बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

हेल्थ टिप्स : नियमित योग गर्नुका फाइदा

शनिबार, २५ फागुन २०७५, १२ : ५७
शनिबार, २५ फागुन २०७५

व्यस्त जीवनशैली, अस्वस्थकर खाना र व्यायाम नहुँदा दैनिक अनेकन रोगका बिरामीको संख्या बढ्दो छ । दैनिक ३० मिनेटमात्रै योग गर्ने हो भने जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सकिने विभिन्न अध्ययन अनुसन्धानले औंल्याइसकेको छ । आज आयूर्वेदक चिकित्सक डाक्टर छितिज बराकोटीले योग किन गर्ने र यसले हाम्रो स्वास्थ्यमा कस्तो फाइदा पु-याउँछ ? भन्नेबारे जानकारी गराएका छन् ।

योगको परिभाषा 
योग नेपालको परम्परागत व्यायाम विधि हो । योगले धेरै कुरामा फाइदा गर्छ । योग स्वास्थ्यको लागि फाइदाजनक हुँदा विश्वभर यो विधि अपनाउन थालिएको छ । 

योगले मानसिक ,शारीरिक र नर्सर्ने खालको विभिन्न रोग नलाग्न र लागेको व्यक्तिहरुलाई पनि धेरै फाइदा पु-याउँछ । योग यस्तो महाज्ञान हो जसले धेरै रोगलाई नियन्त्रण गर्न सक्छ । चेतनाको स्तर बढाउनको लागि, शरीरलाई स्वास्थ राख्नका लागि र शरीरको विकार हटाउनको पनि योग सहयोगसिद्ध हुन्छ । 

 योग किन गर्ने ?
आधुनिकताको नाममा विभिन्न किसिमको शारीरिक अभ्यासहरु गर्न छाडिसकेको अवस्था छ । जसले गर्दा मानसिक समस्या धेरै भएको देखिन्छ । त्यस्तो अवस्थामा योगले सहयोगी बन्न सक्छ । योगले शरीरको अङ्ग–प्रत्यङ्गलाई संचालनमा सहयोग गर्छ ।

शरीरको हार्डजोर्नी, नसा, ढाडसम्बन्धी रोग भएकालाई पनि योगले फाइदा पु-याउँछ । 

जो अल्छी मानेर बसिरहेका हुन्छन्, त्यस्ता व्यक्तिलाई मानसिक समस्या भने भइरहन्छ । यस्तो अवस्थामा योग गर्ने हो भने सकारात्मक बनाउने काम गर्छ । योगले मान्छेलाई मनोवल बढाउने र उत्साह जगाउने काम गर्छ । 

त्यसैले सबै उमेर समूह, सबै क्षेत्र र सबै वर्गका व्यक्तिले योग गर्न जरुरी रहेको छ । योगमा अन्तरमुखी र बाह्यमुखी अभ्यासहरु हुन्छन् । अन्तरमुखी योग भनेको भित्रभित्रै आफूलाई कस्तो खुशी पार्ने भन्ने तरिकाले गरिन्छ । भौतिक साधनले मात्रै मान्छे खुशी हुँदैन, जसलाई अन्तर मुखी अभ्यासले खुशी पार्न सकिन्छ ।

 मनलाई खुशी र मानसिक समस्या हटाउनको लागि योगको ठूलो भूमिका हुन्छ । तनावको कारण पनि शरीरमा रोग लाग्छ । तनाव भयो भने त्यसले अल्सर हुन सक्छ । अल्सरपछि क्यान्सर पनि हुन सक्छ । यस्तै मधुमेह, ब्लड प्रेसर, हृदयघात हुने समस्या पनि हुन सक्छ । 

दैनिक ३० मिनेट समय दिनुस् 
योग सबै व्यक्तिले गर्न आवश्यक छ । योगको लागि दिनमा ३० देखि ४५ मिनेट सम्म समय खर्च गर्दा राम्रो हुन्छ । नियमित योगले खानपान र निन्द्रा राम्रो हुन्छ । हार्डजोर्नीहरु बलियो हुन थाल्छन् । योग गर्दा १० मिनेट फिजिकल, १० मिनेट श्वास—प्रश्वास र १० मिनेट मनलाई आनन्द बनाउने ध्यान गर्न सकिन्छ । मिलाएर योग गर्न सकियो भने स्वास्थ्यको लागि राम्रो हुन्छ । 

कुन समयमा योग गर्दा राम्रो हुन्छ ?
योग खालीपेटमा गर्दा राम्रो मानिन्छ । यो भनेको बिहानको समय हो । कतिपय खाना पछि गर्ने आसनहरु पनि छन् । श्वासप्रश्वास सम्बन्धी प्राणायम बिहानको समयमा गर्दा राम्रो हुन्छ । योग बिहानको समयमा गर्दा दिनभरीको लागि राम्रो हुन्छ र आनन्द पनि हुँन्छ । बिहान गर्ने विभिन्न योगहरु पनि छन् । बेलुका ध्यान गर्दा राम्रो हुन्छ । आसन, प्राणायम र केही योगक्रियाहरु बिहान गर्दा राम्रो हुन्छ । 
योग गर्ने समय नभएको खण्डमा भने खाना खाएको ३ घण्टा पछि र खाना खानु भन्दा १५ देखि २० मिनेट पहिला गर्दा फाइदाजनक हुन्छ ।

योग नेपालीहरुको परम्परा जस्तै हो । पहिला योगलाई प्राथमिकता दिइएको थियो । बीचमा बेवास्ता गरियो तर अहिले अन्य राष्ट्रले पनि योगलाई महत्वका साथ हेर्न थालेपछि नेपालमा पनि योगलाई प्राथमिकता दिन थालिएको छ । 

योग कस्ता व्यक्तिले गर्ने ?
योग सबै उमेरका व्यक्तिले गर्न सकिन्छ । बालबालिकाको हकमा भने ३ देखि ४ वर्षको उमेरबाट नै योग सुरु गराउन सकिन्छ । योगले बालबालिकाको बौद्धिक क्षमता वृद्धि गर्नसहयोग गर्छ । यस्तै वृद्धवृद्धाले पनि गर्न जरुरी हुन्छ । रोगले सिकिस्त भएको मान्छेले पनि योग गर्न जरुरी छ ।

गर्भवती महिलाले पनि योग गर्नुपर्छ । गर्भवती महिलालाई स्ट्रेस हुन्छ । विभिन्न किसिमका लक्षणहरु गर्भावस्थामा देखिन्छन् । त्यो बेलामा मनलाई शान्त पार्ने खालको प्रणायम, ध्यानहरु गर्न सकिन्छ भने पेटमा बल नपर्ने खालको हात खुट्टा चलाउने, लामो —लामो श्वास फेर्ने खालको शरीरिक अभ्यास गर्न सकिन्छ ।

योगले शरीरमा पुर्याउँने फाइदाहरु   
—  शरीरका रक्तसंचार प्रणालीलाई व्यवस्थित गर्छ ।

— मुटु र रगतका नलीलाई सफा गर्ने काम गर्छ । 

—पाचन क्षमता बढाउँछ । 

— शरीरमा धेरै क्यालोरी छ भने योग गर्दा घट्छ । 

—शरीरको जोर्नीहरुलाई खुकुलो बनाउँछ । जसले गर्दा शरीरमा यूरिकेसिड, बाथजस्ता रोगहरुलाई नियन्त्रण गर्छ । समग्रमा भन्नु पर्दा रोग नलाग्नको लागि योगले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । शरीरलाई स्वास्थ राख्न र आयू लम्ब्याउने काम योगले गर्छ । 

— मस्तिष्कलाई सफा बनाउँने काम गर्छ । मन स्वास्थ भएको खण्डमा हरेक कुराहरु सकारात्मक रुपमा अगाडि बढ्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप