शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारसँगको सहमतिपछि यस्तो छ सिके राउत समूहको जवाफ

मङ्गलबार, २८ फागुन २०७५, १८ : २२
मङ्गलबार, २८ फागुन २०७५

बुटवल । सरकार र सिके राउत समूहबीच ११ बुँदे सम्झौता भएपछि आ–आफनै  तरिकाले विभिन्न टिकाटिप्पणी आइरहेको छ । यो हप्ता देशको राजनीति सरकार र सिकेबचि भएको सम्झौताले तातिरहेको छ । 

सहमतिका केही बुँदाहरु अस्पष्ट भएको भन्दै सत्ता पक्षसँगै प्रतिपक्षका केही नेताहरुले सच्चाउन माग गरेका छन् भने केहीले स्वागतयोग्ग भएको बताएका छन् ।

गत फागुन २४ गते स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच भएको ११ बुँदे सहमति स्वागतयोग्य भएको स्वतन्त्र मधेश गठबन्धन रुपन्देहीले जनाएको छ । ११ सुत्रीय सम्झौताले मधेश र समग्र देशको हितमा रहेको गठबन्धनको दावी छ ।

स्वतन्त्र मधेश गठबन्धन रुपन्देहीले मंगलबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी जनताको चाहना अनुरुप जनअभिमतबाट लोकतान्त्रिक विधि अनुरुप समाधान गर्न पाउने सहमति स्वागतयोग्य भएको जनाएको छ । 

गठबन्धनका रुपन्देही संयोजक भोपेन्द्र यादवले सामाजिक एकता कायम गरी मधेशको पूर्ण अधिकारको लागि शान्तिपूर्ण अवतरण हुने वातावरण सिर्जना भएकोले त्यसलाई स्वतन्त्र मधेश गठबन्धन रुपन्देहीले स्वीकारेको जानकारी गराए । आफूहरुले संसदीय प्रणालीमार्फत मधेसका अधिकार र मुद्दालाई स्थापित गर्ने यादवले पत्रकार सम्मेलनमा बताए ।

‘हामी सांसद, मन्त्री बन्नलाई होइन, बरु मधेशको अधिकार स्थापित गर्न सरकारसँग सम्झौता गरेका हौं,’ उनले भने, ‘हामीले उठाएको मुद्दालाई ‘सेफ ल्याण्डिङ’मा लगेका छौं ।’

स्वतन्त्र मधेश गठबन्धनका नेता÷कार्यकर्ताहरुमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता हुने र गिरफ्तार भएकाहरु निशर्त रिहा गरिने कदम पनि सराहनीय रहेको उनले बताए । 

‘२०७३ सालमा रुपन्देहीको मर्चवार घटनामा ५० जना बढी नागरिकमाथि मुद्दा चल्यो । अब केही दिनमै मुद्दा फिर्ता हुँदैछ । यो सहमतिबाट मर्चवारवासीमा जोस, जाँगर र उमंग आएको छ,’ यादवले भने ।

सहमतिअनुसार सरकार र गठबन्धन दुवै अगाडी बढे मधेस र देश दुबै समृद्ध हुने उनले बताए । अब कैलालीको टिकापुर घटनामा जेलजीवन बिताइरहेका रेशम चौधरीलगायतलाई शान्तिपूर्ण मार्गबाट न्याय दिलाउन पहल गरिने स्वतन्त्र मधेश गठबन्धन रुपन्देहीका सह–संयोजक दिलिप यादवले बताए ।

‘स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा. सिके राउतद्वारा हस्तक्षरित सम्झौताले स्वतन्त्र मधेश गठबन्धन रुपन्देही स्वागत गर्दछ’ उनले भने । उनले संसदीय प्रणालीबाट मधेशको समस्याको समाधान खोजिने पनि बताए । 

पाँच नम्बर प्रदेशका अन्य जिल्ला भन्दा रुपन्देही  सिके राउत समूहको पडक क्षेत्र मानिन्छ ।  केही समयअघि राउत यहाँ आएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप