शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘कागजपत्र’ : अष्ट्रेलिया जान शिल्पाको भोलासँग नक्कली बिहे

बिहीबार, ३० फागुन २०७५, १२ : ४६
बिहीबार, ३० फागुन २०७५

काठमाडौं – नक्कली कागजी विवाह गरेर अष्ट्रेलिया गएका थुप्रै नेपाली छन् । केही अझै पनि जाने लाइनमा देख्न सकिन्छ । तर यसरी अष्ट्रेलिया जान सोचेजस्तो सजिलो भने छैन । यसका लागि थुप्रै कागजपत्र तयार गर्नुपर्ने हुन्छ । कागजपत्र तयारी गर्दा विभिन्न झन्झटको सामाना पनि गर्नुपर्छ ।

यस्तै विषय फिल्म ‘कागजपत्र’ले उठाएको निर्देशक अपिल विष्टले बताए । ‘मैले पनि पहिले अष्ट्रेलिया जान कागजपत्र तयार गर्दा अनेक झन्झट भोगेको थिएँ’ विष्टले भने, ‘फिल्म त्यही विषय र त्यसको परिणाममाथि केन्द्रीत छ ।’ कागजपत्रको विषय उठाए पनि फिल्म प्रेम र रोमान्सले भरिपूर्ण रहेको उनले सुनाए ।

फिल्मको विभिन्न विषयको जानकारी गराउने उद्देश्यले स्टारमल आयोजित कार्यक्रममा निर्देशक अपिलकै कुरामा अभिनेता नाजिर हुसैनले पनि समर्थन जनाए ।

‘कागजपत्रले नक्कली बिवाह गरेर अष्ट्रेलिया जाने ब्यक्ति, उसको परिवार र आफन्तले भोग्ने मानसिक तनाव पनि देखाउछ’ नाजिरले भने’ यो छोराछोरी अष्ट्रेलिया जाहोस् भन्ने अभिभावकको लागि पनि गतिलो झपडा हो ।’ फिल्ममा प्रेमिकासँग अर्कैको नक्कली विवाह गरेर अष्ट्रेलिया पठाउने प्रेमीको भूमिका आफूले निर्वाह गरेको नाजिरले खुलाए । थपे ‘यस अगाडि बोले भने सबै फिल्मको कथा खुल्छ ।’

अभिनेत्री शिल्पा मास्केले भने आफूले नाजिरको प्रेमिकाको भूमिका निर्वाह गरेको बताइन् । ‘प्रेमी छोडेर अर्काे पुरुषसँग नक्कली विवाह गरेर अष्ट्रेलिया जाने युवतीको मनोदसा मेरो पात्रले बोल्छ’ शिल्पाले भनिन् ‘मेरो भूमिकाले दर्शकलाई रोमान्टिक बनाउछ ।’

फिल्ममा शिल्पाको दिदीको भुमिका आफुले निर्वाह गरेको अभिनेत्री सरिता गिरीले बताइन् । ‘बहिनीसँग श्रीमान्को नक्कली बिवाह गरेर अष्ट्रेलिया पठाउने श्रीमतीले भोग्ने मानसिक र शारिरिक तनाव मेरो चरित्रले बोल्छ’ गिरीले थपिन् । 

८ चैत्रबाट प्रदर्शनमा आउने फिल्म अष्ट्रेलियाको सिड्नीमा रहेका उत्साही यूवा प्रजापति शिवाकोटी र मुकेश रेग्मीले मिलेर बनाएका हुन् । निर्माता शिवाकोटीले ‘कागज पत्र’ले नेपाली फिल्म बजारमा नयाँ आयाम ल्याउने बताए । फिल्ममा नाजिर, शिल्पा र सरिताको अलवा भोला सापकोटाको पनि मुख्य भूमिका रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप