बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीलाई नटेर्ने यी ‘अलाइभ ग्लाइडर’

मङ्गलबार, ०५ चैत २०७५, १९ : १४
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं । एउटा सवारी साधन वर्षदिनमा कतिपटक ट्राफिक कारबाहीमा पर्ला ? एकपटक या दुईपटक । त्यो भन्दा बढी सायद नपर्ला । तर, एक गाडी ११ महिनामा ६ पटक कारबाहीमा परेको पाइएको छ । 

घटना हो काठमाडौंको मुटु मानिने दरबारमार्गको । ट्राफिक प्रहरीका अनुसार एक ‘बिजनेश म्यान’को सेतो रंगको गाडी ६ पटक कारबाहीमा परेको छ ।

आफूलाई ‘अलाइभ ग्लाइडर’ भनेर दाबी गर्ने सिटिभि मोबाइलका सञ्चालक किसन राईको बा७च ३३३३ नम्बरको ल्यान्ड रोभर गाडी कारबाहीमा परेको पर्यै छ । उक्त गाडीको नेपाली मूल्य १ करोड ८५ लाख छ । 

राई किन ट्राफिक प्रहरीको कारबाहीमा परिरहन्छन् ? यो विषयमा चासो बढेपछि बुझ्नै जाँदा राईको आफ्नै हेलचक्र्याईंका कारण कारबाहीमा परेको खुलेको छ ।  

राईको ट्राफिक प्रहरीलाई अटेरी गर्ने प्रवृत्ति र लापरबाही मुख्य कारण रहेको पाइएको छ । न मापसे गरेर हो, न लेन मिचेर हो उनी आफ्नै जिद्दीपन, घमण्डीले कारबाहीमा परेको एक ट्राफिक अधिकारीले बताए ।   

पटक पटक ट्राफिक प्रहरीको कारबाहीमा पर्दा समेत अटेरी गरि दरबारमार्ग क्षेत्रमा अनाधिकृत रुपमा उक्त गाडी पार्किङ हुने गरेको एक प्रहरी बताउँछन् । दरबारमार्ग आसपासको फुटपाथमा उक्त गाडी प्रायः पार्किङमा नै भेटिन्छ ।    

गाडी मालिक राईको दरबारमार्ग क्षेत्रका विभिन्न रेष्टुरेन्टमा लगानी रहेको बताउँदै ट्राफिक प्रहरीसँग ठूला–ठूला कुरा गरी अटेर गर्ने गरेको ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत एक प्रहरी जवानले रातोपाटीलाई बताए ।  

ट्राफिक प्रहरीलाई अटेर गरी जथाभावी रुपमा गाडी पार्किङ गर्ने गरेका राईको दरबारमार्गमा रहेको किंग्स लाउन्ज र क्लब डेजाभुमा समेत लगानी रहेको बुझिएको छ । 

प्रहरीले दुर्घटनापछि बिग्रिएका, टुटेफुटेका सवारी साधन राख्ने गरेको ठाउँमा समेत राईले जर्बजस्ती पार्किङ गर्ने गरेपछि राईको गाडीमा ट्राफिक प्रहरीले ५ पटक ह्विल लक समेत गरी कारबाही गरिसकेको छ । 

राईलाई पटक–पटक सचेत गराउँदा पनि बारम्बार उक्त कार्य दोहोर्याइरहने गरेको कारण ट्राफिक प्रहरी समेत हैरान भएका छन् । 

राईको भनाई उद्धृत गर्दै एक प्रहरी जवान भन्छन्, ‘यसअघि प्रभागका कमाण्ड सम्हालेका प्रहरी अधिकृतले पनि आफूलाई केही गर्दैनथें, तर यस्तो नियमबाट इन्च पनि नहल्लिने अहिलेको जस्तो इन्सपेक्टर त मैले कहिँ देखेको थिइनँ , वहाँलाई चैं मैले मानें ।’

ट्राफिक प्रहरीको रेकर्ड हेर्ने हो भने राई २०७५ सालमा वैशाख २ गते नै पहिलोपटक अटेर गरेको भन्दै कारबाहीमा परेका थिए । उनलाई ट्राफिक प्रहरीले चिट काटेका थियो ।  

यस्तै चार महिनापछि राई भदौ १० गते कारबाहीमा परे । पछि पुस २५ गते फेरि राई कारबाहीमा परे । दुवैपटक राईलाई ट्राफिक प्रहरीले चिट काटेका थियो । 

माघ २० गते राई फेरि कारबाहीमा परे । यस्तै फागुन १० गते पनि उनको गल्ती फेरि दोहोरियो ।  

केही दिनअघि मात्र प्रहरीको गाडी पार्किङ गर्ने स्थानमा राईले आफ्नो गाडी पार्किङ गरेको भेटेपछि उनलाई नियन्त्रणमा लिई सम्झाउँदै छाडेको थियो ।  

राईको नेकपा र कांग्रेस दुवै पार्टीका नेताहरुसँग राम्रै उठबस रहेको पाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप