बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कन्जुस साहू !

मङ्गलबार, ०५ चैत २०७५, ०० : १६
मङ्गलबार, ०५ चैत २०७५

पुरानो चीनको एउटा बस्तीमा एकजना कन्जुस साहू थियो । उसले टाढाटाढाका गाउँबस्तीहरुसम्म ब्याजका लागि पैसा लगानी गरेको थियो । ऊ गरीब किसान र कामदारहरुबाट बडो निर्दयरुपमा रिनको सावाँब्याज उठाउने कुरामा नामुद् थियो ।

कमाउँदा–कमाउँदा कन्जुस साहुका कपाल फुले । आँखा धमिला हुँदै गए । गोडामा पहिलेको बर्गत रहेन । साहूले असामी उठाउन जाँदा चढ्नका लागि एउटा गधा किन्यो । गधाको तागत पनि संचय गर्नुपर्यो, जथाभावी किन खर्च गर्ने ? यस्तो सोच्दै कन्जुस साहू यात्रामा गधाको प्रयोग थोरैमात्र गर्थ्यो । थाकेर हिँड्न नसक्ने बन्दासम्म गधामाथि सवार हुँदैनथ्यो ।

गर्मीको मौसम थियो । कन्जुस साहूलाई निकै टाढाका आसामी उठाउँन जानु थियो । गधा लिएर ऊ यात्रामा निस्क्यो । सुरुमा उसले गधालाई डोर्‍याएर हिँड्यो । आधा बाटो हिँडेपछि उसलाई चर्को थकाइ लाग्यो । स्वाँ–स्वाँ हुन थाल्यो । गोडा पनि दुख्यो । कन्जुस साहूले सोच्यो, “अब त मैले गधा चढ्नै पर्छ ।” ऊ गधामाथि सवार भयो । दुई किलोमिटर बाटो तय गर्‍यो । कन्जुस साहूलाई त बडो मज्जाको आराम मिल्यो तर गधा नराम्रोसँग थाक्यो । गधालाई यात्रामा रित्तै हिँड्ने बानी परिसकेको थियो । गधा बेस्सरी स्वाँ–फ्वाँ–स्वाँ–फ्वाँ गर्न थाल्यो । बूढो साहूले लाचार भएर गधाबाट ओर्लनु पर्‍यो र आराम दिन गधालाई पनि काठी निकालेर रित्तो खुकुलो बनाइदिनुपर्‍यो । त्यसै गर्‍यो । गधाले सोच्यो, “काठी झिकेर साहुजीले मलाई घर फर्कन आदेश दिएका होलान् ।” गधा फरक्क फर्केर अघि आएको बाटोतिर दगुर्‍यो । त्यसै छोडिदिँदा गधा हराउँला भन्ने डरले कन्जुस साहू रन्थनियो र काठी काँधमा बोकेर गधाको पछि पछि आफू पनि दगुर्न थाल्यो ।

गधाको पछि–पछि दगुर्दै कन्जुस साहू पनि गधासँगसँगै घर पुग्यो । यो दगुरादगुर यात्राले साहूका शरीरको एक एक मांसपेसी घाउ दुखेजसरी दुखेका थिए । ऐय्या मरें भन्दै घरको फलैंचामा थ्याच्च बस्यो । बेलुकाबाट त उसलाई ज्वरो नै आयो । कति महिनासम्म आसामी उठाउन जानै सकेन !

बूढो यसरी थला परेर घरमा पसारिएका दिनहरु गरिब आसामीहरुका लागि साँच्चिकै खुसीका दिन बनेका थिए । उनीहरुले मनमनै त्यस गधालाई धन्यवाद दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप