शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्रिमण्डल पुनर्गठनमा ओली–प्रचण्डबीच मतभेद : सबैमन्त्री फेरबदल गर्न प्रचण्डको वैकल्पिक प्रस्ताव

बिहीबार, ३० फागुन २०७५, १० : ३४
बिहीबार, ३० फागुन २०७५

फेरि एकपटक केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिमण्डल हेरफेरको विषय चर्चामा आएको छ । यस्तो चर्चा विगतमा पनि हुँदै आए पनि मङ्गलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगर पुगेर मन्त्रीमण्डल हेरफेरका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल भएको बताएपछि यो विषय पुनः चर्चामा आएको हो ।

ओली र प्रचण्डबीच मतभेद

मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयमा चर्चा शुरु भएसँगै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भने मतभेदका संकेतहरु देखिएका छन् । मन्त्रीमण्डल पुर्नगठनजस्तो विषयमा पार्टीभित्र औपचारिक छलफल नभएकोमा अरु शीर्ष नेता पनि असन्तुष्ट छन् ।

विराटनगरमा सञ्चारकर्मीहरुसँग प्रचण्डले मन्त्रिमण्डल पुर्नगठनबारे भनेका थिए, ‘यो कुरा प्रधानमन्त्रीजीले कसरी हिसाब गर्नुहुन्छ, त्यसमा बढी भर पर्छ । हाम्रो सिस्टम भनेको प्रधानमन्त्रीकै छ । उहाँले कसरी मूल्याङ्कन गर्नुहुन्छ, त्यसमा भर पर्छ । प्रधानमन्त्रीसँग मन्त्रीमण्डल पुनर्गठनको बारेमा कुराचाहिँ भएको छ ।’

यसबाहेक प्रचण्डको भनाई थियो, ‘प्रधानमन्त्रीजीको ‘म हेरिरहेको छु’ भन्ने भनाई रहेको छ । मैले यो तपाईंकै मूल्याङ्कनमा भर पर्ने कुरा हो आवश्यक निर्णय गर्नुस् भनेको छु ।’

नेकपा सचिवालयका एक सदस्यका अनुसार प्रचण्डको अभिव्यक्ति धेरै अर्थपूर्ण छ । उनका अनुसार प्रचण्डको यस्तो अभिव्यक्तिले मन्त्रीमण्डल पुनर्गठनबारे प्रधानमन्त्री र उनको सहमति जुटेको छैन भन्ने सन्देश दिन्छ । ती नेताका अनुसार प्रचण्ड मन्त्रीमण्डल पुनर्गठनको विषयमा उठ्ने प्रश्नबाट जोगिन नै सचेतरुपमा प्रचण्डले ‘यो काम प्रधानमन्त्रीको अधिकार’ भएको बताएका हुन् ।

‘प्रचण्डले यस्तो किन भनेका होलान त ?’ भन्ने प्रश्नमा ती नेता भन्छन्, ‘मन्त्रीमण्डल पुनर्गठन गर्ने भए प्रधानमन्त्रीको चाहनामा मात्रै नभएर पार्टीभित्र सहमति गराएर होस् भन्ने प्रचण्डको चासो देखिन्छ ।’

बुधबारमात्रै एक टेलिभिजनमा दिएको अन्र्तवार्तामा प्रधामन्त्री ओलीले पनि मन्त्रीमण्डल पुर्नगठनबारे मुख खोलेका छन् । उनले भनेका छन्, ‘मन्त्रीमण्डल पुर्नगठन जहिले पनि हुन सक्ने कुरा हो । तर अहिले सोचिएको छैन ।’

प्रधानमन्त्रीको यो भनाईमा पनि उनी र प्रचण्डबीच सहमति बनिसकेको छैन भन्ने स्पष्ट सन्देश छ । तर, जुनसुकै बेला आकस्मिक निर्णय लिन सक्ने प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठनमा पनि त्यस्तै निर्णय लिन सक्ने आँकलन पनि गरिएको छ ।

प्रधानमन्त्री ओली र प्रचण्डको पछिल्ला भेटमा मन्त्रीमण्डल पुर्नगठन गर्नेबारे धेरै पटक छलफल भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली पनि मन्त्रीमण्डल पुनर्गठन गर्ने सोचमानै छन् । त्यहि अनुरुप उनले प्रचण्डसँग सहमति मागेका हुन् ।

प्रचण्डसँगको पछिल्लो भेटमा प्रधानमन्त्रीले ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर र केहीलाई हटाएर नयाँ ल्याउने प्रस्ताव राखेका थिए ।

तर, प्रधानमन्त्री ओलीले कामभन्दा अनुहार हेरेर मन्त्रीमण्डल पुनर्गठनको प्रस्ताव अगाडि सारपछि अध्यक्ष प्रचण्डले यो प्रधानमन्त्रीको अधिकार भन्दै पन्छिन खोजेको स्रोतको भनाई छ । यता, अध्यक्ष प्रचण्डले सबैमन्त्री फेरबदल गर्न सकिने वैकल्पिक प्रस्ताव पनि अगाडि सारेको स्रोत बताउँछ ।

सम्भव छ तत्काल मन्त्रिपरिषद् पुनर्गठन ?
नेकपाका सचिवालयका एक सदस्यका अनुसार नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको बेला तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न असम्भव रहेको बताए ।

ति नेताका अनुसार पार्टीको आन्तरिक राजनीतिदेखि सरकारले चैतमा आयोजना गरेको लगानी सम्मेलन, नयाँ बजेटको तयारी लगायतले तत्काल मन्त्रिपरिषद् पुनर्गठन असम्भव भएको बताउँछन् ।
मन्त्रिमण्डल पुनर्गठनमा सबैभन्दा ठूलो चुनौती सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद हो । विवादका कारण नेकपाको एकता प्रक्रिया टुङ्गिन सकेको छैन ।

यहीबेला मन्त्रिमण्डल पुनर्गठन गर्दा थप विवाद हुने निश्चित छ । सीके राउतसमूहसँगको ११ बुँदे र विप्लव नेकपामाथि प्रतिबन्ध गर्ने सरकारको निर्णयले प्रधानमन्त्रीको आलोचना पनि बढेको छ ।

एकतासम्बन्धि प्रस्ताव बनाउन गठित कार्यदलसमेत भङ्ग भएको छ । कार्यदल भङ्गका विषयमा पार्टीभित्र ठूलै विवाद छ । कार्यदलका सदस्यहरु नै विभाजित भएर छुट्टाछुट्टै प्रतिवेदन बुझाएका छन् ।

तर, असम्भव पनि होइन
अरू जतिसुकै फ्याक्टर देखिए पनि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच सहमति भयो भने मन्त्रिमण्डल पुनर्गठन असम्भव पनि छैन । अन्य शीर्ष नेता माधव नेपालदेखि झलनाथ खनालसम्म, बामदेव गौतमदेखि नारायणकाजी श्रेष्ठसम्मका नेतासँग संवाद र उनीहरुको विश्वासमा मन्त्रिमण्डल पुनर्गठन सहज हुन सक्छ । तर, पार्टीको आन्तरिक विवाद टुङ्याउनसमेत नसकेका शीर्ष नेताले तत्कालै मन्त्रीमण्डल हेरफेरमा नाटकीय सहमति गर्छन् भन्ने अवस्था चाहिँ कम छ ।

त्योसँगै पार्टीभित्र विरोध हुँदाहुँदै पनि आफूलाई लागेको कदम चाल्न पछाडि नपर्ने प्रधानमन्त्रीको कार्यशैलीले अचानक मन्त्रिपरिषद् पुनर्गठन भयो भने पनि त्यो अनौठो हुने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप