मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेमा विप्लवका कार्यकर्तामाथि गोली प्रहार, नेता हेमन्तप्रकाश ओली भाग्न सफल

बुधबार, ०६ चैत २०७५, १३ : २६
बुधबार, ०६ चैत २०७५

काठमाडौं– काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा प्रहरीले गोली प्रहार गरेर चार जना नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । 

मंगलबार साँझ रोशी गाउँपालिकाको काफलडाँडाबाट झापा स्थायी घर भएका शिव धिमाल र सिन्धुपाल्चोकका विशाल तामाङलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्रहरीले उनिहरुको साथबाट ६ थान मोवाईल, चार्जर र सांस्कृतिक क्रान्तिको दस्तावेज बरामद गरेको छ । 

अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठौर नेतृत्वको टोलीले विप्लवका कार्यकर्ता पक्राउ गर्न चार राउण्ड गोली चलाएको थियो । 

महाशाखाले पहिले विप्लवका कार्यकर्ताले फायर गरेको दाबी गर्दै प्रहरीका तर्फबाट जवाफी फायर गरिएको बताएको छ ।  तर, विप्लव समूहको तर्फबाट गोली चलेको पुष्टि हुन सकेको छैन । 

अपराध महाशाखाको टोली मंगलबार बिहान काठमाडौंमा समातिएका भोजपुरका डिकेन्द्र राई र दाङका नुम बहादुर विकलाई साथै लिएर काभ्रे पुगेको थियो । 

पक्राउ परेका विप्लवका कार्यकर्ताले आफन्तहरुसँगको भेटमा प्रहरीले आफूहरुलाई पक्राउ गरेपछि अमानवीय ढंगले कुटपिट गरेको तर आफ्नो तर्फबाट गोली नचलेको बताएका छन् । काभ्रेका विप्लव समूहका एक नेताले रातोपाटीसँग कुरा गर्दै भने, ‘हाम्रो तर्फबाट फायर भएको भन्ने कुरा सरासर झुटो हो, बरु हाम्रा साथीहरुलाई अमानविय ढंगले कुटपिट गरिएको छ ।’ 

अपराध महाशाखाका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले एक विज्ञप्ती जारी गरेर पक्राउ परेकाहरु नख्खुस्थित एनसेल र बसुन्धारास्थित रोहन गुरुङको घरमा बम विष्फोट गराउने समूह भएको जानकारी दिएका छन् । 

विप्लव समूहका कार्यकर्ताले फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय र फागुन २४ गते बसुन्धारास्थित रोहन गुरुङको घरमा शक्तिशाली बम विष्फोट गराएका थिए । 

नजिकै थिए हेमन्त ओली  
विप्लव समुहको मध्यकमाण्ड इन्चार्ज समेत रहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’ मंगलबार साँझ आफ्ना कार्यकर्ता पक्राउ परेको स्थान नजिकै थिए । काफलडाँडाबाट एक किलोमिटरको दुरीमा रहेका हेमन्त ओली भाग्न सफल भएको बताईएको छ । 

विप्लवका कार्यकर्ताले मध्यकमाण्ड इन्चार्ज ओलीको मोबाइल प्रहरीले बरामद गरेको दाबी गरेका छन्, तर प्रहरीले ओलीको मोवाइल बरामद गरेको कुरा आधिकारीक रुपमा पुष्टि गरेको छैन ।

मंगलबार शिव धिमाल र विशाल तामाङ पक्राउ गरेसँगै विप्लव समुहको मध्ये कमाण्डमा ठूलै धक्का लागेको छ । यसअघि प्रहरीले बम विष्फोट गरेको आशंकामा केदार खतिवडा, सूर्य भुजेल, किसान महासंघका संयोजक राजु कार्की र पोलिटब्यूरो सदस्य मोहन कार्कीलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो । 

पछिल्लो समय पक्राउ परेका पोलिटब्यूरो सदस्य कार्कीसहितको समूह मध्येकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’को कोर टीमका सदस्यहरु हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप