शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वीरमा सिटी स्क्यान खरिद प्रकरण : भन्ने १२८, किन्ने ६४ स्लाइसको ?

शुक्रबार, २४ फागुन २०७५, ११ : ३४
शुक्रबार, २४ फागुन २०७५

करिब ८ वर्ष लामो रस्साकस्सी र माथापच्चीपछि गत पुस महिनामा वीर अस्पतालमा सिटी स्क्यान मेसिन खरिद भयो । उक्त मेसिनका बारेमा बताइँदा अत्याधुनिक र उच्च क्षमतायुक्त १२८ स्लाइसको सिटी स्क्यान मेसिन जडान गरिएको भनियो र अहिले पनि त्यही भनिँदै आइरहेको छ । तर रातोपाटीलाई विश्वस्त सूत्रबाट प्राप्त जानकारीअनुसार सो मेसिनको कार्यक्षमता ६४ स्लाइसको मात्र भएको बुझिएको छ ।

गत पुस २० गते नयाँ सिटी स्क्यान मेसिन जडान गरिएपछि सम्पूर्ण सञ्चार माध्यमलाई अस्पतालले १२८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन जडान गरिएको कुरा नै जनाएको थियो ।

तर अस्पताल सम्बद्ध एक प्राविधिकका अनुसार अस्पतालमा जडान गरिएको सो सिटी स्क्यान मेसिनमा केही नयाँ सफ्टवेयर थप गरिएको भए पनि त्यस मेसिनको काम गर्ने क्षमता भने ६४ स्लाइसकै भएको दाबी गरे ।

कुनै सिटी स्क्यान मेसिनमा दुई रो हुन्छन्, त्यसलाई डबल रो डिडेक्टर भनिन्छ । यस्तो कुनैमा ४, कुनैमा १६, कुनैमा ६४ वटा रो हुन्छन् भने कुनै सिटी स्क्यान मेसिनमा १२८ वटा रो हुन्छ । त्यसैको आधारमा मेसिनको कार्यक्षमता पनि बढी र कम हुने गर्छ ।  तर वीरले जडान गरेको सिटी स्क्यान मेसिन १२८ वटा नभई ६४ वटा रो भएको हो । 

हाल वीरमा जडित सिटी स्क्यानमा रहेको नयाँ सफ्टवेयरले १२८ को सिटी स्क्यानले गर्ने केही काम गरे पनि मेसिनलाई भने १२८ कै भन्न नमिल्ने ती प्राविधिकले बताए ।

सामान्यतया मेसिन ६४ स्लाइसको भए पनि सफ्वेयरले १२८ बनाउन सकिन्छ । सिटी भइसकेपछि मेसिनले प्रोसेसिङ गरेर १२८ बनाउन मिल्छ । नयाँ टेक्नोलोजीले १२८ को बनाए पनि मेसिन भने ६४ स्लाइसको नै भएको ती प्राविधिकले दाबी गरे ।

अर्का एक प्राविधिकले जानकारी दिएअनुसार ‘वीरले ८ वर्ष पहिला टेन्डर भरेको समयमा ६४ स्लाइसको मूल्य ९ करोड रुपैयाँ थियो । त्यो समयमा सर्वाेच्चमा मुद्दा परे पनि सोही मूल्यमा बजेट निकास गरिएको थियो । कम्पनी अनुसार पनि मूल्यमा फरक पर्छ । ५ देखि ७ करोड मूल्य वीरले ल्याएको सिटी स्क्यान मेसिनको बजार मूल्य हो । एउटै क्षमताको सिटी स्क्यानको मूल्यमा पनि २० देखि ४० हजार डलरसम्म फरक पर्न सक्छ ।’

ती प्राविधिक भन्छन् : ६४ को स्लाइसले १२८ को स्लाइसको काम गर्ने भए किन १२८ नै किन्न पर्यो ?’ उनका अनुसार, १२८ र ६४ स्लाइसको सिटी स्क्यानको कार्यक्षमता र गुणस्तरमा निकै फरक हुने हुन्छ । ६४ को सफ्टवेयर र १२८ स्लाइसको सफ्टवेयर अनि कार्यक्षमता, त्यसले दिने रिजल्टमा धेरै भिन्नता हुने भएको हुँदा वीरको नयाँ सिटी स्क्यानलाई १२८ को भन्न नमिल्ने ती प्राविधिकको दाबी छ ।

त्यसो त वीरले दिएको प्राविधिक टिमको कागज पत्रमा पनि ६४ स्लाइसको सिटी स्क्यान मेसिन भएको उल्लेख गरिएको छ ।

तर वीर अस्पतालका निमित्त निर्देशक डाक्टर भुपेन्द्र बस्नेतले भने सिटी स्क्यान मेसिन १२८ स्लाइसको नै रहेको र काम पनि सोहीअनुसार गर्दै आइरहेको दाबी गरे ।

साथै उनले सम्झौता हुँदा ६४ स्लाइसको सिटी स्क्यान मेसिन ल्याउनेगरी सम्झौता भए पनि हाल अस्पतालको विशेष आग्रहमा हाल १ सय २८ स्लाइसको मेसिन ल्याइएको पनि बताए ।

यसअघि मिडियालाई जानकारी गराउँदा १२८ स्लाइसको सिटी स्क्यान मेसिन नै भएको जनाएको थियो । अस्पताल प्रशासनले उक्त मेसिन ल्याउन ८ करोड ४० लाख खर्च गरेको जनाएको छ ।

८ वर्षको झमेलापछि मेसिन खरिद

वि.सं. २०६८ मा अस्पतालले उक्त सिटी स्क्यान मेसिन खदिरका लागि नेदरल्यान्डको फिनिक्स कम्पनीसँग खरिद सम्झौता गरेको थियो । सो समयमा ६४ स्लाइसको सिटी स्क्यान मेसिनको नै खरिद प्रक्रिया अगाडि बढाइएको थियो ।

तर आर्थिक कारण तथा खरिद सम्झौता विवाद अदालतसम्म पुगेका कारण सम्झौताको झन्डै ८ वर्षसम्म मेसिन रोकिएको थियो । खरिद प्रक्रिया सुरु भएसँगै पदाधिकारी विवादलगायतको कारण खदिर प्रक्रिया रोकिएपछि कम्पनी अदालत गएको थियो । अदालतले किन्नु भन्ने आदेश दिएसँगै तीन महिनाअघि कम्पनीले मेसिन डेलिभरी दिएको थियो ।

 मेसिन खरिदका लागि ८ करोड ४० लाख रकम विनियोजन गरिएको थियो । ८ वर्षपछि मेसिन खरिद गर्दा १२८ स्लाइसको खरिद गर्ने सम्झौता भएको थियो । अन्तिम कागजपत्रमा पनि १२८ स्लाइसको सिटी स्क्यान खरिद गर्ने उल्लेख गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप