केन्द्रीय संस्करण

यी मधेसी युवा,जसको पहाडसँग लभ पर्यो ! (भिडियो)

person explore access_timeचैत ६, २०७५ chat_bubble_outline0

काठमाडौं– तराईको एउटा तन्नेरी जसलाई भूकम्पले हिमाली गाउँमा काम गर्ने अवसर जुटायो । २०७२ साल बैशाख १२ को विनासकारी भूकम्प । केन्द्रविन्दु रहेको गोरखापछि सबैभन्दा धेरै प्रभाव सिन्धुपाल्चोकमा पनि पर्यो । ध्वस्त घरहरुको पुनर्निर्माणका लागि सरकारले प्राधिकरण गठन गर्यो । भूकम्पप्रभावितको आँकडा लिन र भूकम्पप्रतिरोधी घर बनाउन इन्जिनियर लगायत प्राविधिक कर्मचारी भर्ना गरेर गाउँ–गाउँ पठाइए ।  

भूकम्पले घाउ लगाएको बस्ती–बस्तीमा पुगेर नयाँ घर बनाउने अभियानका सहयोगी इन्जिनियरहरुमध्ये एक हुन धनुषाका नारायण अधिकारी । जनकपुर उपमहानगरपालिका वडा नं. १३ स्थायी घर भएका नारायण हेलम्बु गाँउपालिका वडा नंं. १ सिन्धुपाल्चोकमा काम गरिरहेका छन् । 

हेलम्बुमा उनले काम गर्न थालेको ३ बर्ष पुग्न लाग्यो ।  भर्खरै २५ वसन्त पार गरेका नारायण तराईमा जन्मे हुर्केका मधेसी समुदायका हुन् । तराईको तातो हावापानीको पनि जीवन भोगेका उनलाई सिन्धुपाल्चोकको उच्च पहाडी भाग हेलम्बु निकै मन परेको छ । 

‘पहाडको सबैभन्दा राम्रो पक्ष यहाँको रमणीय वातावरण हो । हरेक ५ मिनेटको दुरीमा यहाँको ठाउँ र वातावरण परिवर्तन हुन्छ ।’ उनले भने । 

हेलम्बु हेल्मो समुदायको बसोबास भएको क्षेत्र हो । नारायणको भन्दा फरक भाषा, फरक चालचलन, रहनसहन र फरक जीवनपद्धति । सुरुका दिनमा उनलाई फरक समुदायमा भिजेर काम गर्न केही अप्ठेरो भयो । तर बिस्तारै उनी नयाँ परिवेशसँग भिज्दै गए । 

‘सामाजिक चालचलन एकदम सरल छ । यहाँको मान्छेहरुमा एकदम सोझोपना छ । उनीहरुले दैनिक रुपमा मापसे गर्छन । उनीहरुको पहिले देखिकै संस्कृति त्यस्तो रहेछ । यहाँ मैले आजसम्म साकाहारी मान्छे पनि कोही भेटिन् । प्रायःजसो सबै नै ननभेज नै छन् । उनीहरुले हरेक दिन मापसे गरेपनि आजसम्म हामीलाई कुनै अप्ठ्यारो परेको छैन । कसैले केही धाकधम्की केही दिएन । तपाई हुनुहुन्छ, काम गर्नुस त्यतिभए पुग्छ हामीलाई भन्नुहुन्छ ।’ उनले भने ।  

गुनासो बोकेर आउने यहाँका मान्छेलाई सम्झाउन सजिलो हुने उनको अनुभव छ । सुरु सुरुमा काम गराउन केही कठिन भएपनि बिस्तारै कन्भिन्स गर्दै गएको उनले बताए । उनले भने– ‘पुनर्निर्माणको काम जोडतोडले गरियो । अब अन्तिम चरणमा पुगेको छ । मैले शनिवार वा अरु विदाको दिन पनि कार्यालय खोल्छु । उहाँहरुलाई परेको समस्या हल गर्ने गरेको छु ।’ 

३ बर्षअघि हेलम्बु आउँदा उनको बस्ने बासको ठेगान थिएन । २ बर्ष त्यहीको स्थानीय गेष्ट हाउसमा खाने बस्ने गरे । १ बर्षदेखि वडा कार्यालयमा उनको बसोबासको व्यवस्था मिलेको छ ।   

स्थानीय संस्कृति, चालचलन, मिलनसार मानिसहरुको सरल व्यवहार र पहाडको सफा हावापानीले उनलाई आकर्षित गरेको छ ।  उनले भने– ‘पहाडसँग लव परेको भन्दा पनि हुन्छ । म बच्चादेखि नै पहाडमा जीवन गुजारे ।’ स्थानीयले उनलाई सित्तैमा सागपात पनि ल्याइदिने गर्छन् तर उनले पैसा तिरेर मात्र लिने गरेको बताए । उनले भने– ‘म सित्तैमा खाँदिन, कसैको ऋणी बन्न चाहन्न् ।’

उनले आफूलाई जिन्दगीमा कहिले पनि विदेश जाने रहर नभएको बताए । काम गर्नका लागि नभए पनि घुम्न गइएला तर त्यो छुट्टै कुरा हो । तर वर्किङ भिसा लिएर विदेश नजाने उनको भनाई छ । 

उनले भने– ‘म जसरी भएपनि नेपालमै काम गर्छु । मेरो अहिलेको मुख्य टार्गेट भनेको लोकसेवा पास गर्ने हो । लोकसेवा पास गरेपछि नेपालको एकदम विकट ठाउँमा गएर काम गर्ने लक्ष्य छ । चाहे त्यो मुगु होस्, चाहे मुस्ताङ होस् मलाई फरक पर्दैन । चाहे यो हेलम्बु नै किन नहोस् ।’

परिवारमा उनका बुबा आमा र श्रीमती छन् । यसै बर्ष मात्र उनले बिहे पनि गरे । उनका बुवा कतारमा छन् । १३ बर्ष विदेशमा काम गरेका उनी अबको २ महिनामा नेपाल आइपुग्नेछन् । बुवाले गरिरहेको कामबाट राजीनामा दिएर नेपाल फर्कन लागेको उनले सुनाए । 

काठमाडौंको एक निजी स्कुलबाट माध्यामिक शिक्षा पूरा गरेका अधिकारीले हैदरबादबाट उनले प्लस टु लेभल सके । भारतकै उत्तराखण्ड विश्वविद्यालय देहरादुनबाट ईन्जिनियरिङमा स्नातक गरेका थिए । 
लोकसेवा परीक्षाका लागि अध्ययन पनि गरिरहेका उनी परीक्षामा सफल भएर नेपालको कुनै पहाडी दुर्गम गाउँका सेवा गर्ने प्रतिक्षामा छन् । 

हेर्नुहोस् भिडियो: 

 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...