शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

समुन्नतिको बाटोमा आउन विप्लवलाई काँग्रेसको आह्वान

मङ्गलबार, ०५ चैत २०७५, १९ : ५७
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छाडेर आफैं सहभागी भएको संघीयता, गणतन्त्र र समुन्नतिको बाटोमा आउन आह्वान गरेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको मंगलबार बसेको बैठकले चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छोडेर आफै सहभागी भएको संघीयता, गणतन्त्र र समुन्नतिको बाटोमा आउन आह्वान गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले संवाद र सहमतिकै बाटोबाट चन्द नेतृत्वको नेकपालाई विश्वासमा लिएर अघि बढन सरकारलाई शासकीय क्षमता प्रर्दशन गर्न पनि आग्रह गरेको छ । निषेधबाट नभई संवाद र सहमतिकै आधार चन्द नेतृत्वको नेकपालाई विश्वास लिएर अघि बढन सरकारलाई शासकीय क्षमता देखाउन पनि बैठकले आग्रह गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

बैठकले पार्टीको केन्द्रीय निर्वाचन समिति पनि बनाएको छ । पार्टीका राष्ट्रियसभाका सांसद एवम् वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी संयोजक रहनु भएको ५ सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।

समितिका सदस्यहरुमा खम्बबहादुर खाती, एकराज पोखरेल, गोपालकृष्ण घिमिरे र सिताराम केसी रहनु भएको पनि प्रवक्ता शर्माले बताए । त्यसैगरी पार्टी महासमिति बैठकले तयार पारेको विधानलाई पारित गर्न नेता रमेश लेखक नेतृत्वको नियमावली निर्माण समिति पनि गठन गरिएको छ ।

प्रवक्ता शर्माले पार्टी महासमिति बैठकले तयार पारेको विधान अनुमोदनका लागि नेता लेखक संयोजक तथा ईश्वरी न्यौपाने, मीन विश्वकर्मा, प्रदिप पौडेल र जीवन परियार सदस्य रहेको नियमावली निर्माण समिति पनि बनाइएको बताए ।

काँग्रेसले नेता भिष्मराज आङदम्बे संयोजक रहेको केन्द्रीय अनुशासन समितिमा पनि उमाकान्त चौधरी र धनराज गुरुङ थप गरी पूर्णता दिएको छ । सोमबार बसेको काँग्रेस केन्द्रीय कार्य समिति बैठकले आङदम्बे संयोजक तथा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौंर सदस्य रहेको केन्द्रिय अनुशासन समिति गठन गरेको थियो । त्यसमा चौधरी र गुरुङलाई थप गरी सो समितिलाई पूर्णता दिइएको पनि पार्टीका प्रवक्ता शर्माले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप