शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अलपत्र विकास, वेपत्ता ठेकेदार, निरिह सरकार !

शनिबार, २५ फागुन २०७५, १० : ५३
शनिबार, २५ फागुन २०७५

गुल्मी– विकासे कामको उद्घाटन र शिल्यानास गर्ने तर त्यसपछि भने वेवास्ता गर्ने प्रवृत्ति नेपाली समाजको विकासको बाधक बनेको छ । जसले गर्दा थालिएका विकासका काम अलपत्र मात्रै छैनन् काम गर्ने जिम्मेवारी कसको हो भन्नेमा समेत अलमल देखिएको थालेको छ । त्यसको धेरै उदाहरण गुल्मी जिल्लालाई लिन सकिन्छ । 
उदाहरण १ – 
पाल्पा, स्याङ्गजा र गुल्मीको संगमस्थल रिडीमा तीनमुखे पुल निर्माण सुरु गरेको ५ वर्ष हुन थाल्यो ।  २०७१ मंसिर १५ गते पुलको शिलान्यास गर्दा तत्कालीन सभासद चन्द्र भण्डारीले तीन वर्षभित्र सम्पन्न गर्ने उद्घोष गरेका थिए । तर, ५ वर्ष पुग्न लाग्दा पनि ५ प्रतिशत काम समेत हुन सकेको छैन ।

सम्झौताअनुसार २०७४ साल असार ९ गते पुल निर्माण गर्नुपर्ने थियो ।  कुल ९ करोड ८८ लाख २६ हजार ३ सय ३२ रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न गर्ने जिम्मा लिएको थियो नयाँबाटो –रुबिना—मना जेबी निर्माण कम्पनीले ।
डिजाईन स्टमेट नहुँदै शिलान्यास गरिएको पुलको त्यसका लागि आफुलाई दुई बर्ष लागेको र  २०७६  साल भित्रै  उक्त पुल सक्ने निर्माण कम्पनीका प्रमुख महेन्द्र अधिकारीले बताए । 

उदाहरण २– 
१० वर्षअघि गुल्मीकै धुर्कोटको वस्तु शव स्टेशन निर्माणको काम सुरु भयो । शव स्टेशनको आवास गृह निर्माण सम्पन्न भई बुझाउँनै लाग्दा तेश्रो तलामा गरिएको ढलान बगरको बालुवा झै मानिसको  मुठीले उठाउन सकिन भयो ।  अन्तिम तलाको ढलान बगरजस्तो बनेपछि पानी चुहेर कोठामा बस्न नमिल्ने र झ्याल ढोका समेत कुहिने र चर्किएका छन् ।

 स्थानीयले आवाज उठाएपछि केहि दिनअघि देखि त्यही चर्के र भत्केको पर्खाल र र ढलानलाई टालटुल र रंङ्गरोगन गरेर बुझाउने तयारी गरियो । त्यहीँ शव स्टेशनको अर्को भवन पिलर उठाएर एक तला ढलान गरि छाडेर हिँडेका ठेकेदार कहाँ छन् भन्ने स्थानीय उपभोक्ता समितिलाई समेत थाहा छैन । 

अहिलेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टको निर्वाचन क्षेत्र समेत भएकाले उनले ठेकेदारलाई कारवाही हुनुपर्ने बताउँदै आएका थिए । तर पछिल्लो समय विष्ट पनि मौन छन् । जसले शव स्टेशनको कुरा हराएको छ । 
उदाहरण ३ –
इस्मा गाउँपालिकामै निर्माण सुरु भएको अर्को एक सरकारी भवन पनि ५ वर्षदेखि अलपत्र छ । ईस्मा गाउँपालिका  वडानम्वर ४ मा तत्कालीन दोहदी गाविसले आर्थिक बर्ष २०६९÷०६० सालमा ४० लाख लागतमा गाविस कार्यालयले भवन निर्माण सुरु गरेको थियो ।

 उपयुक्त स्थान साविक गाविस कार्यालय सोरोफोरमा हुँदाहुँदै पनि सिमिति व्यक्तिहरुको स्वार्थमा भवन निर्माण सुरु गरेकाले भवन निर्माण अलपत्र त छदैछ । सम्पन्न भएपनि उक्त भवन प्रयोग विहिन हुने पक्का जस्तै भएको ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्ट नै बताउँछन् ।

‘काम अधुरै छाडेर ठेकेदार बेपत्ता छन्’ उनले भने, ‘ खोई  के टण्डन भन्थे नाम समेत मलाई त थाह छैन ।’ जिल्लाका केही विद्यालयका भवन निर्माण पनि अलपत्र पारेर ठेकेदारहरु वेपत्ता भएपनि कसैले खोजतलास गरेको छैन । ‘पुल शिलान्यासमा भ्यानभ्याई तर काम गराउने कसैलाई चासो छैन यो लज्जास्पद छ’ धेरै स्थानीयको भनाई छ ।  गुल्मीमा २०६९ सालदेखि २०७३ सालसम्म हतारहतार शिलान्यास गरिएका पक्की पुलहरु अधिंकाश  अलपत्र छन् । २०७४ यता सम्झौता भएका केही पुल भने कार्यन्यवनका चरणमा छन् । २०६९ सालदेखि २०७५ सालसम्म १६ वटा पक्की पुल शिलान्यास भएकोमा जम्मा ३ वटा बाहेक १३ वटा पुलको काम बाँकी रहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका प्रमुख राकेश महार्जन बताउँछन् ।
 

यी हुन् अलपत्र पुल
गुल्मीको रिडी र पारी स्याङ्गजाको चण्डीभञ्ज्याङ्ग जोड्ने पक्की पुल शिलान्यासको ६ बर्ष यता अलपत्र छ । २०६९ साल असार २५ गते सम्झौता भई काम सुरु भएको उक्त पुल सम्पन्न गर्ने सम्झौता २०७२ असार २४ गते थियो । २ करोड २ लाख ९२  हजार ६७ रुपैयाँ ठेक्का रकम रहेको उक्त पुल वारीपारी सामन्य जग निर्माण र एक साईडमा सामान्य पिलर उठाएपछि हिँडेका ठेकेदार पक्ष पुन फर्केर आएको छैन । रुरु वडा नम्वर १ का वडाध्यक्ष रामलाल बिक उक्त पुल चुनावताका कुनै नेतालाई भोट माग्ने माध्यम मात्रै बनाईएको र उपभोक्तालाई आकाशको फल आँखा तरी मर जस्तै बनाएको बताउँछन । उक्त पुल निर्माणको

जिम्मा स्वच्छनन्द निर्माण सेवा कम्पनी काठमाडौले लिएको आयोजना कार्यालयले जनाएको छ ।
उनका अनुसार सबैभन्दा अलपत्र उल्लीखोलास्थित बडिगाड खोलाको पुल छ । २०७० साल असार २६ गते सम्झौता भई काम सुरु भएको उक्त पुल २०७३ साल असार ३ गते सम्पन्न हुनु पर्ने सम्झौता थियो  । त्यति बेलासम्म पुल ढलान एक तिहाई मात्र गरियो । त्यस पछि २०७३ पुस २६ गते म्याद थप गरियो ।  त्यसयता अधुरो एक तिहाई पुल ढलान पुल अलपत्र छ भने ठेकेदार पनि बेपत्ता छन् । मदन भण्डारी राजमार्ग योजना कार्यालय प्रमुख महार्जन भन्छन्–‘ पुस महिनादेखि मैले जिम्मेवारी सम्हाल्न आएपछि त्यस पुलको फाईल पल्टाएर हेरें, विभागमा पुगेर दुई पटकसम्म निर्माण ब्यवसायीलाई सम्पर्कमा ल्याएर बैठक बसालें ।  
 पुल निर्माणको जिम्मा पाएको लुम्विनी शान्ति जेभि काठमाडौका प्रतिनिधि विनोद महार्जनलाई राखेर स्थानीय जनप्रतिनिधिले बैठकसमेत राखे । बैठकमा पिलर गाड्ने क्रममा समस्या आएको महर्जनले जानकारी गराए ।  मदन भण्डारी राजमार्ग योजना कार्यालयका अनुसार उक्त पुलको ठेक्का रकम ८ करोड ७६ हजार छ ।

बडिगाड खोलाकै हुँगा –सिस्ने जोड्ने पुल पनि शिलान्यासपछि थोरै काम गरेर छाडियो । एसबिएन निर्माण सेवा कम्पनी काठमाडौले २०७१ साल असार ३१ गते २०७३ साल माघ ३० गते सम्पन्न गर्ने सम्झौता गरेको थियो । समयमा उसले काम नगरेपछि २०७४ साउन ३१ गते म्याद थप गरियो । तर कामको गति उस्तै छ । उक्त पुलको ठेक्का रकम ६ करोड १० लाख ६६ हजार ३ सय ३८ रहेको छ । काम पनि धिमा गतिमा अगाडी बढेपनि फाउन्डेशन खडा गर्ने काम भईरहेको सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले बताए ।

‘सिस्ने र  खैरेनीको पुल निर्माणमा ढिला भएपनि कार्यन्वयनकै चरणमा छ’ गाउँपालिका  प्रमुख ढकालले भने, ‘ खैरेनीको अरुङ्गानदेखि बम्घा बगाउने  जोड्ने पक्की पुल र साहघाटको अर्को पक्की पुल अलपत्र परेका छन । दुई बर्ष अघि  संघीय सरकारले १८÷ १८  लाख विनियोजन गरेर टेण्डर समेत अत्तोपत्तो छैन ।’ 

लिम्घा र साहघाट जोड्ने बडिगाड खोलाको पुल २०७४ असोज ८ गते २०७६ साल असोज ९ गते सम्पन्न गर्ने सम्झौता भयो । एमएस अलाईट कन्ट्रक्सन कम्पनीले निर्माणको जिम्मा लिएको उक्त पुल पनि समयभित्रै सम्पन्न हुनेमा स्थानीयबासीको आशंका छ । उक्त पुलको लागत १२ करोड ५ लाख ८१ हजार ३ सय २५ रुपैयाँ रहेको जनाइएको छ । २०७४ साल असोज २६ गते तम्घास खाम्सेपानी नयाँगाउँ  सडक खण्डको मलागिरी जोड्ने पुल एमएस पन्थ बाँसुरी सुनिल समिर जेभीले निर्माणको जिम्मा लिएको थियो । ४ करोड ३० लाख ७६ हजार ८ सय ४८ रुपैयाँ ठेक्का रकम रहेको उक्त पुल यहि २०७५ साल कार्तिक २६ गते सम्पन्न गर्ने सम्झौता भए पनि सो अवधीमा सकिने सम्भावना नरहेको बताईएको छ ।

२०७२ साल असार ३१ गते चोरकाटेको पक्की पुल बनाउन रसुवा अलाईट जेभी कन्ट्रक्सन कम्पनीले २०७४ साल पुस ३१ गते सम्पन्न गर्ने गरि सम्झौता भयो । तर समयमा काम नभएपछि २०७५ साल कार्तिक ३० गते म्याद थपियो । तर काम अझै अलपत्र छ । उक्त पुलको ठेक्का रकम  १ करोड ४० लाख ४८ हजार ६ सय १६ रहेको छ । 

त्यस्तै  पुर्तिघाटदेखि  पर्वत जोड्ने कालिगण्डकी पक्की पुल एमएस अलाईट कन्ट्रक्सन काठमाडौले २०७३ भदौ ३१  गते सम्झौता गर्दै २०७५ फागुन ३० गते सम्पन्न गर्ने सम्झौता भयो । १ करोड ४६ लाख ७७ हजार ६ सय ५० रुपैयाँ ठेक्का रकम रहेको उक्त पुलको सम्पन्न गर्ने मिति नजिकिदै गर्दा  पिलर  मात्रै उठाउने काम भएको स्थानीय बताउँछन् ।  
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप