केन्द्रीय संस्करण

सरलाई तिमी भन्दा कुटाइ खाएर जीवन फेरिएका राई गाउँका एउटा ठिटोको कथाः स्कूल

person explore access_timeफागुन २५, २०७५ chat_bubble_outline1
प्रतीकात्मक तस्बिर । स्रोतः www.aljazeera.com

आज स्कुलनिरको सानो होटलमा एक हुल मान्छेहरु रक्सी खाएर हल्ला गर्दैछन्। त्यो रक्सी पार्टी मोटेले आयोजना गरेको हो, अनि हल्ला गर्नेहरुको हुलमा मोटेलाई पिट्ने हेडसर, उसलाई तिमी भने वापत घुँडा टेकाउने सर लगायतकाहरु छन्।

 “म त भोलिदेखि स्कुल जाने अरे!”

घरमुनिको बाटोको भित्तामा तिस्काउलोले “कुलो बनाई” खेल खेल्दै गर्दा तिखेले भन्यो।

तिखे उर्फ तिर्थलाल बिश्वकर्मा। उसको साथी मोटे उर्फ खिमहाङ्ग राई। खिमहाङ्गले तिर्थलाललाई तिखे भनेर बोलाउँछ। ’ कारण उसको बोली अझैसम्म तोते छ। तिर्थे भन्न नजानेर तिखे भन्छ।

तिर्थेको बाऊहरुलाई  आरनघरे भनेर चिनिन्छ। उनीहरु चार भाइ छन अहिले । तीन पुस्ता अघि अर्थात् आरनघरेहरुको बाजेलाई यो गाउँमा ल्याइएको थियो। वरिपरि पुरै राई बस्ती, अलिकति पर क्षेत्री बस्ती भएकोले कृषिमा निर्भर यो गाउँको मान्छेहरुलाई फलामजन्य नयाँ सामग्रीहरु बनाउन र मर्मत गर्न ज्यादै सकस थियो। त्यसैले गाउँका मझियाले एक दिनको बाटो लेकतिरबाट आरनघरेहरुको बाजेलाई यहाँ लिएर आएका थिए। मझियाले उनलाई गाउँको बीचमा घर बनाईदिए। मनग्ये जग्गा जमिन उपलब्ध गराए। आरनघर नै बनाइदिए अनि गाउँभरिको मान्छेहरुले वर्षेनी अन्नदान गर्नुपर्ने र हरेक चाडपर्वमा कोसेली उपलब्ध गराइदिनुपर्ने नियम बसालिदिएका थिए। आरनघर त्यो गाउँमा बसेपछि खेतिपातीमा निक्कै सहज भएको थियो।

मोटे र उसकी आमा- परिवारमा दुई जना मात्रै हुन्। ऊ पाँच वर्षको हुँदा दुई वर्षअघि मात्रै उसको बाउ बितेका थिए आसामतिरै हुँदा । पहिल्यैदेखि आसाम ओहोरदोहोर गर्ने बाउलाई राम्ररी देख्न नि पाएन उसले, अनुहारसमेत याद छैन, न त बाउसंगको कुनै सम्झना नै। बाउ बितेको दुई महिनापछि मात्रै बल्ल उता गएका परदेशीले घरमा खबर ल्याइपुर्‍याएका थिए।

कृषिमा निर्भर यो गाउँको मान्छेहरुलाई फलामजन्य नयाँ सामग्रीहरु बनाउन र मर्मत गर्न ज्यादै सकस थियो। त्यसैले गाउँका मझियाले एक दिनको बाटो लेकतिरबाट आरनघरेहरुको बाजेलाई यहाँ लिएर आएका थिए।

बाउको काजकिरिया गर्न कोरामा बसेको मोटे धेरै छट्पटाएथ्यो, बाउ बितेकोले होइन, तिर्थेसंग बोल्न र खेल्न नपाएर। राईहरुको मृत्युसंस्कार अनुसार कोरा बसेको मान्छेले आफ्नो जातबाहेकका मान्छेसंग बोल्न र पशुपंछीलाई छुनु हुँदैन भन्ने मान्यता छ। पुरै कपाल खौरिएको उसलाई परालमाथि कालो कम्बल ओच्छ्याएर राखिएको थियो। जिऊ कोक्याउने कम्बलले घोचे पनि धानको भात खान पाउँदा  दंग थियो तर अलिनो खानु परेर हैरान भयो। अरुबेला उसको लागि धानको चामल भात खान कि त दशैँ तिहार जस्ता चाड आउनुपर्थ्यो अथवा टाढाबाट  कोही नजिकका आफन्त घर आएको बेला तिनले भात खान नसकेर उब्रनु पर्थ्यो। मोटेलाई आफ्नो बाउ हुनु र नहुनुको फरक थाहै थिएन।

मोटे र तिर्थे दुई कान्ला फरकका छिमेकी हुन्। बच्चैदेखिका साथी। मोटेलाई नेपाली भाषा बोल्न आउँदैन तर बुझ्छ। तिर्थेलाई बान्तावा भाषा बोल्न आउँदैन तर बुझ्छ। उनिहरु बीचमा यसरी नै दोस्ती चलिरहेको छ। मोटे बान्तावा भाषा बोल्छ, तिर्थे नेपाली भाषा। त्यसो त त्यो गाउँमा बस्ने राई बाहेकका पनि सबैले बान्तावा भाषा राम्रै गरी बुझ्दछन्।

स्कुलमा नयाँ शैक्षिक सत्रसंगै नयाँभर्ना र पठनपाठनको शुरुवात भइसकेको छ। हिजो तिर्थेका बाउ गाउँ डुलेर बेलुकी घर आएपछि सल्लाह भएको थियो, “पर्सि आइतबारदेखि छोरोलाई स्कुल पठाउनुपर्छ।” बाऊको तर्क थियो, “हामीले त नपढे नि जेनतेन जुनि खाइसक्न आँटियो, अबकालाई नि पढाउन सकिएन भने यिनको जुनि कुकुरले झैँ दुख पाएर बित्छ।” बाऊ भात खाइसकेर अगेनामा हात सेकाउँदै थिए, आमा आफूलाई र बुढालाई सुर्ती बेर्दै थिइन् भने तिर्थेको दिदी जुठो थालभाँडा सफा गर्दै तिर्थेलाई कराउँदैथिई, “ऐ, छिटो खाइसक् न है। कत्तिबेर खेलाको त्यो भात! याँ हात ठिराइसको।” आमा बाउको गफ सुनेर स्कुलको कल्पना गरिरहेको तिर्थे भने वाल्ल परेर घरी आमाको घरी बाउको अनुहारमा हेरिरहेथ्यो।

“ओई स्कुल देखेको छस्?” आफ्नो तिस्काउलो हात मै बोकेर आफ्नै भाषामा मोटेले सोध्यो। “अस्तिई नै बाउसंग लेक जाँदा थुप्रा मान्छे थे। बाले यै हो स्कुल भन्थे।” आरनघरेहरुको जग्गा जमिन लेकमा पनि छ अझै। उताको बालिनाली उतैकाले लगाउँछन्। त्यसैले आफ्नो भाग थन्काउन बेलाबेलामा उता गइरहन्छन्।

बेलुकी घरमा मोटेले आमालाई तिर्थेको कुरा सुनायो। उसले पहिलोचोटी सुनेथ्यो “स्कुल”। त्यसैले ऊ पनि जान चाहन्थ्यो। तर आमाले भनिन्, “स्कुल त पढ्न लेख्न जान्ने मान्छे मात्रै जान्छन्। तँ त केही जान्दैनस्। स्कुल नजानु। ठुला ठुला मान्छे हुन्छन्, लेखपढ् गर्न नजान्नेलाई बेस्सरी कुट्छन्। तँलाई नि कुट्छन्। जानू हुँदैन।”

“बेस्सरी कुट्छन्” यो कुराले मोटेलाई डर जगायो र डराइ डराइ आमाको छेउमा घुस्रिएर निदायो। मोटेकी आमा पातमा सुर्ती बेरेको बिँडी लगातार खाइरहन्थिन्।  कामबाट एकछिन थकाइ मार्न बस्दा पनि चकमक, झुलो र दल्छिन् ढुंगो निकालेर आगो पार्थिन् र बिँडी सल्काउँथिन् जो उनको तीनमुखे थैलीमा कहिल्यै छुट्दैनथे। मोटेलाई आमाको शरीरबाट आउने बिँडी र झुलोमिश्रित गन्ध प्यारो लाग्थ्यो। त्यसैले आमाको छेउमा घुस्रिनासाथ ऊ निदाइहाल्थ्यो।

भोलिपल्ट उसकै घरको बाटो आरनघर जेठा र तिर्थे स्कुल हिँडे।”स्कुलमा त बेस्सरी पिट्छन् रे मान्छेले।” मोटेले आफ्नै भाषामा साथिलाई खुसुक्क सम्झायो। ऊ चाहन्थ्यो तिर्थे पनि स्कुल नजाओस् किनकि उसले कुटाई खान नपरोस् भन्ने उसको चाहना थियो। तिर्थे पनि डरायो। ऊ चाहन्थ्यो मोटे पनि स्कुल जाओस्। त्यसैले उसले बाऊलाई “मोटेलाई नि स्कुल लिएर जाने” भन्दै झिँजो लाइरहेथ्यो।

“कान्छ्यामै भाइलाई नि स्कुल पठाउनु। ऐलेका केट्केटी पढेनन् भने त हामीले भन्दा नि धेर दु:ख पाउँछन् हौ।” सिकुवाको डिलमा टुसुक्क बसेर आरनघर जेठाले मोटेकी आमालाई सम्झाए।

“कान्छ्यामै  भाइलाई नि स्कुल पठाउनु। ऐलेका केट्केटी पढेनन् भने त हामीले भन्दा नि धेर दु:ख पाउँछन् हौ।” सिकुवाको डिलमा टुसुक्क बसेर आरनघर जेठाले मोटेकी आमालाई सम्झाए। आरनघरेहरु खाट, खटियामा बस्दैनथे, पिँढीमै पिरा ओच्छ्याएर बस्थे।

“खै जेठा मेरो दु:ख हेरेकै छौ, येल्लाई नि स्कुल पठाएँ भने म के गरिखानु र! कत्तितिर भ्याउनु सक्छु र म? होस् पढ्दैन यो।” मोटेकी आमाले अड्डि लिईन्।

“त्यसो होन कान्छ्यामै, काम त जति गरे नि सकिँदैन। यिनले राम्ररी पढे लेखे भने त्यै अन्सारको काम पाउँछन्। हामीले जस्तो हलो कोदालो चलाउने दु:ख झेल्नपर्दैन। बुढेशकालमा हामीले नि यो भन्दा अलि सन्तोक हेर्न मिल्छ कि भनेर पो त। ई म नि येल्लाई लिएर हिँडेको।” दुई जनाको कुराकानी चल्दै गर्दा तिर्थे र मोटे भने बलेसिमा मट्याङ्राको गुच्चा खेल्न थालिसकेका थिए ।

“खै के गर्नु तौ जेठा हुति छैन आफ्नो, कसरी सक्नु होला त?”

“तँ चिता मनुखे म पुराईदिउँला, भन्छन् रे भग्वानले, कान्छ्यामै जे पर्छ सोई टर्छ। के होला भनेर डराएर बस्नु हुँदैन पो त!” आरनघरे जेठाको ढाडसले मोटेको आमाको मनमा अलिकति आँट पलायो। आधा जिन्दगी बिताउन लागेकी उनको मन पनि सुदुर भविष्यको कल्पनाले अलिकति फुरुङ्ग बनायो।

“लु न त जेठा तिमी नै जाँदैछौ, स्कुल चिनाएर लेईदेउ नै उसो भा!”

“यसो गर्नु कान्छ्यामै, आज म येल्लाई लिएर जान्छु। भाइलाई चैँ आज यसो नुवाइधुवाइ गराउनु अनि भोलि जाउँला। तिमी पनि छोरो पढ्ने स्कुल हेरेर आउनु क्या।”

जेठोको कुरो सही लाग्यो। “म पनि स्कुल जानू?” स्कुलको छानो मात्रै देखेकी मोटेको आमाको मनमा यस्तै कुरा खेल्यो। तर भनिनन्। “हुन्छ, त्यसै गरौँ” को भावमा सल्लाह गरेर तिर्थेको बाऊ छोरा स्कुल हिँडे।

जाने बेलामा आरनघरे जेठाले मोटेलाई सम्झाए, “कान्छा भोलिदेखि तिमी नि स्कुल जाने है! आज नुहाएर सफा भएर राम्रो हुनु। फोहरी भइयो भने पढ्न जानिँदैन।”

“हामिलाई त कुट्छन् अरे त्याँ” मोटेले आफ्नै भाषामा भन्यो।

“कुट्दैनन्। बदमास, फटाहाहरुलाई मात्रै कुट्छन्।” जेठोले सम्झाएर बाऊ छोरा उकालो लागे।

मोटेको बाऊ कहिलेकाँही मात्रै घर आउने आसामतिरै बढी समय बस्ने भएकोले लामो समयसम्म सन्तान भएनन्। “बुहारी बाँझी भई” भन्दै सासू ससुराले लखेट्न खोजे। केही सीप नलागेपछि छुट्टिएर बसिन्।

मोटेकी आमा निक्कै मेहनती र पौरखी हुन् । मोटेको बाउका बा आमा सानैमा बितेका थिए। काका काकीको साथमा हुर्केको ऊ उमेर बढ्दै गएपछि आसाम जाने गाउँलेहरुसंग पछि लागेर घर छोडेथ्यो। निक्कै समयपछि घर फिर्‍यो। बिहे गराउने भए। आरनघरेहरुको बाऊका बिस्टहरु खोलापारी पनि थुप्रै थिए। उनकै चिनजानबाट मोटेकी आमालाई फेला पारे। पौरखी बुहारी, घर गरेर खान्छिन् भन्ने कुरामा ढुक्क गराएर बुहारिको चाँजो मिलाए। त्यतिबेला मोटेकी आमा बाइस पुग्दैथिइन् भने बाऊ पच्चीस कट्दैथिए। मोटेको बाऊ कहिलेकाँही मात्रै घर आउने आसामतिरै बढी समय बस्ने भएकोले लामो समयसम्म सन्तान भएनन्। “बुहारी बाँझी भई” भन्दै सासू ससुराले लखेट्न खोजे। केही सीप नलागेपछि छुट्टिएर बसिन्।

मोटेकी आमा तीस वर्ष पूरा भएपछि भने मोटे जन्मियो। उनको हर्षको सिमा रहेन। तिर्थेको बाऊ पनि आसाम जाँदै आउँदै गर्थे। तर उनी ढुक्कै उतै बस्दैनथे। खेतिपातीको समयमा घर टुप्लुक्कै आइपुग्थे। उनैले मोटेको बाउलाई खबर पुर्‍याउँथे, उताको खबर पनि घर ल्याउँथे। तिर्थेको बाउ र मोटेको बाउ दौँतरी थिए।

दुई वर्ष पहिले उम्कँदो चैतको एउटा साँझ हँस्याङ्फस्याङ् गर्दै बेडिङ्ग बोकेर आरनघरे जेठा आइपुगे। बस्तुभाऊ थन्कोमुन्कोमा थिइन् मोटेकी आमा। मोटे भने आँगनमा आफ्नै शुरमा खेल्दैथियो। जेठोलाई देखेपछि मोटेकी आमा पनि काम छोट्याएर सिकुवामा आइपुगिन्।

 “के कसो छ त जेठा हाम्रो परदेशिको हालखवर?” आइपुग्ने बित्तिकै भटाभट उताको खवर सुनाउने मान्छे चुपचाप बसेको देखेर मोटेकी आमाले सोधिन् ।

“खै कान्छ्यामै, लेखान्तै त्यस्तो होला। कान्छाऊको चोला उठ्यो। हामी संगै थिउँ, जोगाउन सकेनौँ हामीले।” तरक्क आँसु खसाल्दै जेठा बोले।

यता मोटेकी आमाको होस् हवास हरायो। मोटेलाई भने कुनै चिन्ता थिएन। उसलाई बाउ हुनु र नहुनुको कुनै बोध थिएन।

“हैन, के भन्छौ हौ जेठा? के भयो त्यस्तो? कसरी, कैले?” आत्तिएर सोधिन्। हुन त मोटेकी आमालाई पनि आफ्नो जहान हुनु र नहुनुमा त्यत्रो फरक थिएन। तर पनि जहाँ छन्, जस्तो छन् जीवित छन्। घर परिवार सम्झिएका हुन्छन्, आफूलाई माया गर्छन्। एकदिन फर्किएर आउँछन्, साथै हुन पाइन्छ। यस्तै कल्पनामा चित्त बुझाएर बसेकी थिइन्, तर अब त्यो कल्पनाको त्यान्द्रो पनि एकाएक चुँडियो। कहिल्यै फर्केर नआउने बाटोमा गए भन्ने सम्झेर एकछिन भक्कानिइन् उनी। तर बिना पिर खेलिरहेको अबोध छोरालाई हेरिन्, अनि उसकै लागि चित्त बुझाइन्।

आसामको एउटा जंगलमा नेपालीहरुको ठूलो समूह जंगलैभरि छरिएर आरा काट्दैथिए। त्यो बिहान आरनघरे जेठाहरुको टोलीले रुख ढाल्नुपर्ने थियो। त्यो समुहमा मोटेको बाउलगायत अन्य नेपालीहरु समेत थिए। रुखहरु धमाधम ढल्दै थिए। सिकारुहरुको एउटा टोलीले पनि रुख कप्दै थियो। एक्कासी गलत दिशातिर रुख ढल्यो जहाँ मोटेको बाऊ बञ्चरोले रुख कप्दै थियो। सबै जना कराए, उसले पनि सुन्यो र दौडिन खोज्यो तर ऊ त भिरको टुप्पोमा रहेछ, पछाडि फर्केर बाटो हेर्दै गर्दा झ्याम्मै रुख ऊ माथि बजारियो। सबै जना दौडेर पुग्दा ढुकढुकी मात्र बाँकी थियो। उसका आँखा र ओँठ भने केही भन्न खोजे जस्ता देखिन्थे। दुबै आँखाको चेपबाट आँसु बग्दैथियो, मुखबाट रगत निस्कदै थियो। सबै स्तब्ध भए। त्यो ठाउँको सरदार थियो ऊ। नेपालीहरु पनि ऊसंग साथ लागेर हिँड्न पाउँदा सुरक्षित महसुस गर्थे। धेरै वर्षदेखि बसेकोले तथा  भनेको काम समय मै पूरा गरिदिने भएकोले मालिकहरुको विश्वासिलो थियो भने स्थानीय भाषा र भुगोलको राम्रो ज्ञान भएकोले नेपालीहरुको लागि पनि भरोसिलो थियो।

त्यो समुहको कसैलाई पनि घर जाने छुट्टी दिएन मालिकले। बर्खायाम लाग्न लागेकोले ढालिएको रुख चिरिसकेर मात्रै घर जान छुट्टी दिने उर्दि गर्‍यो मालिकले। त्यही काम सकेर फर्किंदा आरनघरे जेठो त्यो चैते साँझमा आइपुगेथे। उनी परदेश ओहोरदोहोर गर्ने, लेकबेँसी हिँडिरहने, सारा गाउँ डुलिरहने भएकोले सबैतिरको खबर जान्दछन, देश दुनियाँ बुझ्छन्, उनले भनेको कुरा सही हुन्छ मोटेकी आमा यस्तै सोँच्थिन्। त्यसैले उनी आरनघरे जेठोलाई भरोसा गर्थिन् । आपतविपत आइपर्दा उनले नि सहयोग गर्थे, उनी भन्थे, “कान्छाउले मलाई धेरै गुण लगा’र गए। मैले फर्काउन पाइनँ। हेर्दाहेर्दै  आँखै अगाडि उनको प्राण गयो। मैले सकेको मद्दत गर्छु कान्छ्यामै, अप्ठ्यारो नमान्नु।”

तिर्थेका बाऊ छोरा स्कुल हिँडे। मोटेकी आमाको मनमा एकतमासको तरंग आइरह्यो। छोरो पढेलेखेको, जागिर खाएको, सफा र चिटिक्क परेर हिँडेको अनि उसको वरिपरि मान्छेहरु झुम्मिएको, छोरोले आफुलाई देखाउँदै आमा भनेर चिनाएको। कल्पिँदै गर्दा थाहै नपाई फिसिक्क हाँसिन्, थाहा पाएपछि लजाइन्। धेरै पछि आफ"मा लजालुपन पनि छ भन्ने कुरा सम्झिइन्। मोटेको बाऊसंग बिहा भएको बेला लजाएदेखl अर्को पटक लजाएको याद छैन उनलाई। अर्थात् लजाउने फुर्सद र अवसरसमेत उनले पाएकी रहिनछिन् सायद। त्यतिञ्जेलमा छोरो पनि भोक लाग्यो भन्दै सिकुवामा आइसकेको थियो। खाना खाँदै गर्दा छोरोलाई भनिन्, “भोलिदेखि तँ पनि स्कुल जाने है कान्छा, तिर्थे जस्तै राम्रो भएर किताब बोकेर जानुपर्छ।”

“अनि कुट्दैनन् त्याँ?” मोटेले आफ्नो पिर सोध्यो।

“राम्रो मान्छेलाई होइन, फटाहा मान्छेलाई चाहिँ पिट्छन्।” आमाको कुरा सुनेर मोटेले फटाहा काम नगर्ने निधो गर्‍यो। ऊ खुसी यसकारण भयो कि ऊ पनि अब तिर्थेसंगै हुनेभयो।

मोटेलाई आमाले धारामा लगेर नुहाइदिईन्। नुहाउन हत्तपत्त नमान्ने ऊ भोलिदेखि स्कुल जाने खुसट्मा चुपचाप दाँत कट्कट गर्दै नुहायो। हातखुट्टा पातलो ढुङ्गा र बालुवाले मस्काइदिइन्।किनकि उसका हात खुट्टाहरु हिउँदे चिसो, धुलो, मैलो र पानीले कट्कटिएका थिए। जिऊभरिको मैलाको लेग्रा मिचिमिची निखारिदिइन्। सँधै नुहाउने बेलामा रुने, कराउने गर्ने भएकोले उसको जिउको मैला राम्ररी कहिल्यै पखालिदैनथ्यो। तर आज त्यसो भएन। घर ल्याएर घाम ताप्दै बाँसको काइँयोले कपालको लिखा निकालिदिइन्, जुम्रा झारिदिइन्। एकछिनमा मोटे भुसुक्कै निदायो, उसकी आमा आफ्नो काममा लागिन्।

भोलिपल्ट तिर्थे र उसका बाऊ आईपुग्नुअघि नै मोटेलाई आमाले तयार गरिन्। पोहोर दशैँमा उसका मावली बाजेले किनिदिएको कपडाको दौरा सुरुवाल लगाइदिइन् , कपालमा तोरिको तेल दलेर कोरिदिइन्। अनि आफूले पनि बाकसमा थन्काईराखेको साडी र चोला लगाएर पटुकी कसिन्। आफैलाई आफू सम्झेर मनमनै हाँसिन्। उनले ती कपडाहरु कत्ति वर्ष पहिले बाकसमा थुनेकी थिइन्, उनी आफैले बिर्सिसकेकी थिइन्। छोरोको स्कुल जाने कुराले छोरोभन्दा बढी आमा हौसिएकी थिइन् मनमनमा। तिर्थेका बाउछोरा आइपुगेपछि सबै जना स्कुल गए र मोटेको नाम लेखियो : खिमहाङ्ग राई।

राईहरुको बाक्लो बस्ती भएकोले स्कुलमा सबै जातिको बच्चाहरु बान्तावा भाषा बुझ्थे। त्यसैले मोटेलाई गार्‍हो भएन। उसैगरी उसको भाषा चल्यो जसरी तिर्थेसंग घरमा चल्थ्यो। सरहरुसंग भने लामो समयसम्म नबोली बितायो। तर सिकाइएको कुरा भने चाँडै सिक्न सक्थ्यो।  उसले छोटो समय मै आफ्नो कक्षाको किताब पढ्न जान्यो, लेख्न जान्यो। उसको तुलनामा तिर्थे अलि कमजोर थियो, मोटे उसलाई सिकाउँथ्यो। बिस्तारै मोटेको तोते बोली सुधार भयो, नेपाली भाषामा कनिकुथी बोल्न थाल्यो। दुई कक्षाबाट र तीन कक्षाबाट फर्स्ट भएर चार कक्षामा पुग्यो। तिर्थेले पनि पच्छ्याउन छोडेन उसलाई। मोटे, शुद्ध लेख्थ्यो तर बोली भने अशुद्ध हुन्थ्यो। व्याकरणीय हिसाबले उसको कथ्य भाषा गलत हुन्थ्यो। चार कक्षाको पढाइ शुरु भएको केही समय भएको थियो। पुस माघ महिनामा नयाँ शैक्षिक शत्र शुरु हुने त्यो समयमा सबैका लागि पाहारिलो घाम प्रिय हुनु स्वभाविक हो। नेपाली विषय पढाउने सरले विद्यार्थीहरुलाई एउटा पाठ पढ्न अर्‍हाएर बाहिर घाम ताप्न थाले। केही समयपछि मोटे लगायत अन्य केटाकेटी बाहिर निस्किएर खेल्न थाले ।

 “ऐ, तिमारुलाई पढ्न भनेथेँ। बाहिर निस्किएर खेल्न थाल्यौ?” बसि बसि ती सर कराए।

 “तिमीले भनेको पाठ सबै पढिसकेको सर।” मोटेले उभिएरै सुनायो।

“तिमी?” शब्दले ती सर झस्किए। उनलाई तीरले घोपेजस्तो भयो । जुरुक्क उठेर क्लासतिर लम्किए। विद्यार्थीहरु पनि खुर्र कुदेर आ-आफ्नो सिटमा बसिसकेका थिए।

“तेरिमा बज्या मलाई तिमी भन्छस्! तँ जाँड खाने किरुवालाई आज म को हुँ चिनाउँछु।” भन्दै आक्रोसित ती सरले दुबै गालामा झापड मात्रै हानेनन्, मोटेलाई कान समातेर तान्दै अगाडि लगे। घुँडा टेकाएर दुबै हातले कान तानेर पुरै पिरियडभरि राखे।

“तेरिमा बज्या मलाई तिमी भन्छस्! तँ जाँड खाने किरुवालाई आज म को हुँ चिनाउँछु।”   भन्दै आक्रोसित ती सरले दुबै गालामा झापड मात्रै हानेनन्, मोटेलाई कान समातेर तान्दै अगाडि लगे। घुँडा टेकाएर दुबै हातले कान तानेर पुरै पिरियडभरि राखे।

''सरलाई तपाईं भन्नुपर्छ मूर्ख।” ती सरले मोटेको नाम फेरिदिए, मूर्ख। मोटेको खुट्टा गल्यो, हात दुख्यो, घुँडा कट्कटी भएर थुप्रिन खोज्यो, दुबै गाला सुन्निए जस्ता भए, कान उखेलिए जस्तो लाग्यो। बसेका सबै साथीले आफूलाई हेरेर हाँसिरहे झैँ लाग्यो। रुन मन थियो उसलाई, तर साथीहरुले अझै खिसी गर्छन भन्ठानेर जबर्जस्ती आँसु रोक्न खोज्यो। तर पनि दुबै आँखाबाट बिस्तारै आँसु खसे, नाकबाट सिँगान चुहिन थाल्यो। हात कानबाट कतै लैजान पाएन उसले।

सरले पढाए, साथीहरुले पढे तर मोटेले पढेन, केही सुनेन, केही देखेन। एकोहोरो उसको मनले बोलिरह्यो, “तँ अब स्कुल नआईज, सबैले तँलाई गिज्याउँछन्, जिस्काउँछन्। यो सरले अब सँधै दुख दिन्छ।”

“अबदेखि तिमी भन्छस् कि भन्दैनस्?” कनसिरी च्वाट्ट चुँडिनेगरी तानेर फेरि सोधे सरले।

भुइँदेखि आँखा नउठाई मोटे बोल्यो, “भन्दिनँ सर।” “सरलाई के भन्नुपर्छ रे?”

“तपाईं भन्नुपर्छ सर।” अघि भर्खरै सरले घोकाएको कुरा सम्झिएर बोल्यो मोटे।

सर बाहिरिए। मोटे आफ्नो सिटमा गएर घोप्टो परेर रुन थाल्यो। तिर्थे पनि निन्याउरो भएर उसको छेउमा बसिरह्यो। अरु विद्यार्थी फेरि बाहिरिए। कोही कोहीले मोटेलाई छोएर जिस्काए, कसैले नाम काडेर “रुन्चे” भने। ऊ भने किताबमाथि अनुहार ओच्छ्याएर घुँक्क घुँक्क रोईरह्यो, बाहिर खेल्न नि निस्किएन। तिर्थे एकछिन बाहिर गएको बेलामा किताब बोकेर पछाडिको बेन्चमा गएर बस्यो। ऊ दिनभर त्यहीँ बेन्चमा बस्यो, तिर्थेले अगाडि जान जिद्दी गर्‍यो, तर मोटे मानेन।

मोटेलाई गहिरो बिझ्यो, “तँ जाँड खाने किरुवा” भन्ने वाक्य। हुन त उसले जाँड खाएको थिएन। अर्थात् उसलाई आमाले नै जाँड, रक्सी, चुरोट, बिँडी खानुहुँदैन भनेर सिकाउँथिन्। तर आमाले खाएको देखेर “किन आफूले चाहिँ खानुभको” भनेर सोध्थ्यो। आमा भन्थिन्, “म त बुढी भैसकेको मान्छे, मलाई केही हुँदैन। तँ त सानो छस्, सानो मान्छेले खानुहुँदैन।”

मोटेलाई दुनियाँमा आफ्नो आमाभन्दा बुझ्ने र जान्ने ठुलोमान्छे कोहि छैन भन्ने लाग्थ्यो। तर आज सरले जाँड खाने मान्छेलाई गाली गरेको सुन्दा आफ्नै आमालाई गाली गरे झैँ लाग्यो। स्कुलको कुरा घरमा आमालाई सुनाउन सकेन। स्कुल पनि नजाऊँ लाग्न थाल्यो।

भोलिपल्ट तिर्थे आईपुग्यो सँधै जस्तै।मोटे मन नलागी नलागी तयार भयो, दुबै स्कुल पुगे। साथीहरु सबैले आफुलाई नै हेरेर हाँसिरहे झैँ लाग्यो मोटेलाई। एक दुई जनाले रुन्चे भन्दै जिस्काउन पनि भ्याए। ऊ भने निन्याउरो अनुहार बनाएर कोठामा पस्यो, पछाडिको बेन्चमा सरासर गएर बस्यो। तिर्थेले पनि अगाडि राखिसकेको आफ्नो किताब मोटेसंगै ल्याएर पछाडि राख्यो। मोटेलाई साथीहरुले जिस्काईरहे। जाँड खाने, किरुवा, रुन्चे आदि शब्दहरु उसको पर्याय बने। आफूलाई आफ्नो जात जोडेर हेप्ने, जिस्काउनेहरुलाई छेऊ पर्न नदिने साथीको यस्तो हालत देखेर तिर्थे बिरक्तिन्थ्यो, तर केही गर्न सक्दैनथ्यो। सँधै उसको लागि मोटे पर्खाल बनेर उभिने गर्थ्यो, उसको छेउमा आफुलाई सुरक्षित महसुस गर्थ्यो। तर अब पर्खाल आफै भत्किएर खन्डहर भए झैँ सुस्ताएको थियो मोटे।

अब बिस्तारै स्कुल पुग्ने दिन घट्न थाले दुबैको। कहिले बाटैबाट फर्किन्थे, कहिले स्कुल जाने भन्दै बाँसघारीमा गएर चरा खोजिरहन्थे त कहिले अलि माथि पुगेर खोलातिर ओरालिन्थे। एकदिन तिर्थेको बाऊ खोलापारी बिस्टहरुको गाउँबाट फर्कँदै गर्दा दुबै जनालाई खोलाभन्दा माथि भेटेपछि सबै पोल खुल्यो। तिर्थेले बाऊको कुटाई भेट्यो, मोटेले आमाको गाली। केही दिन स्कुल गए दुबै जना, तर लय हराइसकेको थियो।

यस्तैमा चार कक्षा सकियो। बल्लैले पास भए दुबै जना। पाँच कक्षामा मोटेले नाम मात्रै लेखायो, स्कुल गएन। तिर्थे भने मन नलागी नलागी भए नि गैइरह्यो।

एकदिन तिर्थेलाई अर्को गाउँको केटाहरुले बाटो छेकेर कुटे। च्यातिएको शर्ट ह्वाङ्लाङ्गै पारेर आँखा मिच्दै घर आउँदै गर्दा मोटे आँगनमा बसेर गुलेली सिंगार्दैथियो। साथीको यस्तो हालत देखेर उसको रगत उम्ल्यो। भोलिपल्ट दुबैजना स्कुल गए, हिँजोको बदला लिन। टिफिनको बेला काम सकेर भाग्ने योजनामा थिए, तर केटाहरुलाई दुई चार झापड हिर्काउन नपाउँदै हेडसरले झ्याप्पै समाते।

कुटाइ खानेहरु रुँदैथिए। तिर्थे र मोटे लगायतलाई अफिस पुर्‍याइयो। गल्ती उनीहरु कै थियो जसले आज साथी कुटेका थिए। हेडसरले बाँसको खिरिलो छडिले दुबै जनाको दुबै हत्केला फुट्ने गरि हिर्काए। छुलुक्कै पिसाब छुटे झैँ भयो। आँसु त फुत्केर भुइँमा खसे जस्तै लागेथ्यो। तिर्थे त पिल्पिलाइहाल्यो तर मोटे भने चुपचाप थियो। हेडसरले आदेशात्मक उपदेश दिए, तर मोटेले केही सुनेन। अफिसबाट निस्किएपछि दुबै जना घर भागे।

त्यो दिनदेखि मोटे स्कुल गएन। तिर्थे कहिलेकाही जान्थ्यो तर ऊ पनि साथी नगएपछि जान मन गर्न छोड्यो। मोटेकी आमा चिन्तित थिइन्, पढेर केही गर्दोहोला छोराले पछि यस्तै सोँच्थिन् तर अब उस्तै हलो कोदालो र खेतबारी मै जीवन बिताउने भो भन्ने सोँच्न थालिन्।

त्यो दिनदेखि मोटे स्कुल गएन। तिर्थे कहिलेकाही जान्थ्यो तर ऊ पनि साथी नगएपछि जान मन गर्न छोड्यो। मोटेकी आमा चिन्तित थिइन्, पढेर केही गर्दोहोला छोराले पछि यस्तै सोँच्थिन् तर अब उस्तै हलो कोदालो र खेतबारी मै जीवन बिताउने भो भन्ने सोँच्न थालिन्। केही समय स्कुल पठाउन बल गरिन् तर केही सीप चलेन। आरनघरे जेठाको नि उस्तै हालत थियो। तिर्थेले भन्थ्यो, “सबैले मलाई हेप्छन्, मोटे भयो भने मात्रै केही गर्दैनन्। ऊ नगए त म स्कुल जान्न।” छोरोको कुराले जेठोलाई पोल्यो र मोटेलाई फकाउन खोजे तर केही सीप चलेन।

तिर्थेलाई बाउले डोको बुन्न, हलो ताछ्न, चोया काढ्न सिकाए। मोटेलाई तिर्थेले सुनायो। ऊ पनि सिक्न गयो तिर्थेको बाऊसंगै। दुबैले संगै सिके। बिस्तारै राम्रा राम्रा डोको बुन्न जाने। गोठालो गए, घाँस दाउरा काट्न जंगल गए, गाउँमा खेताला गरे, खोलामा गएर ठुला ठुला दहमा पौडिन सिके, दुवाली छेकेर माछा मारे, बल्छी खेले। दुबैको दैनिकी यसै गरी बितिरह्यो। स्कुल छोडेको चार वर्षपछिको दशैँमा तिर्थेको मामा काठमाडौबाट दिदीलाई भेट्न गाउँ आए। भाञ्जालाई स्कुल नगएको देखेर आफूसंगै लैजाने चाहना राखे। घर सल्लाह भयो। अन्ततः तिर्थे मामासंगै काम सिक्न काठमाडौ जाने भयो। गोठालो जाँदा तिर्थेले काठमाडौ जाने कुरा सुनायो, मोटे दु:खी भयो। ऊ फेरि एक्लै हुँदै थियो। तर उसले पिर मानेन, सम्झ्यो जिन्दगीमा एक्लै एक्लै गर्नुपर्ने यात्राहरु कत्ती धेरै छन्। सबै सँधै कहाँ साथ मै हुन्छन् र!

तिर्थे काठमाडौ गयो। मोटेको दिनचर्या पुरानै शैलीमा चलिरह्यो। आमाको शरीर बुढ्यौलीले लखेट्न थाल्यो। खनजोत गर्ने, खेतिपातीको काम उसकै भरमा चल्न थाल्यो। मेलापात, हाटबजार गर्दै एक वर्षपछिको दशैँ आइपुग्यो। दशैँसंगै तिर्थे पनि आयो।

तिर्थेसंगै मोटेको लागि काठमाडौ पनि आइपुग्यो अर्थात मोटेको पुरानो तिर्थे कतै हराइसकेको थियो, त्यहाँ त नयाँ तिर्थे उभिएको थियो। उसको प्रत्येक बोलीको लवज फरक थियो, उसले गर्ने गफ अर्कै खाले थियो, उसको जिऊमा फरक खाले लुगा थिए, हातखुट्टा कलकलाउँदा थिए, अनुहार सफाचट थियो। भर्खर पलाउँदै गरेको जुँगा मिलाएर ब्लेडले खौरेको थियो। उसले गाडीको कुरा सुनायो, बाईक चलाउन सिकेको कुरा सुनायो, पोखरीमा पौडी खेलेको सुनायो, फोनमा बोल्ने कुरा सुनायो, काठमाडौमा बाटैभरि गाडी नै गाडि हुने कुरा सुनायो। आफुले सुनका गरगहनाहरु बनाउन जानेको अनि निक्कै पैसा जम्मा गरेको कुरा सुनायो, सबैभन्दा चाखलाग्दो कुरा फिल्मको कुरा सुनायो।

तिर्थेको कुराले मोटे अक्क न बक्क भयो। तँ, तिमी भनेर बोल्ने तिर्थेले पहिलो चोटि “काका”, “तपाईं” भन्यो। मोटे लजायो। उसले आफ्नो बाल्यकाल सम्झ्यो। उनीहरु इँजारवाला कट्टु लगाएर धुलोमाटोमा उभिएर फनफनी घुम्दै कसले धेरै फन्का बनाउने भन्दै पिसाब फेर्थे। कहिलेकाहीँ रिस उठेको बेलामा सबैभन्दा नराम्री लाग्ने केटी “तेरो बुडी त्यै हो।” भन्दै झगडा गर्थे। यी कुराहरु सम्झिँदा अनौठो लाग्यो मोटेलाई। पहिले जस्तो गुलेली बोकेर बाँसघारी डुलेनन्, नाम्लो डोरी बोकेर खोलातिर घाँस काट्दै पौडी खेल्न झरेनन् यसपालि। बरु स्कुलछेउतिर गएर डुले, गफ गर्दै बिस्तारै हिँडे, मान्छेहरुसंग सभ्य र नम्र भएर कुरा गरे। साँच्चै मोटेको लागि तिर्थे सिंगो काठमाडौ भएर आएथ्यो।

एकैचोटी दुई वर्षपछि तिर्थे घर आयो, नागरिकता बनाउने गरी। पहिलोचोटी मोटेको विषयमा चिन्ता पनि गर्‍यो। भन्यो, “काका तपाईं हामी यसरी गाउँ मै बसिराखेर हुँदैन हौ, केही गर्नुपर्छ। खेतिपाती मात्रै गरेर कत्ति धान्छ र! पैसा नकमाई त केही नहुने रहेछ हौ।”

घर आएको भोलिपल्ट तिर्थेले भनेको यो कुराले मोटेको मुटु हल्लायो। “कसरी, कहाँ गएर पैसा कमाउने त? मलाई नि काठमाडौ लैजाऊ, तिम्रै काम सिकाऊ न त मलाई पनि।” मोटेले आफ्नो केटाकेटीपन कै कुरा गर्‍यो।

“त्यसो होइन क्या, आजकल त विदेश जाने चलन छ जताततै, राम्रै पैसा कमाउँछन् उता जानेले नि। तपाईं पनि जानू हौ नत्र।” तिर्थेले उपाय दियो। यो कुरामा मोटेलाई पनि चासो भयो। तिर्थेले जाने जति सबै कुरा सम्झायो र अन्तिममा भन्यो, “खर्च के कति लाग्छ, त्यो बन्दोबस्त म गर्छु। हामी एउटै थालमा खाएर हुर्किएको मान्छे। तपाईले मलाई कति जोगाउनुभो सानो हुँदा, सकेको र जानेको मद्दत मैले नगरुँला त?”

मोटेले आमालाई सम्झायो, आमाले पिर गरिन् तर छोरोको भविष्यप्रति अर्को चिन्ता थियो, त्यसैले केही भनिनन्। तिर्थेसंगै नागरिकता बनाउन सदरमुकाम गए, नागरिकता बनेपछि राहदानीको काम पनि गरे।

मोटेको छोरो स्कुल जान्छ। घरमा पनि नेपाली भाषा नै प्रयोग गर्छन् अचेल। छोरोले मातृभाषा सिक्न पाएन। तर स्कुलमा मातृभाषामा पढाइ हुन थालेको छ, मोटे छोरोलाई मातृभाषा सिकाउन नसकेर हैरान छ।

मोटेको लागि तिर्थेले काठमाडौबाट विदेश जाने मेलो मिलाइदियो, पैसाको प्रबन्ध गरिदियो, राम्रै कम्पनी खोजेर मोटेलाई दुबई जाने व्यवस्था गरायो। तीन वर्ष दुबई बसेर मोटे घर फर्क्यो। पैसा राम्रै कमायो, पुरानो घरलाई मर्मत गर्‍यो, छानामा टिन ठोक्यो, बिहा गर्‍यो। आमा आफ्नो छोरोले धेरै नपढे पनि आजसम्म गलत बाटोमा नलागेकोमा सन्तोष मानिन्।

मोटेको छोरो स्कुल जान्छ। घरमा पनि नेपाली भाषा नै प्रयोग गर्छन् अचेल। छोरोले मातृभाषा सिक्न पाएन। तर स्कुलमा मातृभाषामा पढाइ हुन थालेको छ, मोटे छोरोलाई मातृभाषा सिकाउन नसकेर हैरान छ। आज स्कुलनिरको सानो होटलमा एक हुल मान्छेहरु रक्सी खाएर हल्ला गर्दैछन्। त्यो रक्सी पार्टी मोटेले आयोजना गरेको हो, अनि हल्ला गर्नेहरुको हुलमा मोटेलाई पिट्ने हेडसर, उसलाई तिमी भने वापत घुँडा टेकाउने सर लगायतकाहरु छन्।

 

कमेन्ट

  1. March 11, 2019, 2:36 p.m. Shanobhai Rai
    wow aafnai kahani jasto lagyo malai ta dherai ramro lekh.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...