बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मलेसिया कामदार ल्याउन रोजगारदाताले तिर्छन् डेढ लाख बढी

बिहीबार, ०७ चैत २०७५, १४ : ११
बिहीबार, ०७ चैत २०७५

क्वालालम्पुर– बाँकेका तुलसीप्रसाद सापकोटा मलेसिया आएको २२ महिना भयो । नेपालमै रोजगारीको सम्भावना नदेखेपछि सापकोटाले वैदेशिक रोजगारीमा जाने निर्णय गरे । एक थान पासपोर्ट बोकेर काठमाडौँतिर हानिए । 

कोटेश्वरमा रहेको युनाइटेड एचआर सोलुसन नामक म्यानपावर कम्पनीमा सापकोटा पुगे ।  वैदेशिक रोजगारीमा जान इच्छुक भएकाले आवश्यक व्यवस्था गरिदिन म्यानपावर कम्पनीलाई आग्रह गरे । 
युनाइटेड एचआर सोलुसन म्यानपावरले सापकोटाको पासपोर्ट लियो । 

केही समयपछि सापकोटालाई मलेसियाको प्रतिष्ठित कम्पनीबाट कामदारको माग आएको भन्दै फोन आयो । सापकोटा पुनः म्यानपावर कम्पनीमा पुगे । 

मलेसियाको क्वालालम्पुर नजिकै मुख्यालय रहेको अनुग्राह नामक सेक्युरिटी कम्पनीबाट कामदारको माग भएको र आकर्षक तलब सुविधा रहेको बताइयो । मासिक तलब १ हजार ७ सय मलेसियाली रिङ्गिट हुने पनि भनियो । 

सेक्युरिटी गार्डको काम भएकाले काम चाहिँ दैनिक १२ घण्टा र महिनामा ३० नै दिन गर्नुपर्ने कुरा बताइयो । सेवा सुविधामा बस्ने होस्टलको व्यवस्था हुने बताइयो । अब कुरा रह्यो पैसाको । सापकोटालाई मलेसिया जानका लागि १ लाख २० हजार नेपाली रुपैयाँ मागियो ।

सापकोटाले आफू गरिब परिवारबाट आएको हुनाले त्यति धेरै रकम नभएको भन्दै सस्तोमा पठाइदिन आग्रह गरे । तर म्यानपावर कम्पनीले मात्रै ५ हजार घटाइदिएर १ लाख १५ हजार रुपैयाँ लियो । यो रकम उनले मेडिकल गर्ने, माइग्राम्स भर्नेदेखि लिएर प्लेन टिकट काट्नेसम्मको रकम हो । यही यो सबै पैसा तिरेर मलेसिया आइपुगे । 

काभ्रेका धिरेन लामा पनि यतिबेला क्वालालम्पुरमै सेक्युरिटी गार्डको काम काम गरिरहेका छन् । कोटेश्वरकै युनाइटेड एचआर सोलुसन प्रालिबाटै आएका हुन् लामा पनि ।  लामाले उक्त म्यानपावरलाई १ लाख ५ हजार रुपैयाँ तिरे । त्यो रकम पनि धेरै पटक छलफल र बार्गेनिङ गरेपछि म्यानपावरलाई दया लागेर दिएको छुट हो । म्यानपावरले त १ लाख २० हजार नै मागेको थियो । 

राम्रो कम्पनीमा धेरै तलब भन्दै उनलाई मलेसियामा पठाइएको थियो । अनुग्राह सेक्युरिटीमा उनलाई रोजगारीका लागि पठाइयो ।  दैनिक १२ घण्टा र मासिक ३० दिन नै काम गर्ने गरी उनलाई मलेसिया पठाइएको हो । 

लामाका अनुसार कम्पनीको काम र व्यवहार त धेरै राम्रो छ । तर समस्याचाहिँ कहिलेकाहीँ बाहिर जानपर्यो वा घुम्न मन लाग्यो भने पनि बिदा पाइँदैन । बिरामी परियो र उपचार गर्न पर्यो भने पनि कम्पनीले तलब काटिदिन्छ । 


अनि यिनी चाहिँ कुमार थापा । घर स्याङ्जा । मलेसिया आएको २ वर्ष भयो ।  उनी पनि कोटेश्वरमा रहेको युनाइटेड एचआर सोलुसन नामक म्यानपावर कम्पनीबाटै आएका हुन् । उनले पनि अन्य व्यक्ति जस्तै १ लाख रुपैयाँ तिरे । त्यो पनि बल्ल बल्ल डिस्काउन्टेड प्राइसमा । 

यद्यपि अन्य व्यक्तिले भन्दा केही कम रकम तिरेर उनी मलेसियामा आइपुगे र अनुग्राह सेक्युरिटीमा सेक्युरिटी गार्डका रूपमा काम गर्न थाले ।  अन्य व्यक्तिको जस्तै उनको मासिक तलब पनि १ हजार ७ सय मलेसियाली रिङ्गिट नै हो । यो रकम दैनिक १२ घण्टा र मासिक ३० दिन नै काम गर्दा पाउने तलब सुविधा हो । अन्य क्षेत्रमा ओभरटाइम पाए पनि गार्डको १२ घण्टे ड्युटीलाई ओभर टाइम मानिँदैन । त्यसकारण उनको यो रकम सबै तलब नै हो । 

कम्पनी राम्रो भएको र तलब पनि समयमै दिने गर्छ । काम पनि गाह्रो छैन । तर बस्ने होस्टल भने केही अप्ठ्यारो छ ।  मलेसियाको केएल सीटीबाट ३० किलोमिटर टाढा रहेको स्थानमा बुधबार हामी भेट्न पुग्दा उनीहरु रोल कल गरिरहेका थिए । केएल सिटीबाट उनीहरुलाई अब सोनी कम्पनीको टिभी फ्याक्ट्रीमा स्थान्तरण गरिँदै थियो । त्यहाँ विभिन्न देशका व्यक्तिहरु हुने भएकाले उनीहरुलाई सामान्य भाषा र व्यवहार कसरी गर्ने भनेर अनुग्राह सेक्युरिटीले रिफ्रेसमेन्ट तालिम दिँदै थियो । 

तालिम सकिएलगत्तै हामी अनुग्राह सेक्युरिटीको मुख्यालयमा पुग्यौँ ।  त्यहाँ भेटिए अनुग्राह सेक्युरिटीका मालिक तथा निर्देशक दातो अब्दुल अजिजबिन अब्दुल सलाम । सुरु भयो, नेपाली सेक्युरिटी गार्डको कथा र ल्याउनका लागि गर्नुपर्ने काम र खर्चबारे । 

कामदार ल्याउन रोजगारदाताले तिर्छन् १ लाख ६० हजार

कुराकानीको सुरुवातमै उनले भने मैले कामदार ल्याउनका लागि ५ हजार ५ सय मलेसियाली रिङ्गिट खर्च गरेको छु । हालको मूल्यमा १ मलेसियाली रिङ्गिट बराबर २८ रुपैयाँ नेपाली रकम रहेको छ । यही रकमलाई आधार माने पनि एउटा मलेसियाली कम्पनीले नेपालबाट सेक्युरिटी गार्ड नेपाल ल्याउनका लागि प्रतिव्यक्ति करिब १ लाख ६० हजार खर्च गर्ने गरेका रहेछन् । 

मलेसियामा रहेको सेक्युरिटी कम्पनीले नेपालबाट कामदार ल्याउने प्रोसेसका लागि आवश्यक सम्पूर्ण रकम मलेसियाबाटै पठाउने गरेको रहेछ । मलेसियामा सेक्युरिटी गार्ड सप्लाई गर्ने अधिकांश कम्पनीले कामदार ल्याउने प्रक्रियाका लागि नेपाली म्यानपावर कम्पनीहरूलाई पैसा दिने गरेका रहेछन् । 

कामदारलाई मलेसिया ल्याउनका लागि गर्ने मेडिकल, नेपालमा गर्ने बिमा, फ्लाइट टिकट र म्यानपावर कम्पनीहरुलाई दिने कमिसनसमेत अधिकांशले यतैबाट पठाउने गरेका रहेछन् । तर नेपालमा भने यी सबैको पैसा अधिकांश म्यानपावर कम्पनीले कामदारबाटै असुल मात्रै गर्दैनन्, कामदारबाट सेवा शुल्कलगायतका अन्य शीर्षकमा पनि पैसा असुल्ने गरेका छन् । 

अनुग्रह सेक्युरिटीका निर्देशक दातो अब्दुल अजिज बिन अब्दुल सलामका अनुसार हामीले जुन जुन नेपाली कामदारसँग कुराकानी गर्यौँ, उनीहरुलाई मलेसियामा ल्याउने प्रक्रियाका लागि प्रतिकामदार ५ हजार ५ सय मलेसियाली रिङ्गिट खर्च गरेका छन् ।

नेपालमा हुने खर्चहरुमध्ये उनीहरुले बायोमेडिकलदेखि सेक्युरिटी क्लिअरेन्स, भिसाका लागि तिर्नुपर्ने अन्य सबै रकम पठाइदिएका थिए । त्यति मात्रै होइन, कामदार आउनका लागि आवश्यक हवाई टिकट र म्यानपावर एजेन्सीलाई कमिसनबापत ७ सय मलेसियाली रिङ्गिट पनि बुझाएका थिए । 

सबै खर्च मलेसियाली कम्पनीले बेहोर्ने भने तापनि कोटेश्वरमा रहेको युनाइटेड एचआर सोलुसन नामक म्यानपावर कम्पनीले भने प्रतिकामदार १ लाखभन्दा बढी रकम लिएको पाइयो ।  मलेसियाली सेक्युरिटी कम्पनीले सबै खर्च दिँदा पनि नेपालका म्यानपावर कम्पनीले किन यस्तो गर्छन् भन्ने हाम्रो प्रश्नमा यसका निर्देशक दातो अब्दुल अजिज बिन अब्दुल सलामले भने, ‘नेपालका म्यानपावर कम्पनी त लुटेरा नै रहेछन् ।’
मलेसियामा कामदारको आपूर्ति गर्ने अधिकांश कम्पनीहरुको साझा धारणा हो यो । मलेसियामा सेक्युरिटी गार्डको आपूर्ति गर्ने करिबकरिब सबैजसो कम्पनीहरुले कामदारका लागि लाग्ने सबै खर्च पठाइदिने गरेका छन् । 

मलेसियास्थित सेक्युरिटी कम्पनीहरुका अनुसार नेपालबाट सेक्युरिटी गार्ड ल्याउनका लागि आवश्यक सबै खर्च रोजगारदाता कम्पनीहरुले नै बेहोर्ने गरेका छन् । यतिसम्म कि केही केही म्यानपावर कम्पनीहरुले त कामदारलाई गाउँबाट सहरसम्म आउने र खाने तथा बस्ने खर्चसमेत पठाइदिने गरेका छन् ।  तर नेपालका म्यानपावर कम्पनीले भने यताबाट पठाएको सबै पैसा मात्रै खाइदिन्नन्, उल्टै कामदारबाट सेवा शुल्क र फ्लाइट टिकटको पैसासमेत तिराउँछन् र प्रतिव्यक्ति करिब करिब १ लाख पैसा लिने गरेका छन् । 

अधिकांश सेक्युरिटी कम्पनीको फ्री भिसा, फ्रि टिकट

मलेसियास्थित केही सेक्युरिटी कम्पनीका अनुसार अधिकांश सेक्युरिटी कम्पनीले नेपालका म्यानपावर कम्पनीलाई सबै खर्च पठाउने गरेका छन् । यतिसम्म कि म्यानपावर कम्पनीको कमिसनसमेत मलेसियाबाटै पठाउने गरिएको छ ।

उनीहरुका अनुसार नेपाली सेक्युरिटी गार्डले नेपालमा एक रुपैयाँ पनि तिर्नु नपर्ने हो तर नेपालका म्यानपावर कम्पनीले प्रतिकामदार सरदर १ लाख नेपाली रुपैयाँ लिने गरेका छन् । यसो गर्दा म्यानपावर कम्पनीलाई सरदरमा प्रतिव्यक्ति १ लाख ५० हजारको हाराहारीमा नाफा हुने गरेको छ । 

सेक्युरिटी गार्ड भन्छन्, ‘बिदा पाइएन’    

काम गर्ने सबै सेक्युरिटी गार्डको दैनिक काम १२ घण्टा र महिनामा ३० दिन नै हुने गरेको छ । उनीहरुलाई कुनै दिन छुट्टी मिल्दैन । सामान्यतः दैनिक ८ घण्टा र सातामा १ दिन विदा पाउनुपर्ने भए पनि सेक्युरिटी गार्डको सम्बनधमा भने श्रम ऐन नै लागू हुँदैन । त्यसकारण उनीहरु दैनिक १२ घण्टा महिनामा कुनै दिन बिदा नबसीकनै काम गर्न बाध्य हुने गरेका छन् ।

कहिलेकाहीँ कुनै कारणले बिदा बस्नु परे पनि बिदा बसेको दिनको पैसा कट्टा हुने गरेको छ । जसको कारण उनीहरुलाई बिदा आवश्वक भए पनि बिदा बस्न नै सक्दैनन् र पाउँदैनन् । त्यसकारण सेक्युरिटी गार्डका लागि कुनै पनि दिन रिफ्रेस हुने दिन आउँदैन ।

होस्टेलमा धेरै मानिस राखिदिन्छन्

मलेसियामा रहेका सेक्युरिटी गार्डहरुको समस्या भनेको होस्टलमा धेरै मानिसहरु राखिदिने नै हो । कहिलेकाहीँ त यतिसम्म हुन्छ कि ६ जना बस्न मिल्ने होस्टलमा १५ जनासम्म कोचेर राखिदिन्छन् । जसका कारण कोठामा बस्न ज्यादै कठिन हुने गरेको छ । 

मलेसियाको औषत तापक्रम भनेको ३५ डिग्री सेल्सियस हो, जुन औषत नेपालीहरुका लागि अत्यधिक गर्मी हो । नेपालको औसत तापक्रम १८ डिग्री र पहाडी मूलका सेक्युरिटी गार्डका लागि औसत तापक्रम १५ डिग्री रहने गरेको छ ।

जसका कारण उनीहरुलाई ३५ डिग्री सेल्सियस तापक्रममा बस्न धेरै गाह्रो हुन्छ । तर होस्टलमा एसी (एअर कन्डिसन) को व्यवस्था अधिकांशमा हुँदैन । अधिकांश होस्टलमा सामान्य फ्यानको मात्रै व्यवस्था गरिएको हुन्छ । जसका कारण उनीहरु अत्यधिक गर्मीमा बस्न बाध्य हुन्छन् र सुरु सुरुमा त धेरैजसो सेक्युरिटी गार्ड बिरामी पर्ने गरेका छन् ।

तलब आकर्षक

पछिल्लो समय मलेसियालमा सेक्युरिटी गार्डको काम गर्ने नेपालीको तलब भने आकर्षक नै रहेको छ । एकजना सेक्युरिटी गार्डले दैनिक १२ घण्टा काम गर्दा कम्तीमा पनि १ हजार ८ सय मलेसियाली रिङ्गिट पाउने गरेका छन् । अलि पढेका, हाइट भएका र आकर्षक सेक्युरिटी गार्ड छन् भने उनीहरुले २ हजार ५ सयसम्म पाउने गरेका छन् ।

भूतपूर्व आर्मी वा प्रहरी छन् भने त उनीहरुले मासिक ३ हजार मलेसियाली रिङ्गिटसम्म पाउने गरेका छन् । यद्यपि पछिल्लो दिनमा भूतपूर्व आर्मी वा पुलिस पाउन भने गाह्रो भएको मलेसियाली रोजगारदाता कम्पनीको गुनासो छ । 

अहिलेको मूल्यलाई हेर्ने हो भने १ हजार ८ सय मलेसियाली रिङ्गिट मात्रै भए पनि एकजनाले मासिक कम्तीमा ५० हजार नेपाली रुपैयाँ कमाउन सक्छन् । त्यसकारण मलेसियाको आम्दानी अहिलेको अवस्थामा नराम्रो भने छैन ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप