मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य शिविरमा एउटा समस्याको बिरामीलाई अर्कै रोगको औषधी दिइएको आरोप

मङ्गलबार, ०५ चैत २०७५, १३ : ५७
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौंको शंखरापुर नगरपालिकाले गरेको स्वास्थ्य शिविरमा एउटा समस्याको विरामीलाई अर्कै रोगको औषधी दिइएको विरामीका आफन्तले आरोप लगाएका छन् ।  सोमबार शंखरापुर नगरपालिका वडा नंं १ मा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सोही वडाकी स्थानीय सीतादेवी दंगाल पाठेघरको समस्या लिएर उपचार गराउन जाँदा डायरिया र ग्याष्ट्रिकको औषधी दिइएको उनका छोरा निरोज दंगालले बताएका छन् ।

 उनले भने–‘मलाई पनि स्वास्थ्य सम्बन्धी थाहा छ । मेन्ट्रोनाजोल डायरियाका विरामीलाई प्रयोग गर्ने औषधी हो । स्वास्थ्य शिविरमा पाठेघरको समस्यालाई डायरिया र ग्याष्ट्रिकको औषधी दिएछन् ।’  

गतल औषधि सिफारिस गरेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यसले स्वास्थ्यमा हानी पुर्याए कसले जिम्मेवारी लिने भन्दै प्रश्न गरेका छन् ।  यसबारेमा बुझ्न खोज्दा शंखरापुर नगरपालिकाकी उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले गल्तीले त्यस्तो औषधी परेको हुनसक्ने जवाफ दिइन् ।

उनले भनिन्– ‘सुष्मा कोइराला अस्पतालबाट हाडजोर्नी सम्बन्धी दुई तीनजना डाक्टर जानुभएको थियो । पेट दुख्यो भनेको भएर डायरियाको औषधी दिएको होला ।’ नगरपालिकाले गरेको स्वास्थ्य शिविरमा डेढसय भन्दा बढी ब्यक्ति सहभागी भएको उनले बताइन् ।

तर सो नगरपालिकाकी स्वास्थ्य संयोजक तुलजा भवानी लामाले निरोज दंगालले लगाएको आरोपको खण्डन गरेकी छिन् । 

उनले पाठेघरको उपचारका लागि डायरियाको औषधी पनि चलाउने भएकोले चिकित्सकले सो औषधि सिफारिस गरेको बताइन् । उनले भनिन्–‘उनले फेसबुकमा राखेको कुरा मैले पनि हेरेर कुरा गरेको थिएँ ।

शिविरमा हाडजोर्नी, गाइनोको डाक्टरका साथै डेन्टिस पनि हुनुहुन्थ्यो । औषधी वितरणका लागि दुई जना राखेका थियौँ । उनीहरुले गलत औषधी दिएजस्तो लाग्दैन । शिविरमा नभएको एन्टिवायोटिक बाहिर किन्नु भनेका थियौं ।’

शिविरमा १ सय ८० जनाले उपचार गराएको उनले बताइन् । 

जिल्ला प्रशासन कार्यालय काठमाडौं र शंखरापुर नगरपालिकाले वडा नंं १ मा घुम्ती शिविर गरेको नगरपालिकाकी सुचना अधिकारी भावना पुडासैनीले जानकारी दिइन । स्वास्थ्य शिविरका लागि नगरपालिका र सुष्मा कोइराला मेमोरियल अस्पतालले सहकार्य गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप