शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

६७ प्रतिशतले घट्यो वैदेशिक लगानी,  चीनलाई भारतले उछिन्यो

बुधबार, ०६ चैत २०७५, १२ : ०१
बुधबार, ०६ चैत २०७५

काठमाडौं– नेपालमा वैदेशिक वैदेशिक लगानी भित्र्याउने उद्देश्यका साथ यही चैत १५ र १६ गते लगानी सम्मेलन हुँदैछ । जतिसक्दो बढी वैदेशिक लगानी भित्र्याउने सरकारको नीति भएपनि चालु आर्थिक वर्ष (२०७५/७६) को ८ महिनामा वैदेशिक लगानी ६७.७७ प्रतिशतले घटेको तथ्यांक उद्योग विभागसँग छ ।  

८ महिनामा (साउन देखि फागुनसम्म) ११ अर्ब २५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ । जबकी गत आर्थिक वर्ष (२०७४/०७५) को यसै अवधिमा वैदेशिक लगानी ३४ अर्ब ९१ करोड रुपैयाँ थियो । 
सबैभन्दा बढी म्यानुफ्याक्चरिङ उद्योगमा ५ अर्ब ४३ करोड रुपैयाँ भन्दा बढी  लगानी भित्रिएको छ । सूचना प्रविधि, कृषि, मिनेरल लगायतका उद्योगमा पनि वैदेशिक लगानी भित्रिएको छ ।
 यी सबै क्षेत्रमा गत आर्थिक वर्षको तुलनामा चालु वर्ष कम लगानी भित्रिएको छ ।  

सेवा र पर्यटन क्षेत्रमा भने गत वर्षको भन्दा बढी लगानी भित्रिएको छ । सेवा क्षेत्रमा १ अर्ब ८० करोड र पर्यटन क्षेत्रमा ३ अर्ब ६७ करोड बढी लगानी आएको उद्योग विभागले जनाएको छ । 

गत वर्षको यसै अवधिमा सेवा क्षेत्रमा १ अर्ब २७ करोड र पर्यटन क्षेत्रमा १ अर्ब ५८ करोड रुपैयाँ लगानी आएको थियो । यद्यपि, आयोजना संख्याको हिसाबले भने यस वर्ष २ सय २४ आयोजनाका लागि लगानी आएको छ । 

गत वर्षको यसै अवधिमा १ सय ९४ आयोजनाका लागि मात्र लगानी भित्रिएको थियो । सो वर्ष आयोजनाको संख्या थोरै भएपनि ठूला—ठूला आयोजना भएकाले रकम बढी देखिएको विभागले जनाएको छ । 

चीन भन्दा भारतको लगानी बढी
गत वर्ष सबैभन्दा बढी वैदेशिक लगानी गर्नेमा चीन रहेकोमा यसपटक भने भारतले चीनलाई उछिनेको छ ।

भारतले ४३ वटा आयोजनाका लागि ५ अर्ब ५८ करोड रुपैयाँ लगानी नेपाल ल्याएको छ ।  यसपछि चीन, सिंगापूर र दक्षिण कोरिया नेपालमा सबैभन्दा बढी लगानी गर्नेमा पर्दछन्  । चीनको मेनल्याण्डबाट २ अर्ब १३ करोड र ताइवानबाट ५ करोड ५ लाख लगानी भित्रिएको हो । 

यता, सिंगापूरबाट साढे १ अर्ब बराबरको लगानी भित्रिएको छ भने दक्षिण कोरियाबाट ६३ करोडको लगानी आएको छ । चालु ८ महिनामा विभिन्न २७ वटा मुलुकबाट ११ अर्ब २५ करोड बराबरको लगानी भित्रिएको हो ।

गत वर्ष सबैभन्दा बढी लगानी चीनको थियो । चीनले गत वर्षको ८ महिनामा मेनल्याण्डबाट २८ अर्ब ४९ करोड र  हङकङबाट ९ करोड रुपैयाँ भित्र्याएको थियो । सो समयमा भारतले भने ३ अर्ब ९८ करोड भित्र्याएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप