शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री कप अन्तरप्रदेश प्रतियोगिताको संघारमा विरोध

मङ्गलबार, २८ फागुन २०७५, १७ : ३९
मङ्गलबार, २८ फागुन २०७५

-टंक कुवँर

धनगढी । सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता पूर्व तयारीबिना हुन थालेको भन्दै बिरोध भएको छ । 

कैलालीको धनगढीमा फागुन २९ देखि चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सुरु हुनुपहिले  विरोध हुन थालेको हो । प्रचार–प्रसार समिति गठन गर्दा पनि सत्तापक्ष र आफू निकटका पत्रकारहरुलाई मात्रै राखेको भन्दै प्रेस युनियन र खेलकुद पत्रकार मञ्चले असन्तुष्टि जनाएका छन् ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा हुने उक्त प्रतियोगितामा गठन गरिएका समिति तथा उपसमिति छनौटमा पनि मन्त्रीका छोरादेखि आफू निकटका कार्यकर्ता मात्रै राखिएको भन्दै प्रमुख प्रतिपक्षी दल प्रदेशसभा सदस्य टेकबहादुर रैकाले आपत्ति जनाए । 

उनले खेलकुदका प्रतियोगिताका लागि लोगो निर्माणमा मात्रै आफूहरुलाई आमन्त्रण गरिएको र अन्य बिषयमा कुनै जानकारी नगराई एकलौटी निर्णयहरु गरिएको आरोप लगाए । समितिमा रहेका संयोजक, उपसंयोजक र सदस्यहरुलाई दैनिक भत्ताको समेत व्यवस्था गरिएकाले कार्यकर्ता पोस्ने योजना भएको आरोप लागेको छ । 

५ दिन प्रतियोगिता अवधीभर र त्यस अगाडी तयारी भईरहेका दिनको समेत जोडेर दैनिक १४ सय भत्ता समितिका पदाधिकारीलाई दिने व्यवस्था रहेको सामाजिक विकास मन्त्रालयले  स्वीकार गरेको छ । स्पष्ट मापदण्ड तयार नगरी हतारमा प्रतियोगिता सञ्चालन गर्दा प्रतियोगिताले दिने सन्देश नै गलत हुनसक्ने उनीहरुको भनाइृ छ । 

कैलाली जिल्ला फुटवल संघका उपाध्यक्ष अनिल मल्लले प्रतियोगिताका लागि छुट्टै खेलाडी छनौट हुनुपर्ने भएपनि त्यसो नहुँदा खेलाडीमा निराशा बढेको बताए ।  ‘एउटा समितिको उपसंयोजकमा मन्त्रीका छोरा भिष्मराज सुवेदीलाई राखिएको छ । स्पष्ट मापदण्ड र कार्यविधि तयार नगरी हतारमा प्रतियोगिता सञ्चालन गर्दा खेलाडी छनोटका क्रममा विवाद आउनसक्छ’ जिल्ला खेलकुद समिति कैलालीका अध्यक्ष दिपकबहादुर सिंहले बताए । 

आर्थिक पारदर्शितामा समेत विवाद आउन सक्ने भएकाले स्पष्ट मापदण्ड बनाएर प्रतियोगिता आयोजना गर्नुपर्ने अध्यक्ष सिंहको भनाई छ । पाँच दिनमा २ करोड रुपैयाँ सिध्याउने गरी आयोजना गरिन लागेको प्रतियोगिता कार्यकर्ता खुसी पार्ने खेल मात्रै भएको प्रदेशवासीको भनाई छ । 

प्रतियोगितामा पुरुष फुटबल, पुरुष भलिबल, महिला भलिबल, पुरुष क्रिकेट, महिला क्रिकेट र व्याडमिन्टन पुरुष र  महिला गरी चार खेलहरु खेलाइने छ ।  

खेलका लागी १ करोड ५० लाख यसअघि नै विनियोजन भइसकेको छ भने रू. ५० लाख बजेट निकासाको तयारी भइरहेको मन्त्रालयका सचिव गोगनबहादुर हमालले जानकारी दिए । फूटबल र क्रिकेटका खेलहरु लिगकम नकआउट प्रणालीबाट सञ्चालन गरिने मन्त्रालयको भनाई छ । हरेक प्रदेशबाट ९२ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कुल ६४४ जना सहभागी हुने र त्यसका लागि मन्त्रालयले आवश्यक व्यवस्था मिलाएको सचिव हमालले बताए । सर्वाधिक स्वर्ण पदकका साथ प्रथम हुने प्रदेशलाई १५ लाख, द्वितिय प्रदेशलाई ८ लाख तथा तृतीय हुने प्रदेशलाई ५ लाख रुपैयाँ नगद पुरुस्कार प्रदान गरिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप