प्रचण्ड कमरेड ! अन्धराष्ट्रवाद भनेको के हो ?

person access_timeसाउन १८, २०७४ chat_bubble_outline0

तेस्रो चरणको चुनावी प्रचारमा हिंड्नु भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अन्धराष्ट्रवादको जमेर विरोध गर्नुभएको छ । दश वर्षसम्म भारतीय विस्तारवादको विरुद्धमा हतियार उठाएर १६ हजार नेपालीको रगत बगाउन सफल हुनुभएका कमरेड प्रचण्डले छिमेकी देश भारतलाई खुशी तुल्याउन अन्धराष्ट्रवाद भन्दै नेपाली देशभक्तहरूलाई तुच्छ शब्द प्रयोग गर्नुभएको छ । एमाले नेतृत्वतिर निशाना गर्दै अन्धराष्ट्रवाद भनिएको भए पनि कमरेड प्रचण्डको यस्तो चिन्तनले माओवादी केन्द्रलाई चुनावी परिणाम सकारात्मक बन्न सक्दैन । 


दुई चरणको स्थानीय तहको चुनावी समीक्षा गर्ने क्रममा प्रमुख राजनीतिक दलहरूले आ–आफ्ना पार्टीभित्रका अन्तरघातीहरूलाई दोषी ठहर गर्दै कारबाहीको डण्डा वर्षाएका छन् । उम्मेदवारीको टिकट पाउनुपर्ने दाबेदार बनेका पार्टीका कार्यकर्ताहरूले टिकट नपाएपछि गरिएको विद्रोह उनीहरूको पार्टीविरोधी क्रियाकलाप ठहर भएको छ । यस्तो कारबाही प्रक्रिया स्थानीय तहको चुनावमा पहिलो हैसियत बनाएको नेकपा (एमाले) र दोस्रो हैसियत बनाएको नेपाली कांग्रेस पार्टीमा निकै चर्काे देखियो । एमाले र कांग्रेसबीच को पहिलो हुने भन्ने प्रतिस्पर्धामा अन्तरघातीहरूको खेलले परिणाम नकारात्मक प्राप्त भएको दुवै पार्टीको निष्कर्ष रहेको छ । अन्तरघात आफैमा राम्रो कुरा होइन । तथापि अन्तरघातले प्रतिस्पर्धाको राजनीतिलाई सहयोग पु¥याउने काम पनि गर्ने भएकाले राजनीतिमा अन्तरघातलाई स्वाभाविक मान्नुपर्छ भन्ने पंक्तिकारको निष्कर्ष रहेको छ ।


चुनावी समीक्षा बैठकमा अन्तरघात सम्बन्धमा सबैभन्दा कम चर्चा भएको नेकपा (माओवादी केन्द्र)मा देखियो । माओवादी केन्द्रमा अन्तरघातभन्दा पार्टीको आन्तरिक तयारी कमजोर भएको र सरकारमा रहँदा गरिएका राम्रा कामहरूको प्रचार जनतामा पु¥याउन नसकेको जस्ता विषयले प्राथमिकता पाए । माओवादी केन्द्रको समीक्षा बैठकले पार्टीलाई अब जनतामा पु¥याउने र अरु सबै पार्टीहरूलाई उछिनेर अगाडि बढ्ने निष्कर्ष पनि लिएको पाइयो । परन्तु कमरेड प्रचण्डबाट आइरहेका ‘आँखा खुलेका राष्ट्रवादी’ (राष्ट्रघाती) अभिव्यक्तिहरूले माओवादी केन्द्रलाई अझै तल झार्ने निश्चित छ । 


दश वर्षसम्म सशस्त्र युद्ध लडेर शान्ति प्रक्रियामा रूपान्तरित भएको पार्टी भएकाले यो पार्टी सबैभन्दा बढी मत प्राप्त गरेर शान्ति प्रक्रियाबाटै युद्धकालीन एजेण्डाहरू कार्यान्वयन गर्ने हैसियतमा पुग्ला भन्ने आशा सर्वत्र गरिएको हो । परन्तु यो पार्टीभित्रको वैचारिक द्वन्द र व्यक्तिगत स्वार्थका अत्यन्त घीनलाग्दा प्रतिस्पर्धाले यस पार्टीलाई लज्जाजनक विभाजनमा पु¥याएर पार्टीले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । 


देशमा गणतन्त्र घोषणा भएको ११ वर्ष बितिसकेको छ । गणतन्त्रलाई संस्थागत गर्ने पहिलो दस्तावेजका रूपमा संविधान जारी भएपछिको स्थानीय तहको निर्वाचन निश्चय पनि सबैको चासोको विषय हो । देशलाई विखण्डित गराउने खेल छिमेकी देशबाट खुला रूपमा भइरहेको छ । देशभित्रकै राजनीतिक दलहरूलाई छिमेकी देशको दूतावासले खुला रूपमै दूतावासमा आमन्त्रण गरेर निर्देशन गरेका समाचारहरू सार्वजनिक भइरहेका छन् । यस्तो अवस्थामा संविधानको कार्यान्वयनका नाममा दलहरूबीच अत्यन्त भद्दा किसिमको गालीगलौज सुरु भइरहेको छ । यो अवस्था देखापर्नु देशको लागि दुर्भाग्य हो । 


तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध थालनी गर्दा राष्ट्रियतालाई प्राथमिकतामा राखिएको थियो । राष्ट्रियताको बहस यतिबेला झनै गम्भीर मोडमा पुगेको छ । माओवादीले ०५२ सालमा जनयुद्ध सुरु गर्दा नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको अवस्था आजको जस्तो थिएन । विदेशी हस्तक्षेप बढेको कुरालाई सबै राजनीतिक दलहरूले स्वीकार गरिरहेको अवस्था छ । मधेश केन्द्रित राजनीतिक दलहरूका गतिविधि र उनीहरूलाई विशेष प्राथमिकता दिएर आफ्नै देशका नागरिकसरह ठान्ने भारतीय दूतावासको क्रियाकलापले पनि नेपालको राष्ट्रिय स्वाधीनताको कमजोर अवस्थालाई चित्रण गरिरहेको छ । माओवादीले दश वर्षसम्म सशस्त्र युद्ध गरिरहँदासम्म राष्ट्रघाती कार्यहरू भनेर गरिएका व्याख्यालाई आज स्वयं माओवादीकै नेतृत्वपंक्तिबाट अनौठो ढंगले विश्लेषण गर्न थालिएको पाइन्छ ।

कस्तो कार्य राष्ट्रवादी हो र कस्तो कार्य राष्ट्रघाती हो भन्ने विषयको विश्लेषण गर्ने सवालमा दश वर्षकै अन्तरालमा आकाश–पातालको फरक देखिनु लाज लाग्ने विषय हो । युद्धकालमा आफैले बोकेका राष्ट्रियताका एजेण्डाहरू आज अरुले उठाउँदा त्यसलाई अन्धराष्ट्रवाद भनेर अपमानित गर्नु घोर आपत्तिजनक विषय हो । राष्ट्रवाद आफैमा राष्ट्रवाद हो । त्यो न त अन्ध हुन्छ, न प्रतिगामी हुन्छ, न त प्रगतिशील नै हुन्छ । राष्ट्रवादलाई कुनै विशेषण लगाएर अपमान गर्नु वा विश्लेषण गर्नु आवश्यक छैन । 


नेपालमा धर्म र जातको राजनीति २०५२ सालभन्दा पहिले देखिंदैनथ्यो । ०५२ सालपछि दशवर्षे युद्धकाल ०६२÷६३ सालसम्म पनि धर्म र जातको राजनीतिले टाउको उठाएको थिएन । त्यसपछिको अवस्था यस्तो भयावह बन्दै गइरहेको छ कि यसलाई सम्हाल्न धेरै कठिन हुने अवस्था देखिंदै छ । 


सर्वप्रथम दक्षिणतिरको छिमेकी मुलुकलाई खुशी तुल्याउन नागरिकता वितरणसम्बन्धी नयाँ नीति लागू गरियो । त्यही नागरिकतासम्बन्धी नीतिले नै नेपाललाई विखण्डन गराउने आधार बनाइरहेको छ । यस्तो राष्ट्रघाती नागरिकता नीतिको विरोध गर्नु अन्धराष्ट्रवाद हो ? त्यही नागरिकता नीतिबाट नयाँ नेपाली बनेका विदेशी नागरिकहरू नेपालको तस्बिरलाई साँघुरो बनाउन तल्लीन भएका छन् ।

यसले गर्दा गणतन्त्र नेपालको मानचित्र साँघुरो हुने अवस्था विकसित भइरहेको छ । यही अवस्थाको विरोध गर्नेहरूलाई अन्धराष्ट्रवादी भनेर होच्याउने प्रवृत्ति दश वर्षसम्म राष्ट्रियताको एजेण्डालाई मुख्य मुद्दा बनाएर हतियार उठाएका राजनीतिक व्यक्तिहरूमा देखापर्नु दुःखद पक्ष हो । यो नेपाली जनताको भावनाविपरीतको काम हो ।

यस्तो कामले जनताको मन जित्न सकिंदैन । देशभक्त जनताको मन दुखाउने गरी भाषण गर्दै हिंडेपछि जनताको मत पाउन सक्ने कुरा हुँदैन । समयमै सचेत बन्न सकिएन भने हाम्रो गणतान्त्रिक नेपालले देश विभाजनको दुःखद नियति भोग्नुपर्ने निश्चित छ, आगे नेताजीहरूलाई चेतना भया !
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ