शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन दिनदेखि ह्यात होटलमा के गर्दैछन् राजपा नेपालका नेताहरु ?

शुक्रबार, ०१ चैत २०७५, १२ : ४७
शुक्रबार, ०१ चैत २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका नेताहरु तीन दिनदेखि ह्यात होटलमा छलफलमा जुटेका छन् ।

संघीय समाजवादी फोरम नेपालसँग एकीकरण, प्रदेश २ का मन्त्री हेरफेर, विप्लवमाथि सरकारले लगाएको प्रतिबन्ध, सिके राउतसँग सरकारले गरेको सहमति, रेशम चौधरीलाई आजीवन जेल, पार्टीको महाधिवेशन लगायका विषयमा नेताहरु छलफल गरिरहेका छन् ।

यी विषयहरुमा तीन दिनसम्म पार्टी कार्यालयमा पनि छलफल भएको थियो । तर, पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरु आवतजावत भइरहने हुनाले सो बैठकलाई ह्यात होटलमा सारिएको छ । सो होटलमा फागुन २९ गतेदेखि अध्यक्षमण्डलका ६ जना अध्यक्षको बीचमा छलफल भइरहेको छ ।

सो बैठकमा दुईटा विषयमा गम्भीर छलफल भइरहेको छ । अध्यक्षमण्डलका एकजना सदस्यले आज रातोपाटीसँग भने, ‘हाम्रो बैठक विशेष गरि दुईटा विषयमा केन्द्रीत छ । फोरम नेपालसँग एकीकरण र प्रदेश २ को मन्त्री हेरफेर ।’

फोरम र राजपा एकीकरण

फोरम नेपालले पार्टी एकीकरणका लागि आह्वान गर्दै राजपा नेपाललाई पत्र पठाएपछि उनीहरु दबाबमा परेका छन् । पत्र पठाएको एक महिनाभन्दा बढी भइसक्यो तर हालसम्म त्यसको जवाफ फोरम नेपाललाई पठाएको छैन ।

फोरम नेपालसँग एकीकरण गर्ने कि नगर्ने विषयमा छजना सदस्य रहेको अध्यक्षमण्डलमै विवाद रहेको देखिन्छ । छजनामध्ये महेन्द्रराय यादव, राजकिशोर यादव, शरतसिंह भण्डारी एकीकरणको पक्षमा देखिएका छन् भने राजेन्द्र महतो, अनिल झा त्यसको पक्षमा नदेखिएको स्रोतको दावी छ । यता, महन्थ ठाकुर त्यस विषमया मौन देखिन्छन् । तर, फोरम नेपाल स्रोत भन्छन्, महन्थ ठाकुर र उपेन्द्र यादवबीच छलफल हुँदा ठाकुर पनि सकारात्मक रहेका छन् ।

राजेन्द्र महतोले वार्ताअघि नै उपेन्द्र यादव सरकारबाट बाहिरिनु पर्ने सर्त राखेका छन् । तर फोरम नेपाल त्यो कुरा मान्ने पक्षमा देखिएको छैन । वार्तालाई अगाडि बढाएपछि त्यसको नतिजाको आधारमा सरकारबाट बाहिरिने कुरामा विचार गर्ने फोरम नेपालको तर्क रहेको छ ।

अर्को कुरा, राजपा नेपालले एकीकरण हुँदा तत्कालका लागि १ र ६ को आधारमा अर्थात सातजनाको अध्यक्षमण्डल रहने गरि एकीकरण प्रकृया अगाडि बढाउन भन्दै आएको छ तर फोरम नेपालले त्यसको पक्षमा देखिएको छैन । फोरम नेपालले दुवै दलबाट एक–एकजना रहने गरि नेकपाको मोडेलमा पार्टी एकीकरण गर्ने प्रस्ताव गरेको छ । त्यस विषयमा राजपा नेपालमा मतमतान्तर देखिएको स्रोतले दावी गरेको छ ।

मन्त्रीमण्डल हेरफेर

राजपा नेपाल फागुन १० गतेदेखि शुरु गरेको प्रदेश स्तरीय बैठकमा प्रदेशका मन्त्रीहरुको बारेमा आलोचना भएको थियो । प्रदेश २ का मन्त्रीहरुले काम राम्रोसँग नगरेको गुनासो बैठकमा गरेपछि हेरफेर गर्ने बारे छलफल गर्न पार्टी बाध्य भएको राजपा नेपालका एक नेताले बताए ।

फोरम नेपालको नेतृत्वमा प्रदेश २ मा सरकार गठन भएको छ । त्यसलाई राजपा नेपालले सघाएको छ । फोरम नेपालका महासचिव जितेन्द्र सोनल भौतिक पूर्वाधार मन्त्री छन् भने नवलकिशोर साह समाजिक विकास मन्त्री छन् । त्यस्तै, रामनरेश राय यादव उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री रहेका छन् ।

सुरेश मण्डल उद्योग, पर्यटन, वन तथा वतावरण राज्यमन्त्री, डिम्पल झा भौतिक पूर्वाधार राज्यमन्त्री र अभिराम शर्मा समाजिक विकास राज्यमन्त्री रहेका छन् ।

मन्त्रीहरुले काम नगरेको गुनासोपछि अध्यक्षमण्डलका सदस्यहरुले यस विषयमा काठमाडौ फर्केपछि कुनै निष्कर्ष निकाल्ने आश्वासन दिएका थिए ।

महाधिवेशन सार्ने

राजपा नेपालले बैशाख ७, ८ र ९ गतेका लागि महाधिवशेनको मिति तोकिसकेको छ तर त्यसको तयारी पुरा भएको छैन । जिल्लाहरुमा साधारण सदस्यता वितरण गर्ने काम पनि सकिएको छैन । यद्यपि सदस्यता वितरण गर्ने म्याद सकिएको छ ।

महाधिवेशन हुन एक महिना बाँकी रहेको अवस्थामा गाउँ, नगर, जिल्ला र प्रदेशको अधिवेशन अझै टुगों लागेको छैन । विभिन्न जिल्लामा नेतृत्वलाई लिएर विवाद कायमै छन् । तल्लो तहका कुनै पनि निकायले अधिवेशन गरेको प्रतिवेदन केन्द्रमा पुर्याएको छैन ।

त्यही भएर तोकिएको समयमा महाधिवेशन हुने कुरामा पार्टीकै नेताहरुले आशंका गरिरहेका छन् त्यस विषमया पनि ह्यात होटलको बैठकले निर्णय लिने बताइएको छ ।

त्यसका साथै सरकारले हालै सिके राउतसँग गरेको राष्ट्रिय सहमति र विप्लव समूहका नेकपामाथि लगाएको प्रतिबन्धको बारेमा पनि बैठकले कुनै निर्णय गर्ने बताइएको छ । कैलाली जिल्लाले रेशम चौधरीलाई टिकापुर घटनमामा दोषी करार गरी आजिवन कारावासको निर्णय सुनाएको छ । त्यसको विरुद्धमा पुनरावेदन जाने राजपा नेपालले भनेको छ त्यसबो बारेमा पनि छलफल हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप