शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भीआईपीको सवारी : विज्ञ भन्छन् – ‘थ्रेट’भन्दा रवाफ बढी

राष्ट्रपतिको सवारीमा ‘अवज्ञा’ होइन, हामीले नै छाडेको हो : ट्राफिक प्रहरी
बुधबार, २२ फागुन २०७५, १६ : ४५
बुधबार, २२ फागुन २०७५

मङ्गलबार सेना दिवसको भोलिपल्ट नेपाली सेनाले आयोजना गरेको जलपान कार्यक्रममा जाने भन्दै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि जमल, लौनचौर, महाराजगञ्ज क्षेत्रमा आधा घण्टा आवागमन ठप्प पारियो । पिक आवर अर्थात् कार्यालय समयमा भएको उक्त सवारीले न्युरोड जमल, भद्रकालीदेखि ठमेललगायतका स्थानमा लामो जाम बन्यो । भीभीआईपीको सवारीको कारण समयमै गन्तव्यमा पुग्न नपाएपछि केही व्यक्तिले आक्रोश पोखे भने केही व्यक्तिले अवज्ञा गरेको समेत देखियो ।

मङ्गलबारको ‘अवज्ञा’ र जनआक्रोशका सम्बन्धमा रातोपाटीले आफ्नो टिप्पणी लेखेलगत्तै ट्राफिक प्रहरीले भने आफ्नो बचाउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जयराज सापकोटाका अनुसार मङ्गलबार अवज्ञा भएको होइन । उनले भने ‘हिजो अरूले भनेको जस्तो अवज्ञा वा आक्रोश होइन, केही समयका लागि हामीले नै बाटो खोलेका हौँ । किनभने प्रधानमन्त्री क्रस हुनुभएको ५ मिनेटपछि उपराष्ट्रपतिज्यू क्रस हुनुभयो । त्यसको ५ मिनेटमा राष्ट्रपतिज्यू क्रस हुनुपथ्र्यो । तर राष्ट्रपति आउन ५ मिनेट ढिलो हुने भएपछि हामीले नै केही सवारीसाधनलाई पास गराएका हौँ, त्यहाँ कसैले अवज्ञा गरेको होइन ।’

‘अहिले भाइरल भएको भिडियोमा त्यहाँ एकजना ट्राफिकलाई अलिकति हेपेको हो जस्तो देखिन्छ । तर ती ट्राफिक रेडियो सेट (वाकिटकी) नभएका ट्राफिक भएको कारणले सवारी छाडेकोबारे तिनलाई थाहा नभएको मात्रै हो, त्यो अवज्ञा नभएर हामीले नै छाडेको हो ।’

उनले अगाडि भने, ‘भीभीआईपी तथा भीआईपी सवारी सञ्चालनसम्बन्धी निर्देशिका २०७० जारी भएको छ । त्यही निर्देशिका अनुसार हामीले काम गर्ने हो ।

निर्देशिकाअनुसार यदि औपचारिक कार्यक्रम भएमा सडक पूरै खाली गर्नुपर्ने हुन्छ । यदि अनौपचारिक कार्यक्रम छ भने एकतर्फी सडक खाली गर्ने गरिन्छ भने व्यक्तिगत काम वा प्रयोजन भएमा सुरक्षा व्यवस्था कडा पारेर साइरन बजाउँदै पनि जाने गरिन्छ ।’

तर कार्यक्रमलाई कस्तो सुरक्षा दिने वा यातायात व्यवस्थापन कसरी गर्ने भन्नेबारे जिल्ला सुरक्षा समितिको वैठक बसेर निर्णय गर्छ । हामीले जिल्ला सुरक्षा समिति र नेपाली सेनाको विशेष सुरक्षा बलको निर्णयबमोजिम यातायात व्यवस्थापनको काम गर्ने हो ।

भीभीआईपी सवारीमा आधा घण्टा यातायात बन्द

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जयराज सापकोटाको अनुसार भीभीआईपी सवारीका लागि कम्तीमा आधा घण्टाको आवागमन बन्द रहन्छ । पहिलो सवारी प्रधानमन्त्रीको हुन्छ । प्रधानमन्त्रीको सवारी हुनुभन्दा १५ मिनेट पहिलेदेखि सडक खाली गर्न थालिन्छ । प्रधानमन्त्री क्रस भएको ५ मिनेटमा उपराष्ट्रपतिको सवारी हुन्छ र, उपराष्ट्रपतिको सवारी भएको ५ मिनेटपछि राष्ट्रपतिको सवारी हुन्छ । त्यसकारण भीभीआईपी सवारीमा करिब ३० मिनेट सडक बन्द गरिन्छ ।

भीभीआईपीको सवारीले २ घण्टासम्म जाम

भीभीआईपीको सुरक्षा र सहजताका लागि ट्राफिक प्रहरीले ३० मिनेट सडक बन्द गराउँदा त्यसले २ घण्टा थप भार र प्रेसर थप्ने गर्छ । सामान्यतः पिक आवर नभएको अवस्थामा भीभीआईपी सवारी भएमा प्रेसर रिलिफ अर्थात् यातायात सहज गराउन अर्को एक घण्टा लाग्छ । त्यो एक घण्टा यातायातका सवारीसाधन सुस्त गतिमा मात्रै चल्न सक्छन् । तर यदि पिक आवर अर्थात् कार्यालय समयमा भीभीआईपीको सवारी परेमा २ घण्टासम्म प्रेसर थेग्नुपर्ने हुन्छ । जुन ट्राफिक प्रहरीका लागि निकै चुनौतीपूर्ण बन्ने गरेको छ ।

ट्राफिकका पूर्वडीआईजी भन्छन्, ‘थ्रेट एनालाइसिस नै हुँदैन’

महानगरीय ट्राफिक प्रहरीको प्रमुख भएर काम गरिसकेका पूर्वडीआईजी केशव अधिकारीका अनुसार भीभीआईपीको मुभमेन्ट हुनुभन्दा पहिले थ्रेट एनालाइसिस हुने गरेको पाइँदैन ।

‘खासमा गुप्तचर प्रयोग गरेर थ्रेट एनालाइसिस गर्नुपर्ने हो । त्यही एनालाइसिसका आधारमा भीआईपीलाई सुरक्षा खतरा छ भने उच्च स्तरको सुरक्षा दिनुपर्छ । तर सुरक्षा थ्रेट छैन भने बाटो बन्द गरेर सर्वसाधरणलाई दुःख दिनु उचित हुँदैन ।

कुनै पनि देशमा गुप्तचर जब कमजोर हुन्छ, तब सडकमा यस्ता अराजकता देखिन थाल्छन् । हाम्रो देशको हालत पनि यही हो । गुप्तचरसँग कुनै सूचना र योजना नै छैन, जसका कारण सडकमा अराजकता बढ्दो छ’, अधिकारीले भने ।

‘अर्को समस्या भनेको नो रिस्क मेन्टालिटी पनि हो । यदि भीभीआईपीको सवारीका क्रममा कतै केही भइहालेमा त्यसको सम्पूर्ण जिम्मेवारी फिल्डमा रहेको सुरक्षा अधिकारीले लिनुपर्छ । त्यतिबेला त्यो सुरक्षा अधिकारीलाई बचाउने मान्छे कोही हुँदैन । त्यसकारण पनि त्यो अफिसरले ‘रिस्क’ लिन चाहँदैन र सडक बन्द गराउन बाध्य हुन्छ ।

भीआईपीको सुरक्षामा कसैले पनि सम्झौता गर्न मिल्दैन । यो अन्तर्राष्ट्रिय मान्यता हो । तर हिजोको सवारीमा कहीँकतै सुरक्षा थ्रेट थियो भन्ने आएको छैन र मलाई पनि त्यस्तो लाग्दैन । तर सरोकारवाला मन्त्रालयलाई कन्भिन्स गराउन सक्नुपर्यो । गृह मन्त्रालयलाई कन्भिन्स गर्न सक्नुपर्यो, त्यो आँट गर्नुपर्यो ।

हिजोका राजा महाराजाको जस्तो पारा भयो, जनआक्रोश पनि बढ्यो, त्यही भएर सडक बन्द नगरौँ भनेर भन्न सक्नुपर्छ ।

सवारी निषेधको अवज्ञाः ‘जनआक्रोश’ को झिल्कोले ‘राष्ट्रपति’माथि बज्रेको झापड

थ्रेटभन्दा रवाफ बढी

‘भीभीआईपीले पनि अहिलको अवस्थामा तामझाम गरेर हिँड्पर्छ जस्तो मलाई लाग्दैन । किनकि अहिले अवस्था नर्मल छ र सुरक्षा चुनौती पनि छैन । हिजो सङ्कटकालमा सुरक्षा खतरा थियो होला तर अहिले त्यस्तो अवस्था छैन । त्यसकारण अचेल भीभीआईपीले रवाफ मात्रै देखाइरहेका छन्’, पूर्वडीआईजी अधिकारीले भने ।

‘महानगरीय ट्राफिक हेर्ने अहिलेको कार्यालय प्रमुखलाई सवारी व्यवस्थापनसम्बन्धी राम्रो जानकारी छैन । त्यसकारण केही समस्या भएको हो । अर्को कुरा जतिबेला म ट्राफिकको प्रमुख थिएँ, त्यतिबेला जम्मा ५ मिनेट मात्रै सडक बन्द गराउँथे । तर अहिले ३० मिनेट सडक बन्द गर्ने गरेको देखेर म आफै छक्क छु । त्यही नै मुख्य समस्या हो । जब लामो समय सवारीसाधन रोकिन्छन्, त्यसपछि यसको चाप बढ्दै जान्छ ।’

गाडीको आयात घटाउनु नै उत्तम विकल्प

‘अहिलेको ट्राफिक व्यवस्थापन समस्या समाधान गर्न दरबन्दी थपेर केही हुँदैन । किनभने सवारी आयात नीति बिलकुलै गलत छ । ६३–६४ मा नेपालभर जम्मा ६ लाख २६ हजार सवारीसाधन थिए । तर त्यसको ११ वर्षमा ३१ लाख सवारीसाधन पुगेको छ । यसको विश्लेषण गर्नु पर्यो पहिले ।’

‘यातायातलाई सुलभ बनाउनेसम्बन्धी सोच सरकारसँग छैन । त्यसकारण जति सक्यो बढी सवारीसाधन भित्राएर राजस्व सङ्कलन गर्नेमा मात्रै सरकारको ध्यान छ । त्यसले नै समस्या निम्त्याएको हो । यो कुराको सम्बोधन नगरेसम्म ट्राफिक व्यवस्थापन सहज हुन सक्दैन ।’

‘अर्को उपाय के हो भने सुरक्षा समितिले कतिसम्मको सुरक्षा दिने भनेर निर्णय गर्ने र सकेसम्म कम्तीमा एकतर्फीरूपमा सडक खुल्ला गरी सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्छ ।’

पूर्वआईजी भन्छन्, ‘भीआईपीको आडम्बर र रवाफ अति भयो’

नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिकामा लामो समय बिताएका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा पनि भीभीआईपीको सवारीका लागि गरिएको तामझाम अति भएको टिप्पणी गर्छन् । शर्माका अनुसार अहिले सडकमा जति तामझाम गरिएको छ, त्यो प्रकृतिको सुरक्षा थ्रेट भीभीआईपीहरुलाई छैन । उनीहरुले मात्र आडम्बर र रवाफ देखाइरहेको शर्माको टिप्पणी छ ।

उनका अनुसार अहिले भारतको मोदी र पाकिस्तानको इमरानलाई जस्तो सुरक्षा खतरा नेपालका भीभीआईपीहरुलाई छैन । तर उनी उनीहरुको तामझाम भने हेर्नलायक छ । सुरक्षा खतराको विश्लेषण गरेर सुरक्षा व्यवस्था तय गर्नुपर्नेमा सबैलाई सोलोडोलोमा राखेर सुरक्षा दिँदा यात्रुले सास्ती पाएको शर्मा बताउँछन् ।

भोज खाने जाने कुरा औपचारिक हुन सक्दैन

कुनै कुनै औपचारिक कार्यक्रममा जाँदा सडक खाली गर्ने गरिएपछि नाच हेर्न जाँदा वा भोज खान जाँदा सडक पूरै खाली गर्नुपर्ने स्थिति नरेको शर्मा बताउँछन् । त्यति मात्रै होइन, नेपाली सेनाको ब्यारेकमा भोज खान जाने कुरालाई पनि औपचारिक भन्दै सडक बन्द गराउनु गलत भएको शर्मा बताउँछन् । अहिले भीभीआईपीले प्रयोग गरेको सेक्युरिटी सिस्टमले गर्दा यात्रुले दुःख पाएको भन्दै जनताको आक्रोश स्वाभाविक भएको शर्मा बताउँछन् ।

‘अवज्ञा’ले डरलाग्दो स्थित ल्याउन सक्छ

मङ्गलबार राष्ट्रपतिको सवारीलाई अवज्ञा गरेपछि स्थिति डरलाग्दो बनेको शर्माको भनाइ छ । यदि अब पनि भीआईपी वा भीभीआईपीको रवाफ यस्तै रहने र यात्रु वा जनताले अवज्ञा गर्न थाले भने सेक्युरिटी फोर्सले पनि केही गर्न नसक्ने शर्मा बताउँछन् । यदि त्यस्तो समस्या उत्पन्न भएमा यसको ठूलो दुर्घटना निम्त्याउन सक्ने उनको चेतावानी छ । त्यसकारण भीआईपी वा भीभीआईपीको सवारीमा अब भीआईपीहरुले नै विचार र विश्लेषण गर्ने बेला आएको शर्मा बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप