शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्मला हत्या अनुसन्धान : घुमिफिरी रुम्जाटार !

बिहीबार, ०७ चैत २०७५, ०८ : ५३
बिहीबार, ०७ चैत २०७५

काठमाडौँ– ‘घुमिफिरी रुम्जाटार’ भनेजस्तै बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको ‘हत्यारा’ पत्ता लगाउने प्रहरी प्रयास पुनः ८ महिना अगाडिकै अवस्थामा फर्किएको छ । 

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर–उल्टाखाम सडक नजिकै उखुबारीमा निर्मलाको बलात्कारपछि हत्या भएको ८ महिना पुगिसकेको छ तर अनुसन्धान नतिजा घुम्दै फिर्दै पुरानै स्थानमा फर्किएको छ । 

निर्मला हत्यामा संलग्न रहेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोबाट घटनाको अनुसन्धान गर्न कञ्चनपुर पुगेका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) अङ्गुर जीसी नेतृत्वको टोलीले भदौ ३ गते घटनास्थल नजिकैबाट स्थानीय दिलिप सिंह विष्टलाई नियन्त्रणमा लिएको थियो । 

प्रहरीसँगको साविती बयानमा विष्टले बलात्कारपछि देब्रो हातले घाँटी थिचेर १३ वर्षीया बालिका निर्मलाको हत्या गरेको बयान दिए । तर स्थानीयले दिलिपसिंह विष्टलाई प्रहरीले फसाएको आरोप लगाउँदै आन्दोलन चर्काए । डीएनए रिपोर्ट नमिलेपछि उनी छुटेका थिए । तर आठ महिनापछि अहिले तिनै दिलिपसिंह विष्टतिर नै आशङ्काको सुई घुम्न थालेको छ ।

निर्मला हत्या अनुसन्धान गर्न प्रहरी सङ्गठनभित्र अनुसन्धानमा काविल भनेर चिनिएका दर्जनौँ अफिसर खटिए । तर रिजल्ट जिरोबाट माथि उक्लिनै सकेको छैन । 

फागुन ३० गते निर्मलाकी आमा दुर्गादेवी पन्तले छोरीलाई बलात्कारपछि हत्या गर्ने पुरुष व्यक्ति दिलिपसिंह विष्ट नै भएको बताएपछि निर्मला बलात्कार–हत्या प्रकरणले नयाँ मोड लिएको छ । दुर्गादेवी पन्तले राजधानीबाट प्रकाशित एक अनलाइन सञ्चारमाध्यमका कञ्चनपुर प्रतिनिसधिसँग कुरा गर्दै भनेकी छिन्, ‘दिलिप सिंह विष्टले प्रहरी बयानका क्रममा बोलेको भिडियो हेरेँ, भिडियोमा बताएका विवरण सबै सत्य छन्, कसैले सिकाएर वा धक्याएर बोलेको जस्तो लागेन । उसैले मेरो छोरीको हत्या गरेको जस्तो लाग्न थाल्यो ।’ 

डीएनए परीक्षणमा त्रुटि 
निर्मला बलात्कार–हत्या अनुसन्धान पुरानै ठाउँमा फर्किनुको मुख्य कारण डीएनए सङ्कलन र परीक्षणको क्रममा गरिएको त्रुटि हो । महाकाली अञ्चल अस्पतालका डाक्टरले भेजिनल स्वाबको तीवटा स्याम्पल सङ्कलन गरेका थिए, जुन स्याम्पल नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइयो । 
प्रहरीको विधिविज्ञान प्रयोगशालामा परीक्षण गर्दा दुईवटा स्याम्पलबाट डीएनए जेनेरेट भइसकेको थियो । तर बाँकी रहेको अन्तिम स्याम्पल नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा परीक्षणका लागि किन पठाइएन ? प्रश्न उठेको छ । 

पछिल्लो तीन वर्षयता मात्रै डीएनए परीक्षण गर्न थालेको नेपाल प्रहरीको विधि विज्ञान प्रयोशालसँग डीएनएका १६ क्यारेक्टर मात्रै हेर्ने क्षमता रहेको छ । तर जानकारहरुका अनुसार कम्तीमा डीएनएको २० क्यारेक्टर परीक्षण गर्नुपर्छ । 

विगत २५ वर्षदेखि डीएनए परीक्षण गर्दै आएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) सँग डीएनएको २५ क्यारेक्टर जाँच गर्ने क्षमता रहेको छ । 

विधि विज्ञान प्रयोगशालाका प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक (एसपी) राकेश सिंह आफैले भेजिनल स्वाबबाट डीएनए जेनेरेट गरेका थिए । विधिविज्ञान प्रयोशालाको डीएनए विभागका प्रमुख समेत रहेका सिंहले त्रुटिपूर्ण ढङ्गले डीएनए परीक्षण गरेको उल्लेख गर्दै राष्ट्रिय मानव अधिकार आयोगले उनीसहित भेजिनल स्वाब सङ्कलन गर्ने डाक्टरलाई समेत कारबाही गर्न सिफारिस गरेको छ । 

प्रधानमन्त्री कार्यालयमा सिफारिससहित २०७३ माघ १३ गते बुझाइएको उक्त रिपोर्ट उपर प्रधानमन्त्री कार्यालय र प्रहरी प्रधान कार्यालयले कुनै चासो देखाएका छैनन् । 

‘भेजिनल स्वाबलगायतका नमुनाहरु सङ्कलन गर्दा नमुना सङ्कलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको देखियो’ राष्ट्रिय मानव अधिकार आयोगको रिपोर्टमा भनिएको छ, ‘निर्मला पन्तको घटनामा वाईएसटीआर प्रविधिबाट मात्रै डीएनए परीक्षण गरेको पाइयो,  यसबाट वंश समूह पहिचान गर्न सघाउ पुग्ने । तर व्यक्ति पहिचान गर्न सकिने आटो सोमल प्रविधि प्रयोग गरेको पाइएन ।’ 

वाईएसटीआर प्रविधिबाट परीक्षण गरेको डीएनए एउटै वंशका सबैसँग मिल्छ  । तर विधिविज्ञानले वंश पहिचान मात्रै हुनसक्ने प्रविधिबाट जाँच गरिएको डीएनए दिलिपसिंह विष्टको नभएको ठोकुवा गरेर रिपोर्ट पठाएको थियो । बलात्कारमा संलग्न अपराधी पहिचान गर्न अटोसोमल विधि प्रयोग गर्नुपर्ने भए पनि त्यस्तो प्रविधि प्रयोग नगर्नु त्रुटिपूर्ण भएको मानव अधिकार आयोगको रिपोर्टमा उल्लेख गरिएको छ ।   
डीएनए परीक्षण त्रुटिपूर्ण रहेको र भेजिनल स्वाबको स्याम्पल बाँकी नरहेको अवस्थामा आयोगले निर्मला हत्या अनुसन्धान अब डीएनएको भरमा नपरेर ह्युमेन इन्टेलिजेन्सको माध्यमबाट अनुसन्धान जारी राख्न सरकारलाई सिफारिस गरेको छ । 

आयोगको रिपोर्टमा भनिएको छ, ‘बाँकी भेजिनल स्वाबबाट थप नतिजामूलक परीक्षणको सम्भावना अत्यधिक कम रहेका पाइँदा अब यसैमा मात्र भर नपरी ह्युमेन इन्टेलिजेन्सको माध्यमद्वारा प्रभावकारी र नतिजामूलक अनुसन्धान जारी राख्न ।’ 

मानव अधिकार आयोगले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका डीएनए विज्ञ दिनेश झालाई आफ्नो टिममा राखेर विधिविज्ञान प्रयोशालाले गरेको परीक्षणबारे अनुसन्धान गरेको थियो । 

दिलिपसिंहमाथि नै शङ्का किन ?

निर्मलाको हत्या गरेको आशङ्कामा पक्राउ परेपछि डीएनए रिपोर्ट ‘नेगेटिभ’ आएपछि छुटेका स्थानीय दिलिपसिंह विष्टको पृष्ठभूमि आपराधिक प्रवृत्तिको रहेको छ । नेपाली सेनाले गराउने राष्ट्रिय सेवा दलको तालिम लिएका विष्ट आफ्नै भिनाजुको हत्या गरेर ९ वर्षपछि जेलबाट छुटेका थिए । 

केन्द्रीय अनुसन्धान ब्युरोबाट निर्मला हत्या अनुसन्धान गर्न कञ्चनपुर गएका प्रहरी नायव उपरीक्षक (डीएसपी) अङ्गुर जीसीको टिमसँग दिलिपले दिएको बयान नै दिलिपमाथि शङ्का गर्ने मुख्य आधार बनेको छ । 

प्रहरीसँगको भिडियो बयानमा दिलिपसिंह विष्टले निर्मलाको साइकलको चेन बनाएपछि यौनको भोक जागेको कुरा उल्लेख गर्दै बलात्कार गरेको र हत्या गरेपछि सुरुवालमा रहेको २० रुपैयाँ झिकेर कुँवरको दोकानमा गुट्खा किनेर खाएको अनि घरतर्फ लागेको बयान दिएका छन् । 

‘निर्मलाको हत्या गरेको कुरा अरूले पनि स्वीकार गरेका थिए तर हामीलाई पत्यार लागेन’, अनुसन्धानमा संलग्न भएर पछि निलम्बनमा परेका डीएसपी अङ्गुर जीसी भन्छन्, ‘निर्मलाको हत्यामा दिलिपसिंह विष्ट नै संलग्न रहेको कुरा परिस्थितिजन्य प्रमाण पुष्टि गर्न सकिन्छ, नेपालमा ९० प्रतिशत अनुसन्धान परिस्थितिजन्य प्रमाणले नै पुष्टि हुने गरेका छन् ।’ 

डीएसपी जीसी नेतृत्वको टोलीले साउन २० गते पक्राउ गरेर छाडेको प्रदीप रावललाई पछि केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी निरज शाहीको टोलीले पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । रावलले पनि निर्मलालाई आफैले हत्या गरेको बयान दिएका थिए तर डीएनए र परिस्थिति जन्य प्रमाणले उनको बयान पुष्टि हुन सकेन । ११७ जनाभन्दा बढीको रेकर्डेड बयान र ५ सयभन्दा बढीसँगको अनौपचारिक सोधपुछका क्रममा स्थानीय एक महिलाले निर्मलाको हत्या भएको दिन दिउँसो आर्मीको ब्यारेक हुँदै दिलिसिंह विष्ट हिँडिरहेको बताएकी थिइन् । 

डीएसपी जीसीसँगको बयानका क्रममा विष्टले बायाँ हातले एक्सन गर्दै भनेका छन्, ‘यसरी घाँटी थिचेँ, अनि भोकल कर्ड भाँचेर उखुबारीमा फालिदिएँ ।’ 

पोस्टमार्टम रिपोर्टमा निर्मलाको घाँटी थिच्दा बायाँ हातको प्रयोग भएको कुरा उल्लेख गरिएको छ ।

निर्मलाको बलात्कार गर्दा विष्टले लगाएको भनेको सर्ट उनको घरमा फेला परेको थियो । सर्टको खल्ती च्यातिएको अवस्थामा फेला परेपछि अनुसन्धान टोलीले घटनास्थल नजिकै उक्त खल्ती समेत बरामद गरेको बताइएको छ ।  

दिलिपको ‘गोजी’ले हवल्दारलाई टर्चर !
केन्द्रीय अनुसन्धानबाट सुरुवाती अनुसन्धान गर्न खटिएको टिमले दिपिलकै बयानको आधारमा घरबाट बरामद गरेको सर्ट फेला पार्छ तर गोजी च्यातिएको अवस्थामा । त्यहाँ एउटा शङ्का उब्जिन्छ, दिलिपको गोजी कसले च्यात्यो ? 

घटनास्थलमा भेटिएको गोजी दिलिपको थियो कि थिएन भन्नेबारे फरेन्सिक रिपोर्ट आइसकेको छैन । तर अनुसन्धानमा खटिएको प्रहरी कर्मचारीबारे छानविन गर्न बनेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यात नेतृत्वको कमिटीले हवल्दारलाई टर्चर दिएर ‘गोजी मैले नै च्यातेर घटनास्थलमा राखेको’ भन्न बाध्य बनाएका छन् । 

बस्न्यात नेतृत्वको समितीले तीन महिनासम्म सामाखुसीस्थित प्रहरी पहरा गणमा थुनेर प्रहरी हवल्दार धर्मसिंह भाटलाई ‘सर्ट च्यातेको हो कि हैन ?’ भन्दै लगातार प्रश्न गरेर टर्चर दिएका थिए । 

‘सर्ट किन च्यातेको र त्यस दिन चार पटकसम्म प्रहरी नायव निरीक्षक (सई) बासुदेव अवस्थितसँग के कुरा गरेको ?’ भन्दै नजरबन्द गरेर लगातार टर्चर दिएपछि हवल्दार भाटले बाध्य भएर बासुदेव अवस्थितको आदेशमा च्यातेको ‘बाध्यात्मक बयान’ दिएका थिए ।

तीन दिनपछि दाँतमा राखेको स्टिल निकाल्ने अप्रेसनमा जानुपर्ने र आफूलाई केही नहुने आश्वासन पाएपछि हवल्दार भाटले दिएको उक्त बयान बस्न्यात नेतृत्वको कमिटीले आफ्नो अनुसन्धानको ठूलो उपलब्धिका रूपमा रिपोर्टमा उल्लेख गरेका थिए । हवल्दारको बयानको त्रास देखाएर सई बासुदेव अवस्थिलाई एसपी डिल्लीराज विष्टको आदेशमा सर्ट च्यातेर घटनास्थलमा राख्न लगाएको बयान गर्न बाध्य बनाएको बस्न्यात समितिमा काम गरेका एक अधिकृतले जानकारी दिएका छन् ।

स्केच बन्यो तर कसको ? 
प्रहरी सङ्गठनमा रहेका काविल अफिसर खोजी–खोजी अनुसन्धानमा खटाउँदा पनि निर्मलाको वास्तविक हत्यारा पत्ता लाग्न नसकेपछि प्रहरी प्रमुख सर्वेन्द्र खनाल आफैले पछिल्लो समय प्रहरी नायव उपरीक्षक (डीएसपी) रुगम कुँवर नेतृत्वको टोलीलाई कञ्चनपुर लिएर गएका थिए । 

पछिल्लो समय अनुसन्धानमा संलग्न टिमले निर्मला हत्यामा संलग्न भएको भन्दै एउटा स्केच बनाएका छन् । उक्त स्केचमा कोरिएको व्यक्ति पहिचान गर्न असम्भव जस्तै देखिएको जानकारहरु बताउँछन् । 
अनुसन्धानमा संलग्नहरुका अनुसार कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ मा एक्लै–दुक्लै महिला देखेपछि लिङ्ग देखाउने पुरुष मान्छेको स्केच बनाइएको छ । तर त्यस दिन निर्मलाको बलात्कारपछि हिलाम्मे शरीर लिएर हिँडेको अथवा साढे दुई बजेको अराउन्डमा त्यो क्षेत्रमा देखिएको शङ्कास्पदको स्केच बन्न सकेको छैन । 

सुरुवाती अनुसन्धानमा संलग्न डीएसपी अङ्गुर जीसी त्यस क्षेत्रमा केटी मान्छे देखेपछि लिङ्ग देखाउने पाँच जना शङ्कास्पदहरुलाई आफूले बयान लिएको दाबी गर्दै भन्छन्, ‘दिलिप सिंह विष्ट त्यसरी नै केटीमान्छे देखेपछि आफ्नो लिङ्ग देखाउनेमध्येको एक हो ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप