बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको सुखद सुरुवात : भुटान ३–० गोलले पराजित

मङ्गलबार, २८ फागुन २०७५, २० : ४५
मङ्गलबार, २८ फागुन २०७५

काठमाडौं । नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलमा सुखद सुरुवात गरेको छ । विराटनगरको सहिद रंगशालामा मंगलबारदेखि सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोलले हरायो । 

भुटानविरुद्ध आक्रामक खेल खेलेको नेपालले १३ औं मिनेटमा अग्रता लिएको थियो । नेपालका लागि मन्जली कुमारी योञ्जनले पहिलो गोल गरिन् । दोस्रो गोल १६औं मिनेटमा सावित्रा भण्डारीले गरिन् । 

भण्डारीको यो अन्तर्राष्ट्रिय २३औं गोल हो । भण्डारीले भुटानको कमजोर रक्षापंक्तिको फाइदा उठाएकी थिईन् । तेस्रो गोल ५४ औं मिनेटमा कप्तान निरु थापाले गरिन् । जितसँगै समूह ‘ए’ मा रहेको नेपालले तीन अंक बनाएको छ । भुटानविरुद्वको जितसँगै नेपाल सेमिफाईनलको नजिक पुगेको छ । 

समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । खेलपछि नेपालका प्रशिक्षक हरि खड्काले खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताए । ‘हामीले कम्तीमा ६ गोल गर्नुपथ्र्यो । नतिजाले भने खुश दिलाएको छ,’ ४४औं जन्मदिन परेका खड्काले भने । उनले आगामी खेलमा सुधार गर्ने पनि बताए । 

भुटानका प्रशिक्षक सङ जाइ लिले मैदान नयाँ र गर्मीका कारण खेलाडीले खेल्न नसकेको बताए । ‘नेपाल धेरै बलियो छ । प्रयाप्त तयारी नभएकोले हामीले हार खायौं,’ सङले भने । 

बुधबार समूह ‘बी’ को भारत र मालदिभ्सबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप