बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपत्यकामा बम विस्फोट गराउँदै हिँड्ने विप्लवका ४ कार्यकर्ता पक्राउ

बुधबार, ०६ चैत २०७५, १९ : ४१
बुधबार, ०६ चैत २०७५

काठमाडौँ । काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रमा बम विस्फोट गराउँदै हिँड्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले दाङको तुल्सीपुरका नुमबहादुर विक, भोजपुरको टेम्केमैयाका डिकेन्द्र राई, झापाको मेची नगरपालिका–३ का शिव धिमाल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का विशाल तामाङलाई पक्राउ गरेको हो । 

उनीहरुले एक जनााको मृत्यु र दुई जना घाइते हुने गरी गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोट गराएका थिए । 

सोही समूहले गत फागुन २४ गते तीन जना घाइते हुने गरी काठमाडौँको वसुन्धराका रोहन गुरुङको घरमा बम विस्फोटन गराएको महाशाखाका निमित्त प्रमुख केदार ढकालले जानकारी दिए ।  

विक र राईलाई काठमाडौँबाट तथा धिमाल र तामाङलाई काभ्रेबाट पक्राउ गरिएको हो । काभ्रेमा लुकीछिपी बसेको सूचनाका आधारमा खोजतलासका क्रममा मङ्गलबार सोही गाउँपालिका–२ काफलडाँडाबाट धिमाल र तामाङलाई पक्राउ गरिएको हो । 

नियन्त्रणमा लिन खोज्दा सो समूहले प्रहरीमाथि गोली प्रहार गरेपछि आत्मरक्षाका लागि प्रहरीले चार राउण्ड गोली फायर गरेको ढकालले बताए । 

घटनास्थलबाट विभिन्न कम्पनीको ६ थान मोबाइल, चार्जर, पिलास र विभिन्न पुस्तक बरामद गरिएको छ । महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह ठकुरी नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप