बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ प्रदेश पाँचमा सडकको अवस्था र आगामी योजना

मङ्गलबार, ०५ चैत २०७५, १३ : ००
मङ्गलबार, ०५ चैत २०७५

बुटवल– प्रदेश नम्बर ५ सरकारले हाल प्रदेश भित्र रहेका सडक सुधार गर्दै पाँच बर्ष भित्र दोब्वर बृद्धि गर्ने लक्ष्य  लिएको छ ।  यस प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री तथा सरकारका प्रबक्ता वैजनाथ चौधरीले प्रदेश सरकारले यस्तो लक्ष्यका साथ योजना अगाडी सारेको बताएका हुन् ।

  मन्त्री चौधरीले हालसम्म  पक्की सडक नपुगेका जिल्लाहरुमा  पाँच बर्षभित्र पक्की बनाउने योजना अगाडि सारिएको र त्यस अवधिमा सबै स्थानीय तहको केन्द्रमा पुग्ने सडक समेत कालोपत्रे गरि सक्ने योजना अगाडि सारिएको बताए ।

 तेब्बर सडक पिच गर्ने

  उनका अनुसार अहिले प्रदेश पाँचका १२ जिल्लामा कुल ८ सय किलोमिटर सडक मात्रै कालोपत्रे रहेको छ ।   त्यसमा तेब्बर भन्दा बढि वृद्धि गर्दै पाँच वर्ष भित्रमा २६ सय किलोमिटर सडक कालोपत्रे गर्ने गरी योजना अगाडि सारिएको  मन्त्री चौधरीको भनाई छ । अहिले कच्ची, ग्रावेलिङ्ग र पक्की गरी प्रदेश पाँचभर कुल ११ हजार किलो मिटर सडक रहेको छ ।

  त्यसलाई पाँच वर्ष भित्रमा २२ हजार किलो मिटर अर्थात दोब्बर बृद्धि गर्ने प्रदेश सरकारले लक्ष्य लिएको छ । ‘उक्त लक्ष्य लिए पनि बजेट अभाव  देखिएको छ ’–मन्त्री चौथरीले भने–‘ एउटा सडकमा एक एक करोड  रकम भन्दा बढि बृद्धि गर्न नसकिएकोले समस्या आएको छ । ’

सडक पहुँचका दृष्टिकोणले अन्य प्रदेशको तुलनामा चौथो नम्बरमा परेको प्रदेश पाँचले कुल ४७ प्रतिशत  रकम सडकमा विनियोजन गरेको छ ।

   यस प्रदेशका सबै जिल्लामा सडक पुगेको छ  । १२ जिल्ला मध्ये सबै भन्दा बढि सडकको लम्वाई पाल्पा जिल्लामा रहेको छ । त्यस जिल्लामा एक हजार , पाँच सय  ५८ किलो मिटर सडक सञ्जाल पुगेको छ ।  पाल्पा पछि गुल्मी दोश्रो बढि लम्वाई सडक सञ्जाल पुगेको जिल्ला हो । गुल्मीमा हाल सम्म एक हजार  तीन सय ६३ किलो मिटर सडक पुगेको छ । 

   त्यस्तै दाङ्गमा एक हजार , दुई सय २५ किलो मिटर, कपिलवस्तुमा  एक हजार , एक सय ७७ किलो मिटर  सडक सञ्जाल पुगेको छ । सडकको घनत्वका हिसाले  पाल्पा  र गुल्मी अगाडी छन् भने  पूर्वी रुकुम र बाँके पछाडि छन् ।  राष्ट्रिय सडक सञ्जालको हिसावले दाङ्ग, पाल्पा , कपिवस्तु, बाँके  अरु भन्दा अगाडी छन । 

  पूर्वी रुकुम  र प्युठान पछाडि छन ।  गुल्मी, अर्घाखाँची,  प्युठान , रोल्पा , पूर्वी रुकुम  र वर्दियाका अधिकांश सडक कच्ची छन् । सबैभन्दा बढी सडक पक्की हुने जिल्ला प्रदेश पाँचको अस्थायी राजधानी रहेको रुपन्देही बनेको छ । यस जिल्लाका  ३५ प्रतिशत ग्रामिण सडक समेत पक्की छन ।  दोश्रो बढी पक्की सडक हुनेमा नवलपरासी रहेको छ ।

  नवलपरासीका ११ प्रतिशत ग्रामिण सडक पक्की भई सकेका छन् ।  ३० वटा स्थानिय तहका मुकामलाई पहुँच मार्गका रुपमा एक एक करोडका दरले ३० करोड छुट्याइएको छ । स्थानीय तहका अन्य मुकाम जोड्ने सडकहरुको स्तर बृद्धिका लागि ७५ हजार देखि साढे दुई करोड सम्म विनियजन गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश पाँचले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप