शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२७ भदैमा फुल्दै ‘नीरफूल’

आइतबार, ०३ चैत २०७५, १० : १८
आइतबार, ०३ चैत २०७५

काठमाडौं– संचारकर्मी फूलमान वलले निर्देशन गरेको फिल्म ‘नीरफूल’ले आफ्नो रिलिज डेट तय गरेको छ । आउँदो नयाँ बर्षको भदौ २७ गते फिल्म मुलुकभर रिलिज हुने निर्देशक वलले बताए ।भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथामा आधारित  फिल्म गणेश हिमाल मुनिको रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको छ । दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय फिल्ममा देख्न सकिन्छ । एक बर्ष अघि नै छायांकन सकिएको भए पनि एनिमेसन र भिएफएक्सका कारण पोस्ट प्रोडक्शन लम्बिएको निर्देशक वलले जनाए । 

फिल्ममा अभिनेत्री रेखा थापा विशेष भुमिकामा छिन्, भने रंगकर्मी शान्ति वाइबाको यो डेब्यु फिल्म हो । दयाहाङको जोडीको रुपमा देखिन लागेकी वाइबा सेलो थिएटरकी संस्थापक हुन् । मेलिना राईको ‘तिमीले बाटो फेर्यौ अरे...’ गीतको किड भर्सन कभर सङ गाएर युट्युबमा चर्चा कमाएकी बाल गायिका जिग्मे छ्योइकी घिसिङ दयाहाङको छोरीको रुपमा फिल्म छिन् । 

फिल्मको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन्, भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । निर्देशक वलले २०७२ को महाभूकम्पको पृष्ठभुमिमा राज्य प्रणालीको भष्टता पनि औंल्याउन खोजिएको बताए । ‘यो धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत कथा भन्ने कोसिस गरेको छु’, उनले भने, ‘यो ठाउ“को भूगोल, प्रकृति र संस्कृतिबारे अहिलेसम्म बाहिर आएको छैन । यस हिसाबले यो फिल्मले रुबी भ्यालीलाई पनि चिनाउने छ ।’ 

फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको उनले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल र अमेरिकास्थित ग्रीनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् ।

निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम  लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । फिल्ममा अर्जुन पोखरेलको संगीत रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप