बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतद्वारा २०० नेपाली विद्यार्थीहरुलाई स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान

बुधबार, २९ फागुन २०७५, १९ : ०९
बुधबार, २९ फागुन २०७५

काठमाडौं– भारतीय राजदूतावासले नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा स्नातक तहको अध्ययनलाई अघि बढाउन २०० जेहेन्दार नेपाली विद्यार्थीहरुलाई शैक्षिक सत्र २०१८–२०१९ का लागि स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको छ ।

यस वर्ष नेपालका ५० जिल्लाको विद्याथीहरुले एमबीबीएस, बिडीएस, बिई, बिएससी, बिबिए, बिकमलगायत ३६ वटा स्नातक कोर्षका लागि छात्रवृत्ति पाउनेछन् । यी विद्यार्थीहरु मध्ये ४५ प्रतिशत छात्रा र ८ प्रतिशत अपाङ्ग रहेका छन् ।

होटेल हायात रिजेन्सीमा आयोजित स्वर्ण जयन्ति छात्रवृत्ति समारोहमा शिक्षा सचिव खगराज बरालले २०० विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि योग्यताको प्रमाणपत्र प्रदान गरेका थिए । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई दिँदै उनीहरुलाई व्यक्तिगत तथा व्यवसायिक सफलता हासिल गर्न सल्लाह दिए ।

उनीहरुको सफलताले नेपालको सामाजिक आर्थिक विकासमा टेवा पुर्याउनुका साथै भारत–नेपाल सम्बन्धलाई थप मजबुत बनाउनेछ । सन् २००२ मा भारत सरकारले “भारत–नेपाल आर्थिक सहकार्य” को ५० वर्ष पुरा भएको अवसरमा यस प्रतिष्ठित स्वर्ण जयन्ति छात्रवृत्तिको सुरुवात गरेको थियो ।

यस छात्रवृत्ति कार्यक्रमको पहिलो संस्करण अन्तर्गत ५० जेहेन्दार नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सन् २००७ मा सो छात्रवृत्ति संख्या वृद्धि भइ १०० पुगेको थियो । सन्  २०१२ देखि यता छात्रवृत्ति संख्या दुई गुनाले वृद्धि भएर २०० भएको छ ।

यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत एमबीबीएस र बिडीएसको विद्यार्थीले पाँच वर्ष सम्म प्रति महिना ४००० बिईको विद्यार्थीले चार वर्षसम्म प्रति महिना ४००० र अन्य स्नातक कोर्ष अध्ययन गर्ने विद्यार्थीले तीन वर्ष सम्म प्रति महिना ३००० प्राप्त गर्नेछन् । भारतले हाल सम्म नेपालका ७७ जिल्लाका २,३५० भन्दा बढी नेपाली विद्यार्थीलाई स्वर्ण जयन्ति छात्रवृत्ति प्रदान गरिसकेको छ । 

नेपाल तथा भारतका विश्वविद्यालय तथा कलेजमा चिकित्सा, विज्ञान, पशु विज्ञान, औषधि विज्ञान, दन्त विज्ञान, कृषि, इन्जिनियरिङ, कला, कमर्स, विज्ञान, कम्पुटर विज्ञान, नर्सिङ तथा अन्य विभिन्न विषयका अध्ययनका लागि भारत सरकारले कूल ३००० छात्रवृत्ति प्रदान गर्दछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप