शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारसँगको सहमति ऐतिहासिक : सिके राउत

सोमबार, ०४ चैत २०७५, १९ : ५७
सोमबार, ०४ चैत २०७५

सिरहा । सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन अन्ततः आफ्नो नाम परिवर्तन गर्दै मूलधारको राजनीतिमा प्रवेश गर्ने निर्णयमा पुगेको छ । सरकारसँग भएको ११ बुँदे सहमतिपछि सिरहाको लहानमा बसेको दुईदिने परिषद् बैठकले ‘जनमत पार्टी’ को नामाकरणसँगै मूलधारको राजनीतिमा प्रवेश गर्ने भएको हो ।

बैठकले सरकारसँग भएको ११ बुँदे सहमतिलाई अभूतपूर्व उपलब्धीको रुपमा आज वितरित प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ । पार्टीका केन्द्रीय सदस्य अब्दुल खानद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘स्वतन्त्र मधेस गठबन्धन र नेपाल सरकार बीच २०७३ फागुन २४ गते भएको ११ बुँदे सहमति ऐतिहासिक तथा मधेसी जनताको लागि अभूतपूर्व उपलब्धी भएको घोषणा गर्दै सहमतिको राष्ट्रिय परिषद् बैठकले स्वागत गरेको छ ।’

त्यसैगरी सहमति कार्यन्वयको लागि चन्दन सिंहको संयोजकत्वमा तीन सदसीय सहमति कार्यान्वय समिति चयन गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । सिंह संयोजकत्वको समितिले थुनामा रहेका कार्यकर्तालाई छिटो रिहाईको लागि पहल गर्ने बताएको छ । 

नयाँ पार्टी गठनसँगै जनताको माग सम्वोधन गराउन जनतामा जाने बताइएको छ । विज्ञप्तीमा भनिएको छ, ‘जनमत जुटाउन जनता समक्ष जाने र जनताबाटै संवैधानीक रुपमा जनताको माग, समस्या र अधिकार अनवरत रुपले निःस्वार्थ भावनाले संघर्षरत रहने प्रतिबद्धता गर्दछौं ।’

दुई दिनसम्म चलेको जनमत पार्टीको बैठकले सीके राउतको अध्यक्षतामा ३५ सदस्य केन्द्रीय समिति चयन गरिएको छ । यस्तै केन्द्रीय सदस्यमा कैलाश महतो (महोत्तरी) राजकुमार यादव (सिरहा) अब्दुल खान (बर्दिया), चन्द सिंह (महोत्तरी), बबिता इसर (सप्तरी), कौशिला महतो (झापा), परमेश्वर मुर्मु (मोरङ) सीताराम पण्डित (सुनसरी), सुरेन्द्र शर्मा (सप्तरी), सरिता यादव (सिरहा), इन्द्रजीत यादव (धनुषा), सञ्जय यादव (महोत्तरी) नरेश कुशहवा (सर्लाही) वीरेन्द्र साह (रौतहट), दिनेश यादव (बारा), सञ्जय शाह (पर्सा), धु्रव गौड (नवलपरासी), भोपेन्द्र यादव (रुपन्देही), हकिकुल्ला खान (कपिलवस्तु), राधा यादव (दाङ), इरफान अहमद शेष (बाँके), महेन्द्र प्रसाद चौधरी (कैलाली), दुर्गा चौहान (नवलपरासी) र आसा मेहता (सुनसरी) रहेका छन् ।

बैठकले बाँकी १० जना सदस्यमध्ये दलित जनजाती अल्पसंख्यकसहितको प्रतिनिधित्व हुनेगरी मनोनयन गर्ने जिम्मेवारी राउतलाई दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा दल निर्वाचन आयोगमा दर्ता भएपछि आवश्यकता अनुसार केन्द्रीय समिति विस्तार गर्न सकिने जनाएको छ । केन्द्रीय समिति विस्तारमा थप केन्द्रिय सदस्य अध्यक्षले थप्न सक्ने पनि बताइएको छ । 

विज्ञप्तीमा पार्टीको झण्डामा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा सेतो स्ट्रिपमा रातो रङको अष्टदल रहने निर्णय भएको पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले जानकारी दिए । यस्तै चुनाव चिन्ह ‘अष्टदल’ राखिने भएको छ ।

यस अघिसम्म स्वतन्त्र मधेश गठवन्धनको हरेक विज्ञप्ति तथा स्टेटमेन्टहरु हिन्दी भाषामा आउने गरेको थियो । यो पटक भने नेपाली भाषामै लेखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप