शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी हुन् प्रदेश ५ मा अलग अलग इतिहास रचेका गाउँपालिका प्रमुख, उपप्रमुखहरू

बिहीबार, ०७ चैत २०७५, १० : ३८
बिहीबार, ०७ चैत २०७५

बुटवल । पहिलो स्थानीय तहको निर्वाचनमा प्रदेश पाँचका ७३ वटा गाउँपालिकाहरूमा सबैभन्दा जेठा, कान्छा,  लैङ्गिक र समुदायगत रूपमा  विभिन्न  गाउँपालिका प्रमुख र उप–प्रमुखहरूले इतिहास रचेका छन् । 

कसकसले इतिहास रचे ? भन्ने विषयमा   हामीले प्रदेश पाँचको गाउँपालिका महासङ्घसँग तथ्याङ्क मागेका थियौँ । त्यस  महासङ्घ प्रदेश  समन्वय समितिका अध्यक्ष  तथा गुल्मीको छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले उपलब्ध गराएको तथ्याङ्कअनुसार प्रदेश पाँचभरीमा    सबैभन्दा ज्येष्ठ  गाउँपालिका प्रमुखको इतिहास बनाएका छन् गुल्मीको रूरू गाउँपालिका प्रमुख नीलकण्ठ गौतमले । उम्मेदवारी दर्ता गराउँदा उनको उमेर ७१ वर्ष रहेको छ ।

 यी हुन् प्रदेशभर सबैभन्दा कान्छा गाउँपालिका प्रमुख

सबैभन्दा कम उमेरको गाउँपालिका प्रमुखको इतिहास गुल्मीकै धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले रचेका छन्  । उनको उमेर ३४ वर्ष भयो ।   उनी जस्तै ३४ वर्ष उमेर पुगेका अरू दुई गाउँपालिका प्रमुख रहेपछि हामी उनीहरूको जन्ममिति सोध्यौँ । त्यसअनुसार रूपन्देहीको रोहिणी गाउँपालिका प्रमुख सनोजकुमार यादवको जन्ममिति २०४० कात्तिक १० गते भएको उनले बताए ।

सोही उमेरका रहेका छन् पाल्पाको माथागढी गाउँपालिका प्रमुख सन्तोषकुमार थापा पनि । उनको पनि जन्म मिति २०४० साल  साउन १३ गते रहेको छ । धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलको जन्म मिति २०४० चैत्र १३ गते भएकाले उनी प्रदेश ५ मा सबैभन्दा कान्छा गाउँपालिका प्रमुख भएका हुन् ।  

प्रदेश ५ का गाउँपालिकाहरूमा सबैभन्दा  ज्येष्ठ  जनप्रतिनिधि बाँके जिल्लाको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तव रहेकी छन् । उनको उमेर उमेदवारी दर्ता गराउँदा ७२ वर्ष  रहेको छ । प्रदेश पाँचका  गाउँपालिका प्रमुख र उप–प्रमुखहरूमध्ये सबैभन्दा कान्छी रोल्पाकी २७ वर्षीया सुनछहरा गाउँपालिकाकी उपप्रमुख पवित्रा घर्ती मगर रहेकी छन् । सोही उमेरकै रूपन्दहीको मर्चवार गाउँपालिका उपाध्यक्ष सुनिता कलवार पनि हुन् । तर जन्ममितिका आधारमा रोल्पाकी  घर्ती सबैभन्दा कम उमेरकी जनप्रतिनिधि भएकी हुन् ।

एक मात्र महिला गाउँपालिमा प्रमुख
प्रदेश पाँचमा एक मात्र महिला गाउँपालिका प्रमुखको इतिहास रचेकी छन् रूकुमको सिस्ने गाउँपालिका प्रमुख ३४ वर्षीया कुमारी बराल गौतमले । प्रदेश पाँचका विभिन्न गाउँपालिका र नगरपालिकाबाट प्रमुख पदमा  दर्जनौँ महिलाहरूले उमेदवारी दिए पनि बराल गौतम मात्र गाउँपालिका प्रमुखमा पूर्वमाओवादीबाट विजयी भएकी हुन् ।

यी हुन् लैङ्गिक र समुदायगत इतिहास रच्नेहरू
प्रदेश पाँचभरीमा दलित समुदायबाट एक मात्र गाउँपालिका प्रमुख  भएको इतिहास रच्ने नेता हुन प्युठानको सरूमारानी गाउँपालिका प्रमुख ४१  वर्षीय  झगबहादु विश्वकर्मा । पाहडी मूलका दलितहरूबाट  गाउँपालिका उपप्रमुख हुने  इतिहास रचेका छन्, तीनजना दलित महिलाले । प्युठानको गौमुखी गाउँपालिकाको उपप्रमुख ३२ वर्षीया तुल्सी सुनार हुन् । बाँकेको खजुरा गाउँपालिकामा उपप्रमुख रहेकी छन् एक माया विश्वकर्मा रहेकी छन् ।

सोही जिल्लाको वैजनाथ गाउँपालिका उपप्रमुख हुन् शारदाकुमारी विश्वकर्मा । तराई मूलका दलित महिलाहरू उप–प्रमुखको इतिहास दुई जना महिलाले रचेका छन् । रूपन्देहीको रोहिणी गाउँपालिका उपप्रमुख हुन् शिवकान्ति चमार ।

त्यस्तै सोही जिल्लाको मचर्वार गाउँपालिकाकी उपप्रमुख हुन् सुनिता कलवार ।   प्रदेशमा गुरुङ समुदायबाट एक मात्र गाउँपालिका उपप्रमुखको इतिहास रच्न सफल भएकी छन् रूपन्देहीकै सियारी गाउँपालिका उपप्रमुख अमृता थापाले । त्यो पनि पाहडबाट तराई झरेर ।

 ७३ वटा गाउँपालिकामध्ये   जम्मा दुई जना मात्र पुरुषले उपप्रमुखको इतिहास रचेका छन् । एक हुन् गुल्मीको धुर्कोट गाउँपालिका उप प्रमुख शिवबहादुर केसी (खत्री) र  रूकुम सिस्ने गाउँपालिका गोवद्र्धन बुढा ।

 कुन जिल्लामा को कति उमेरका छन् ?

गुल्मी– १० गाउँपालिका रहेको गुल्मीमा अन्यत्रभन्दा बढी उमेरका केही गाउँपालिका प्रमुख र उपप्रमुख रहेका छन् । रूरूका ७१ वर्षीय गाउँपालिका प्रमुख गौतमका अलवा मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी (खत्री) ६७ वर्षका भए ।  गुल्मीदरबार गाउँपालिका प्रमुख अशोककुमार थापा ६६ वर्षका भए ।  इस्मा गाउँपालिका प्रमुख लक्ष्मणबहादुर विष्ट ६५ वर्षका भए ।
   छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्त ६२ वर्षका भए । गुल्मीदरबार गाउँपलिका उपप्रमुख मिना भण्डारी ६१ वर्षकी भइन् । त्यसभन्दा कम रहेका ५६ वर्षदेखि गुल्मीको हकमा सबैभन्दा कम उमेरकी  प्रमुख, उप–प्रमुखमध्ये मदाने गाउँपालिकाकी उप–प्रमुख ३१ वर्षीया सरिता खड्का हुन् ।

पाल्पा–८  गाउँपालिका रहेको पाल्पामा  उमेरमा ६० नाघेका एक जना पनि प्रमुख उपप्रमुख छैनन् । त्यस जिल्लामा सबैभन्दा बढी उमेरका रैनादेवी छहरा गाउँपालिका प्रमुख ५८ वर्षीय रामबहादुर कार्की हुन् । सबैभन्दा कम उमेरका माथागढी गाउँपालिका प्रमुख हुन् ३४ वर्षीय सन्तोषकुमार थापा हुन् ।
अर्घाखाँची–  ३ गाउँपालिका रहेको अर्घाखाँचीमा ६० नाघेका दुई जना मात्र गाउँपालिका प्रमुख  र उप–प्रमुख छन् । ती हुन बालकृष्ण शर्मा (आचार्य) र उपप्रमुख प्रमिला क्षेत्री ।  सबैभन्दा कम उमेरका हुन् पाणेनी गाउँपालिका प्रमुख ४३ वर्षीया अच्युत गौतम ।

नवलपरासी–४ गाउँपालिका रहेको  पश्चिम नवलपारासीमा सबैभन्दा बढी उमेर ५१ वर्ष भएका प्रतापपुर गाउँपालिका  प्रमुख हुन राजकुमार शर्मा । सबैभन्दा कम उमेरकी उप–प्रमुख हुन्, सुस्ता गाउँपालिकाकी  ३३  वर्षीया कृष्णकुमारी थरूनी ।

रूपन्देही– १० गाउँपालिका रहेको  रूपन्देहीमा सबैभन्दा बढी उमेरका गाउँपालिका प्रमुख हुन् सियारी गाउँपालिका प्रमुख ६५ वर्षीय अयोद्धा थारू । सबैभन्दा कम उमेरका हुन् मर्चवार गाउँपालिकाकी २७ वर्षीय सुनिता कलवार ।

कपिलवस्तु– ४ गाउँपालिका रहेको कपिलवस्तुमा सबैभन्दा बढी उमेर ५१ वर्ष पुगेका प्रमुख  र उपप्रमुख हुन शुद्धोधन गाउँपालिकाका निसारह अहमद मुसलमान र उपप्रमुख सुधादेवी पाण्डे । सबैभन्दा कम उमेर रहेको छ । विजयनगर गाउँपालिकाकी उप–प्रमुख २९ वर्षीया लक्ष्मीकुमारी चौधरी  ।

रूकुम– ३ गाउँपालिका मात्र रहेको रूकुममा सबैभन्दा बढी उमेर ६४ वर्ष पुगेका छन् पुथा उत्तरगङ्गा ओमप्रकाश घर्ती ।  सबैभन्दा कम उमेर ३२ वर्षकी हुन् सोही गाउँपालिका उपप्रमुख ओमकुकारी शाही मल्ल ।

रोल्पा– ९ वटा गाउँपालिका रहेको रोल्पामा सबैभन्दा बढी उमेर  सुवर्णवाती गाउँपालिका उपप्रमुख ५७ वर्षीया बागमती क्षेत्रिनी ।  त्यस जिल्लामा मात्र नभई प्रदेशभरमै कम उमेरकी हुन् सुनछहरा गाउँपालिकाकी उपप्रमुख पवित्रा घर्ती मगर ।

प्युठान– ७ गाउँपालिका रहेको प्युठानमा सबैभन्दा बढी उमेरका हुन् झिम्रुक गाउँपालिका प्रमुख वर्ष ५१ का तिलकबहादुर जिसी ।  सबैभन्दा कम उमेरकी हुन् गौमुखी गाउँपालिकाको उपप्रमुख ३२ वर्षीया तुल्सी सुनार ।
दाङ–  ७ वटा गाउँपालिका रहेको दाङमा  ६५ वर्ष उमेर  पुग्न लागेका दुई जना रहेका छन् । ती हुन राप्ती गाउँपालिका प्रमुख नुमानन्द सुवेदी र  शान्तिनगर गाउँपालिका प्रमुख  कमानसिंह डाँगी । बङ्गलाचुली गाउँपालिका उपप्रमुख ३३ वर्षीय यमुना थापा मगर ।

 बाँके– ६ वटा गाउँपालिका रहेको बाँकेमा ७२ वर्ष उमेर नाघेकी नरैनापुर  गाउँपालिका उप–जयन्तीदेवी श्रीवास्तव ।  राप्ती सोनारी गाउँपालिका उपप्रमुख धनीकुमारी खत्रीले ६३ वर्ष नाघेकी छन् । सबैभन्दा कम उमेरकी छन् डुडुवा गाउँपालिका उपप्रमुख सहिदा वानो ।
बर्दिया–  २ गाउँपालिका रहेको बर्दियमा सबैभन्दा बढी उमेरका बढैयाताल गाउँपालिका प्रमुख हुन् ५२ वर्षीय लालबहादुर श्रेष्ठ  ।   सबैभन्दा कम उमेर ४६ वर्षका रहेका छन् गेरूवा गाउँपालिका प्रमुख जमानसिंह केसी र बढैयाताल गाउँपालिका उप–प्रमुख  दीपाकुमारी गौतम ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप