शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खुसीबारे यी २० रोचक तथ्यहरु, जसको जानकारीले मात्रै पनि बढ्नेछ तपाईको खुसी

बुधबार, ०६ चैत २०७५, १७ : ०६
बुधबार, ०६ चैत २०७५

काठमाडौं– प्रत्यक वर्ष मार्च २० मा अन्तर्राष्ट्रिय खुसी दिवस मनाइन्छ । यो दिनको अबसर पारेर यहाँ खुसीबारे २० रोचक तथ्यहरु प्रस्तुत गरिएको छ । अनुसन्धानबाट प्रमाणित तलका तथ्यहरुबारे जानकारी मात्रले पनि तपाईलाई खुसी हुन प्रेरित गर्नसक्छ ।

१.खुसी सरुवा हुन्छ  
रुघाजस्तै खुसी पनि छेउछाउका मानिसहरुमा सजिलै सर्छ । सन् २००८ को एक ब्रिटिस अध्ययनअनुसार वयस्कहरुमाझ हुर्किएका बच्चा ठूलो भएसी बढी खुसी हुन्छन् । त्यति मात्र होइन, सकारात्मक सोच भएका साथीहरुसँग रहँदा तपाईको डिप्रेसन पनि कम हुन्छ । 

त्यसैले यदि तपाई आफ्नो मुड सुधार्न चाहनुहुन्छ भने आफू वरिपरिको मानिसहरुलाई ख्याल गर्नुस् । खुसी साथीहरुको संगत तपाईले नै फाइदाजनक हुन्छ । 

२.यत्तिकै मुस्कुराउँदा पनि खुसी बढ्छ

 तनावमा, दुःखमा र डरमा मुस्कुराउने कुरा अनौठो लाग्न सक्छ । तथापि सन् १९९८ मा जर्नल अफ पर्सनालिटी एण्ड सोसियल साइकोलोजीको एक अध्ययनले अनुहारको भावले मुडलाई असर गर्ने देखाएको थियो । अध्ययनमा सहभागीहरुमध्ये जसले मुहारमा सकारात्मक भाव ल्याए तिनको मुडमा पनि त्यस्तै सकारात्मक परिवर्तन देखियो । त्यसैले आफ्नो अनुहारको भावमा होस् गर्नुस् । यदि तपाई तनाव महसुस गरिरहनुभएको छ अथवा उदास हुनुहुन्छ भने समय समयमा अनुहारमा सहज मुस्कान ल्याउँदा ती नकारात्मक भावना कम हुन्छ । 

३.खुसीले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ  
खुसीले अनुहारमा चमक ल्याउने र मुड ठिक गर्ने मात्र होइन, अध्ययनले  हाम्रो शारीरिक स्वास्थलाई पनि फाइदाजनक हुने देखाएको छ । माइकोसोम्याटिक मेडिसिन जर्नलमा प्रकाशित अनुसन्धानले बढी सकारात्मक सम्वेदना भएका मानिसहरुलाई रुघाले कमै छुने व्याख्या गरेको छ । यस्तो महँगो औषधीको काम गर्ने यस्तो महत्वपूर्ण खुसी बढाउन समय समयमा आफैं बहाना खोज्न थाल्नुहोस् ।  

४.अरुलाई खुसी बनाउँदा आफ्नो पनि खुसी बढ्छ  

खुसी यस्तो चीज हो जुन अरुसँग बढ्दा झन् बढ्ने गर्छ । हफिंगटन पोस्टमा प्रकाशित एक आलेखअनुसार आफूलाई खुसी पार्ने सबैभन्दा छिटो तरिका भनेको अरुलाई खुसी बनाउने हो । सोही लेखले कयैन अध्ययनहरुले अरुलाई दान दिने मानिसहरुले तत्कालै खुसी महसुस गर्ने गरेको देखाएको उल्लेख गरेको छ । यस्तो अवसरमा दिमागले आफू उपयोगी हुन सकेकोमा सन्तुष्ट महसुस गर्छ । र यही सन्तुष्टिको भावले खुसी बढाउँछ । 

५.आँशिक रुपमा खुसी वंशानुगत हुन्छ  

तपाईले दैनिक जीवनमा यस्ता कयैंन मानिसहरु भेट्नुहुन्छ जो यत्तिकै पनि दुःखी देखिन्छन् । त्यस्तै अर्का थरी मानिसहरु भने अफ्ठ्याराहरुबीच पनि खुसी रहिरहेका हन्छन् । उनीहरुबाट खुसी हुने कुराको पूर्ण नियन्त्रण हामीमा नरहेको देखिन्छ ।

मिनिसोटा विश्वविद्यालयका अनुसन्धानदाताहरुले गरेको अध्ययनले मानिसहरुको खुसीमा व्यक्तिको वशांणुगत असर पार्ने समेत देखाएको छ । दुई जोडी आइडेन्टीकल ट्वीन्स(लगभग समान गुण भएका जुम्ल्याहा)मा अध्ययन गर्दा उनीहरुले कुनै पनि समयमा जुम्ल्याहाको खुसीको आधा जिनसँग सम्बन्धित भएको पाए । 

६.फुलको सुगन्धले खुसी बढाउँछ  

एक अध्ययनमा रुट्गर्स विश्वविद्यालयका अनुसन्धानदाताहरुले फुलको बास्ना सुँघ्दा मानिसको खुसी हुने सम्भावना तीन गुणाले बढेको पाए । यसैले अर्कोपटक तपाईलाई अरु कुराले खुसी बनाउन सकिरहेको छैन भने आफ्नो घरपछाडिको फुलबारीमा पो जाने कि । 

७.पैसाले भन्दा सम्बन्धले बढी खुसी दिन्छ  

हाम्रो समाजमा अक्सर भनिन्छ कि पैसाले खुसी किन्न सकिदैंन । अध्ययनले यो कथनलाई सही देखाएको छ । जर्नल अफ सोइसो–इकोनोमिक्सले गरेको एक अध्ययनले मानिस आफूलाई मन परेको सम्बन्धमा रहँदा १ लाख डलर कमाएको भन्दा बढी खुसी भएको पाइएको थियो । पैसाले खुसीनै नबनाउने भने होइन । प्रारम्भमा पैसाले किनेको सामाग्रीहरुले खुसी बनाउँछ तर एउटा बिन्दुपछि थपिँदै गएको पैसाले भने बढाउँदैन ।

८.तपाईलाई मन पर्ने रंगले तपाईको मुड बताउँछ  

सन् २०१० मा बीएमसी मेडिकल रिसर्च मेथोडोलोजीमा प्रकाशित एक अध्ययनले उज्यालो रंग र खुसीबीच सम्बन्ध देखाएको छ । यो अझ बढी पहेँलो रंगको सन्दर्भमा सही देखिन्छ । खुसी मानिसको पहिलो रोजाईनै पहेँलो रंग हुने गरेको पाइएको छ । त्यस विपरित फुस्रो खरानी रंग एन्जाइटी र डिप्रेसनसँग जोडिएको पाइएको छ ।

९.खुसीले पीडा कम गर्न सहयोग गर्छ 

खुसीले पेन किलरको जस्तो पनि काम गर्छ भन्दा अचम्म लाग्न सक्छ । तर सन् २००५ मा आर्थराइटिस र दीर्घ रोगबाट पीडित महिलाहरुमा गरिएको एक अध्ययनमा यस्तो पाइएको थियो । जर्नल अफ कन्सल्टिङ एण्ड क्लिनिकल साइकोलीमा प्रकाशित उक्त अध्ययनका अनुसार खुसी, उत्साह, आशाजस्ता सकारात्मक सम्वेदना महसुस गर्नेहरुले कम पीडा महसुस गरेको देखिएको थियो ।

१०.खुसी व्यक्ति सफल हुन्छन्  

हाम्रो समाजमा सफलताले खुसी बनाउँछ भन्ने सोच व्याप्त छ । तर ‘द हाउ अफ ह्याप्पिनेस’का लेखक सोन्जा ल्युबोमिरस्कीले यथार्थ यसको उल्टो भएको बताएका छन् । अर्थात खुसीले चाँही सफलता निर्माण गर्छ । उनका अनुसार खुसी मानिसहरु आत्मविश्वास, आशावादी, उत्साही र समाजिक हुन्छन् । र यी कुरा सफल हुनको सबैभन्दा आवश्यक गुणहरु हुन् । 

११.घरपालुवा जनावरले खुसी बढाउँछ 

यदि तपाईको घरमा कुकुर छ भने तपाई आफैंले महसुस गर्नुभएको होला घर पस्दा कुकुर तपाईसँग झ्याम्मिदाको त्यो मायाको भाव । कुकुरले तपाईलाई एक्लो महसुस हुँदैन । त्यसका साथै कुकुर भएकाहरु उसँगै हिड्ने भएकाले तिनको शारीरिक सक्रियता अरुभन्दा बढी हुन्छ । यी दुई कुराले ब्लड प्रेसर घटाउन महत्वपूर्ण भूमिका खेल्छन् । कुकुर मात्र होइन, विरालो अथवा सुँगाजस्ता अन्य घरपालुवा जीवले मुटु रोग घटाउने र मुडलाई खुसी पार्ने कयैन अध्ययनहरुले देखाएका छन् । 

१२.एक्सरसाइजले खुसी बनाउँछ  

शारीरिक अभ्यासले शरीरको इण्डोफिन बेसलाई उच्च बनाउन सहयोग गर्छ । इण्डोफिन शरीरमा सकारात्मक अनुभूति बढाउन जिम्मेवार हर्मोन हो । इण्डोफिनको उत्सर्जनले डिप्रेसनलाई कम गराउन सहयोग गर्छ । यसरी एक्सरसाइजले एकातर्फ शरीरको तौललाई सन्तुलनमा ल्याउन सहयोग गरिरहेको छ भने अर्कोतर्फ मानिसको खुसी पनि बनाइरहेको हुने रहेछ । 

१३.उमेर बढ्दै जाँदा खुसीको मात्रामा सुधार आउँछ  

यो तथ्य वयस्क हुँदै जादा दुःख बढ्छ भन्नेहरुको लागि पाठ हुन सक्छ । ती मानिसहरुको विश्वासको उल्टो अध्ययनले उमेर बढ्दै जाँदा खुसीको मात्रा बढ्ने देखाएको छ । युनिभर्सिटी अफ अल्वर्टाले गरेको एक अध्ययनमा उसले संलग्न मानिसहरुको त्यो अवधिमा खुसीको स्तर कस्तो छ भनेर मापन गरेको थियो । अध्ययनमा सहभागीले सबैले उमेर बढ्दै जादाँ बढी खुसी भएको बताएका थिए ।

१४.खुसी हुनको लागि म्यासेजभन्दा फोनकल उत्तम  

आजकल लामो दुरीमा रहेका पे्रमी पे्रमिकाबीच सम्वाद गर्न प्रविधिले निक्कै सघाएको छ । सञ्चारको लागि प्रत्यक्ष सम्वाद(फोन वा भिडियो कल) र म्यासेज प्रयोग हुने गरेको पाइन्छ । अध्ययनले यी दुई विकल्पमा फोन उपयोगी हुने देखाएको छ । अनुसन्धानदाताहरुले फोन वा भिडियो कल गर्नेहरुले प्रेमी वा प्रेमिकासँग भावनात्मक रुपमा जोडिएको महसुस गरेको पाए । म्यासेजबाट यस्तो अनुभुति नभएको पाइयो ।

१५.आर्थिक समानता र खुसीबीच सम्बन्ध हुन्छ  

आजकल आर्थिक असमानता विश्वभरका राजनीतिक वहसको केन्द्रमा छ । यसको सम्बन्ध व्यक्तिको खुसीमा पनि हुने गरेको पछिल्ला अध्ययनहरुले देखाएको छ । अनुसन्धानमा धनी र गरिबबीच ठूलो मात्राको असमानता रहेको स्थानका मानिसहरुमा शारीरिक र मानिसक स्वास्थको ¥हास आएको पाइएको थियो । 

१६.प्रकृतिबारे सोच्दा मात्रै पनि खुसी बढ्छ 

असख्य अनुसन्धानहरुले प्रकृतिले खुसी बढाउने देखाएको छ । अझ विरुवा, रुखहरु भएको ठाउँमा जाने वा हेर्ने मात्र होइन, तिनको बारेमा सोच्दा मात्रै पनि खुसी बढेको पाइएको छ । एक अध्ययनमा झ्यालबाहिर रुख विरुवा रहेका कैदीहरु त्यस्तो नभएको कैदीभन्दा मानसिक समस्याबाट कम ग्रसित पाइयो ।

१७.समाजिक सञ्जालले तपाईको खुसीमा क्षति पुर्याउँछ  

फेसबुक र ट्वीटरजस्ता समाजिक सञ्जालबाट तपाई आफ्ना साथी र परिवासँग जोडिएको ठान्नु होला तर अनुसन्धानले समाजिक सञ्जालको प्रयोगले एक्लोपनको भावना बढाउने देखाएको छ । समाजिक सञ्जालको अत्यधिक प्रयोगले मानिस वास्तविक समाजिक सम्बन्धबाट कट्दै जाने देखिएको छ । यसले गर्दा उत्पन्न एक्लोपनले निराशा बढ्ने अध्ययनले देखाएको छ । डेनिस अनुसन्धानदाताहरुको एक समुहले समाजिक सञ्जालको प्रयोगमा ग्याप बढाउँदा मात्रै पनि खुसी बढेको पाएको थियो ।

१८.फलफुल र तरकारीले खुसी बढाउँछ 

फलफुल र तरकारी शारीरिक स्वास्थको लागि मात्र होइन, यसले मानसिक स्वास्थलाई पनि सहयोग गर्ने पाइएको छ । १२ हजार अष्ट्रेलियनहरुमा गरिएको एक अध्ययनले फलफूल र तरकारीको उपयोगले खुसीको स्तर बढाएको पाइयो । 

१९.खुसीको पछि दौडिँदा सम्बन्धलाई असर पर्छ 

हुन त सम्बन्धको उदेश्य जीवनमा खुसी बढाउनु हो तर सम्बन्धबाट जति खेरै खुसी खोज्दा त्यसले उल्टो असर निम्त्याउने देखिएको छ । अनुसन्धानदाताहरुले सम्बन्धमा खुसीलाई प्राथमिकता दिनेहरुले दैनिकी डायरीमा एक्लो महसुस गरेको भनेर लेखेको पाएका छन् । 

२०.दुःखी भाव गुम्साउनुको सट्टा अभिव्यक्त गर्दा खुसी बढ्छ  

अन्य कयैंन सम्वेदनाजस्तै एक्लोपनको भावना महसुस गर्नेहरुले यसलाई पार पाउन नसक्ने भावना मान्छन् र चुपचाप केही नगरी बस्छन् । तर ‘ह्याप्पिनेस ह्याक’की लेखिका पाल्मरले मानिसहरुलाई उनीहरुले महसुस गरिरहेको निराशाजनक भावना अभिव्यक्त गर्न प्रोत्साहित गर्दा उनीहरुको मुड बदलिएर खुसी बढेको पाइएको लेखेकी छिन् । 
  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप