शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपाल न चौकीदारको वितरक हो न भारतीयको पेवा’

शनिबार, ०२ चैत २०७५, ११ : १२
शनिबार, ०२ चैत २०७५

राजेश जोशी. सम्पादक बीबीसी हिन्दी रेडियो

यो वाक्यमा लुकेको हेपाई र घमण्ड हेर्नुहोस् – ‘चौकीदार त हामी नेपालबाट पनि मगाउन सक्छौं ।’

आम आदमी पार्टीकी सांसद अलका लाम्बाको यो ट्वीटमा लेखिएको ‘हामी’ र ‘मगाउन सक्छौं’ मा ध्यान केन्द्रीत गर्नुहोस् । अर्थ निस्कन्छ – हामी मालिक हौं, हामीसँग अथाह पैसा र शक्ति छ, हामी जहाँबाट पनि जे पनि मगाउन सक्छौं । र नेपालबाट चौकीदारबाहेक अरु के नै मगाउन सकिन्छ र ।

उसिनेको अण्डाको पसलमा बेलुका रक्सी पिइरहेका लफङ्गा पनि यस्तै भन्छन्, ‘अरे, रक्सी त हामी जति पनि मगाउन सक्छौं । हामीलाई के कुराको कमी छ !’

अलका लाम्बालाई थाहै भएन, प्रधानमन्त्री नरेन्द्र मोदीमाथि टिप्पणी गर्दा उनले नेपालीबारे जे भनिन् त्यसले विवाद निम्त्याउन सक्छ । उनले हिज्जेको अशुद्धिसँगै ट्वीट गरिन्, ‘प्रिय भारतवासी, कृप्या यसपटक प्रधानमन्त्री छान्नुहोस्, चौकीदार त हामी नेपालबाट पनि मगाउन सक्छौं । नेपालका चौकीदार चोर हुँदैनन् ।’

लाम्बालाई लाग्छ कि हामी, अर्थात् भारतीय, चौकीदार पठाइदिन अर्डर गर्नेछौं, र नेपाल भने ढोकामा उभिएका पालेजस्तै शिर निहुराउनेछ र भोलिपल्टै हामीकहाँ नेपाली चौकीदारको लाइन लाग्नेछ । उनले बिर्सिइन् कि नेपाल एक स्वतन्त्र राष्ट्र हो, भारतजस्तो कहिले पनि कसैको दास भएन, नेपाल भारत र चीनबीचको एउटा स्वतन्त्र मुलुक हो जसले अलका लाम्बाका लागि चौकीदारको सप्लाई गर्दैन ।

अलका लाम्बा शिक्षित छिन् । दिल्ली विश्वविद्यालय विद्यार्थी संघकी अध्यक्ष भइसकेकी छिन् । बुझक्कड जस्तो देखिन्छिन् । तर उनले बुझ्नुपर्छ कि नेपालमा चौकीदार मात्र पाइँदैनन् । त्यहाँ प्राविधिज्ञ, अर्थशास्त्री, वैज्ञानिक, नायक–नायिका, ब्यूटी क्विन्स, संगीतकारलगायत विभिन्न विशिष्ठ व्यक्ति छन् । त्यहाँ चौकीदार, सफाई कर्मचारी, मजदुर, किसान र अन्य मेहनती पनि हुन्छन् जुन दिल्ली, उत्तर प्रदेश, कर्नाटक र केरलमा पनि हुन्छन् ।

अलका लाम्बाले यो पनि बुझ्नुपर्छ कि नेपाली जनता त्यसरी नै रोजगारीका लागि अन्य देशमा जान्छन् जस्तै पंजाब, गुजरात, राजस्थान वा केरल आदि राज्यका मानिसहरु ट्याक्सी चलाउन, सरसफाई गर्न वा कारखानाको काम गर्नका लागि खाडी मुलुक, क्यानडा, अमेरिका, ब्रिटेन, इटाली वा फ्रान्स जान्छन् । डोनल्ड ट्रम्पले यदि ‘ल, छिट्टै केही भारतीय मगाउ, न्यूयोर्क शहर निकै फोहोर भएको छ’ भन्दै टिप्पणी गरे कस्तो होला ? लाम्बाको बयान यस्तै छ ।

तर नेपाललाई आफ्नो पेवा ठान्ने अलका एक्ली होइनन् । उनले ट्वीट गरेर आफ्नो गल्तीको माफी त मागिन् तर यसले भारतको त्यो मानसिकता मेटाउन सक्दैन जसले नेपाललाई भारतको पेवा ठान्छ । उत्तर भारतमा नेपाललाई आफ्नो सम्पत्ति ठान्ने धेरै नै भारतीय छन् भनेर नेपाली जनतालाई राम्रोसँग थाहा छ ।

गत महिना काठमाडौंबाट दिल्ली आइरहेको एयर इन्डियाको फ्लाइटमा मसँग एक भारतीय यात्रीले जब बियर मागे तब फ्लाइट अटेन्डेन्टले एउटा चौडा नक्कली मुस्कानसहित जवाफ दिइन्, ‘सर, यो डोमेस्टिक फ्लाइट हो यसमा हामी बियर सर्भ गर्दैनौं ।’

म ती अटेन्डेन्टलाई सोध्न चाहन्थेँ कि नेपाल जाने फ्लाइट कहिलेदेखि डोमेस्टिक वा घरेलु उडान भयो ? कहिलेदेखि भारत र नेपाल एउटै देश भए, डुड ?

नेपाल कसैको पेवा होइनः

नेपाल एउटा स्वतन्त्र देश हो जहाँ छुट्टै संविधान, छुट्टै प्रधानमन्त्री, छुट्टै संसद र छुट्टै सेना छन् । तर एउटा स्वतन्त्र देशबाट अर्को स्वतन्त्र देशको लागि उडान भरिरहेको विमानकी ती फ्लाइट अटेन्डेन्टले जसरी त्यसलाई घरेलु उडान ठान्छिन् त्यसरी नै आम आदमी पार्टीकी सांसद अलका लाम्बालाई पनि लाग्छ कि ‘चौकीदार त हामी नेपालबाट पनि मगाउनेछौं ।’

नेपालको त्रिभुवन विमानस्थलमा तैनाथ ती नेपाली इमिग्रेशन अफिसरले सायद यस्तै थुप्रै भारतीयसँग भेटेका होलान् । उनले मलाई कटाक्ष गरे ‘तपाईंको मुलुक ठूलो र तपाईंको जुँगा पनि ।’ अर्थात्, तिम्रो देश धेरै ठूलो छ र तिम्रो अहंकार पनि निकै ठूलो छ ।

नेपालीलाई साँच्चै लाग्छ कि भारत ठूलो देश हो त्यसकारण भारतीयको अहम पनि ठूलो छ । थुप्रै पटक भारतीयलाई यो महसुस नै हुँदैन कि नेपाल बारे उनीहरु जे भनिरहेका छन् वा जे सोचिरहेका छन्, त्यो नेपालीलाई फिटिक्कै मन पर्दैन ।

काठमाडौं पुगेलगत्तै मैले नेपाली साथीहरुलाई भने – नेपाल आफ्नै घरजस्तो लाग्छ । कुराकानीमा संलग्न एक नेपाली साथीले तत्काल भनिहाले, ‘हो, तपाईंका प्रधानमन्त्री मोदी जी पनि यस्तै भन्नुहुन्छ ।’

मलाई तत्काल याद भयो कि प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीको पहिलो यात्राको क्रममा नेपाली नागरिक मोदी–मोदीको नारा लगाउँदै सडकमा उनको स्वागतका लागि उर्लिएका थिए । आज त्यही व्यक्तिहरु नै  किन मोदीको कुरा आउनेबित्तिकै प्रश्न तेर्साउन थाल्छन् ।

यस्तै वाक्यले नेपाली जनतालाई लाग्छ कि भारतीयहरु नेपालको स्वतन्त्र अस्तित्व स्विकार गर्दैनन् । उनीहरु सोच्छन्, भारत नेपाललाई आफ्नो छत्रछायामा राख्न चाहन्छ । धुर स्वतन्त्र विचार भएका नेपालीलाई भारतको यस्तो प्रेम अलिकति पनि मन पर्दैन । उनीहरुलाई यसमा ‘सांस्कृतिक विस्तारवाद’ को गन्ध आउँछ ।

तीन महिनासम्म काठमाडौंमा बसेर काम गर्दा र नेपालका विभिन्न शहर र गाउँमा घुमेपछि मैले एक पटक होइन, यस्ता प्रश्नको बारम्बार सामना गर्नुपरेको छ । बसमा, पसलमा, होटलमा, सडकमा कुराकानी गर्ने मानिसहरुले मलाई पटक–पटक एउटै प्रश्न सोधे – मोदी जीले हामीलाई रगतको आँसु रुवाए, तर किन ?

नेपाली जनता, विशेषगरी पहाडी इलाकामा बस्ने मानिसहरु सन् २०१५ का ती दिन बिर्सिएका छैनन् जब नरेन्द्र मोदी सरकाले नेपालमा ‘अघोषित आर्थिक नाकाबन्दी’ गरेका थिए र मानिसहरुबीच पेट्रोल, डिजेल, ग्यासजस्ता अत्यावश्यक वस्तुको हाहाकार मच्चिएको थियो ।

धेरै मानिसहरु यसको चपेटमा आए । तर नेपालमाथि भारतको नाकाबन्दी पहिलो पटक थिएन । राजिव गान्धी जब प्रधानमन्त्री थिए त्यतिबेला पनि भारतले नेपाललाई घेराउ गरेका थिए ।

काठमाडौंभन्दा केही टाढा चितलांग गाउँमा पोखराबाट आफ्ना विद्यार्थीसँग आएका एक शिक्षकले मलाई सोधे, ‘नाकाबन्दी गरेर मोदी जीले हामीलाई जानीजानी चीनतर्फ धकेलिरहेका होइनन् ?’

म यसको जवाफ के दिन सक्थेँ र ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप