंका गरी थप गुणस्तरिय सामाग्रीको खोजीमा जुट्नु, डिजाइनमा नै हेरफेर गरेर थप मजबुद संरचनाको वैकल्पिक योजना निर्माणमा लाग्नु नै अहिलेको निर्माणकार्य ढिलाई हुनुका प्रमुख कारणहरु हुन् ।’ 

(अद्यावधिक गरिएको)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप