बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वैज्ञानिक अनुसन्धान समाजका लागि जाेड दिने

मङ्गलबार, ०५ चैत २०७५, ०७ : १८
मङ्गलबार, ०५ चैत २०७५

ललितपुर -  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सुन्तलामा लाग्ने रोगको निदान गर्ने भएको छ । नाष्टले इटालियाली संस्थाको सहकार्यमा उच्च (पाँच हजार ५० मिटर) पर्वतीय पिरामिड प्रयोगशाला स्थापना तथा सञ्चालन गर्ने जनाएको छ । प्रतिष्ठानले आगामी वैशाख ४ गते नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याट–१’ पनि प्रक्षेपण गर्ने सार्वजनिक गरिसकेकाे छ । 

सोमबार आयोजित पत्रकार सम्मेलनमा नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले नेपालका वनस्पती एवं वन्यजन्तुको ‘डिएनए बार कोडिङ’ तथा फोहरबाट ऊर्जाको सम्भावना, विज्ञान प्रविधि क्षेत्रका युवा एवं अथक योद्धालाई पुरस्कृत, नवीकरणीय ऊर्जा प्रविधिको सफल परीक्षण तथा प्रविधि हस्तान्तरण गर्ने जानकारी दिए । उनका अनुसार संस्थाले आयनीकरण गर्ने, विकिरण मापनमार्फत नेपाली समाजलाई सुरक्षाको प्रत्याभूति दिलाउने, विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने, अनुसन्धान प्रवर्द्धनका लागि वृत्ति प्रदान गर्ने, नेपालमा विज्ञान सञ्चारको जग बसाउने छ । 

उच्च पहाडी क्षेत्रमा ‘हिमालयन सिड बैंक’ स्थापना गरी धेरैलाई उद्यमी बनाउने कार्यमा नाष्ट लाग्ने जनाएकाे छ । परम्परागत ज्ञान, सीप, उद्यमशीलता र प्रविधिमा संस्थाले जोड दिनेछ । वैज्ञानिक र सर्वसाधारणबीचको सहकार्य अघि बढाउन वैशाखमा नाष्टले ‘साइन्स स्ट्रिट फेयर’ गर्ने जनाइएको छ । ‘समृद्ध नेपाल, खुशी नेपाली’को उद्देश्य परिपूर्ति गर्न र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न तथा सहयोग सिर्जित ज्ञान तथा प्राविधिक सीपमार्फत जनताको दैनिक जीवनसँग जोडिने पुनःजागरणमा नाष्टअघि बढेको  जानकारी गराएकाे छ । 

नाष्टले गरेका काम अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशन हुने क्रम भएको तथा विभिन्न संस्थाको सहकार्यमा ‘फ्लोरा अफ नेपाल’ एवं ‘नेपाल पिडिया’ शीर्षकका पुस्तकसमेत प्रकाशन भइसकेकाे छ । गत माघ २ गते नियुक्त उपकुलपति श्रेष्ठले आफ्नो चार वर्षे कार्यकालभित्र वैज्ञानिक अनुसन्धानलाई विज्ञान समाजका लागि भन्ने मूल नाराको साथ अघि बढाउन विभिन्न योजना ल्याएकाे बताउँदै नाष्टसँग कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव ५३ प्रतिशत बजेट रहँदा अपेक्षित काम गर्न नसकेको गुनासो गरे । नाष्टका प्रवक्ता डा सुरेशकुमार ढुङ्गेलले महिनाको दुई पटक पत्रकारलाई सुचना उपलब्ध गराइने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप